
हेटौडाको चुच्चे खोलामा अवस्थित वि.सं २०३६ सालदेखि सुरुवात भएको श्री कृष्ण खुवा बिक्रि भण्डारका संचालक कृष्ण प्रसाद तिमल्सिनासँग कृषि सञ्जालका सम्पादक प्रदिप पौडेलले गरेको कुराकानीको सम्पादित अंश ।
बुबा नमस्कार! ३६ सालदेखिको खुवा पसल, भन्ने सुनेर आज हामी तपाईंको पसलमा पस्यौ। के यो सत्य हो ?
एकदमै सत्य हो, झुठ त मैले बोल्न जान्या पनि छैन। बोल्न पनि हुँदैन । दुई दिन पेट पाल्नलाई झुटा बोलेर त काम छैन। सत्य बोल्नुपर्छ ।
कसरी आइपुग्नुभयो यो ठाउँमा ?
मेरो जन्म काभ्रे जिल्लामा भएको हो। हुर्के बढेपछि म ख्यालख्यालमै ३० रुपैयाँ पैसाले कलकत्ता पुगेँ। चार पाँच वर्ष कलकत्ता बसे । त्यसपछि इन्डियाबाट आएर काठमाडौँ गए । चार वर्ष एउटा टायर रिसोलिङ पसलमा काम गरे। चार वर्ष काम गर्दा मलाई साहुको एउटा वचनले जागिर खान मन लागेन। टायर मर्मत गर्ने क्रममा एउटा टायर बिग्रियो, त्यसपछि साहुले “तिम्रो बाउको गएन के भयोर हैन ?, तिम्रो लापरवाहीले गर्दाखेरि यो टायर बिग्रियो” भन्दाखेरि मलाई च्वास्स मुटुमै छुरासरि लाग्यो । त्यसपछि त्यो नोकरी छोड्ने निधो गरे । अहिले चाहिँ मलाई त्यो मान्छे गुरु जस्तो लाग्छ। त्यतिखेर त्यो मान्छेले त्यसो नभनेको भए म अहिले यो मकवानपुर जिल्लामा हुने थिइनकी ! । अन्य कुनै पेशामा थिए हुन्थ्यो होला। त्यस्ताका तलब जति सबै बुवालाई दिन्थे। मैले जागिर छोड्ने क्रममा जम्मा ४०० गोजीमा थियो। त्यही पैसा लिएर म मकवानपुर झरे।
तत्कालीन समयमा यो ठाउँको अवस्था कस्तो थियो ?
मकवानपुर झरेपछि घर जान पनि मन लागेन, सोचे मैले केही नयाँ व्यवसाय गर्नुपर्छ। त्यतिबेलासम्म यो ठाउँमा भैँसी पनि खासै कसैले पालेका थिएनन् डेरी व्यवसाय पनि सुरुवात गरेका थिएनन्। यो ठाउँमा खुवाको व्यवसाय हुने त कुरै भएन । र मैले यही व्यवसाय सुरु गर्ने निधो गरे। त्यसपछि मैले व्यवसाय सुरु गरेँ।
सुरुवाती दिनमा कति केजी कुराउनी बेच्नु हुन्थ्यो ?
सुरुमा त आफैले भैसी पाल्न थाले । बिस्तारै यहाँका किसानहरूले दूध बेच्ने गरी भैंसी पाल्न सुूरुवात गर्न थाल्नुभयो । सुरुवाती चरणमा मैले दैनिक एक किलो खुवा बेच्थे। तत्कालीन समयमा प्रति केजी खुवाको मूल्य पनि जम्मा १५ मात्रै थियो। त्यतिखेर कुराउनी भनेपछि पहाडका मानिसलाई मात्रै थाहा हुने तराइका मान्छेले खासै बुझ्ने थिएनन् त्यसैले व्यवसाय गर्न सुरुवाती दिनमा गाह्रो भयो। पछि विस्तारै व्यापार हुँदै गयो।
यो ठाउँमा अब डेरी चाहिन्छ भन्ने माग भए पछाडि हामीले यहाँ डेरी खुल्यो। त्यसपछि दूधको व्यवसाय पनि राम्रोसँग चल्न थाल्यो।
डेरी चल्दै चल्दै गइसके पछाडि किसानहरुले डेरीमा दुध बेच्न भन्दा हामीलाई दिन नाफा हुन्छ भन्ने बुझाई हुन गयो। र ती किसानहरू हामीसँग आकर्षित भए। चार पाँच वर्षपछि अरु साथीहरूले पनि सुरु गर्नुभयो।
सुरुवाती दिनमा एक्लै पसल हुँदाखेरि खासै चल्दो रहिन्छ। पछि बिस्तारै सबैको व्यापार फस्टाउन थाल्यो। अहिले त चुच्चेखोलाको खुवा भनेपछि देशैभरि चर्चित छ।
एक केजी खुवाबाट दैनिक ५०-६० किलो खुवा बेच्ने समयसम्म आइपुग्दाखेरि यहाँलाई कस्तो लाग्छ?
लाग्छ, त्यतिखेरको समयमा राम्रो व्यवसाय सुरुवात गरिएको रहेछ। अहिले सबैतिर व्यापार खस्किएको अवस्था छ। यस्तो समयमा पनि हाम्रो व्यापार बढ्दो नै छ। अहिले सम्म हामीले बनाएको दूधका परिकारहरूमा कुनै गुनासो छैन। कुनै दिनमा पनि डुप्लिकेट सामान बेच्ने काम मैले गरिन र अहिले छोरा बुहारीको जिम्मामा छ। उनीहरुलाई पनि त्यसो नगर्न सम्झाएको छु। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा नगरपालिकाबाट पटकपटक स्याम्पलहरू लगेर जाँच गर्ने काम भएतापनि अहिलेसम्म हामीले बनाएको परिकारहरुमा अखाद्य वस्तु भेटिएको छैन। र केहीएकपटक पुरस्कार पुरस्कार समेत पाइयो।
खुवाको लागि हाम्रो पसल गुरु पसल हो। मलाई के कुरामा गर्व लाग्छ भने म मरे पनि मेरो देश बाँचिरहोस् भन्ने एउटा गीत छ नि त्यस्तै “म मरे पनि यो खुवा व्यवसाय नमरोस्”, भन्ने मेरो धारणा हो । कमाउने गुमाउने भन्या यस्तै हो कसैले धेरै कमाउँछ कसैले थोरै कमाउँछ हैन ? समुद्रमा जत्रो भाडा लिएर जानुस त्यत्रै भाडाभरि जल आउँछ। हामीले समुद्रलाई उठाउन सक्दैनौँ। सबैभन्दा ठूलो कुरा सन्तोष हो मलाई सन्तोष छ मेरा परिवार सन्तुष्ट छन ।
हेटौडामा मैले पुर्खौली सम्पत्ति पनि केही ल्याएको होइन। यही व्यवसायबाट मैले आफ्नो विवाह गरेँ। तीनवटा छोराछोरी छन्। उनीहरुलाई पढाउने लेखाउने गरे । जेठो छोरोले साइन्स पढेर डिग्री गरेर अहिले मास्टर छ। एउटा छोरोले यही व्यवसाय गर्छ र अर्को छोराले यसैको शाखाको रुपमा हेटौडामा व्यवसाय गर्छ। उनीहरूलाई मैले के भनेको छु भन्दाखेरि “डुप्लिकेट सामान नबेच्नु मेरो नाक नकाट्नु ।”
बुढेसकाल लागिसकेछ अहिले व्यवसाय कसरी चलाइरहनु भएको छ ?
हाल यो व्यवसाय मैले छोरा बुहारीलाई जिम्मा लगाएको छु। म एउटा संरक्षकत्वको भूमिकामा मात्रै छु।
४०० मा व्यवसाय सुरु गरे भन्नुभएछ, अहिले यहाँ कतिजना स्टाफहरू राख्नुभएको छ र कमाइ कति छ ?
पहिला धेरै पसलहरू नहुँदाखेरि दिनमा ५० देखि ६० किलो बिक्री वितरण हुन्थ्यो तर अहिले त्यस्तो छैन अहिले दिनमा २० देखि ३० केजी खुवा बिक्छ । खुवा प्रतिकेजी रु ७०० रुपैया छ । साथै बर्फी, लालमोहन,रस्बरी, पेडा लगायत गरेर दैनिक करिव १०० केजी मिठाइका परिकार बिक्री हुन्छ । त्यति बिकेन भने फेरि हाम्रो परिवार चल्न पनि सक्दैन। घरखर्ची सबै चलाउने यही व्यवसायबाट नै हो। परिवार बाहेक दुईजनालाई हामीले प्रत्यक्ष रोजगारी दिएका छौं । यहाँ अहिले पसलहरु बढेपछि लगभग सबै पसलहरूमा एक देखि दुईजनालाई रोजगारी सिर्जना भएको छ। म एकदम सन्तुष्ट छु। यो पेशाप्रति गर्व गर्दछु खुसी छु सबैले गरेर खानुपर्छ सबैले मेहनत नै गर्ने हो। मेहनत नगरी केही पनि हुँदैन यो काम गर्न गाह्रो पनि छ तर मेहनत अनुसारको कमाई पनि छ।