
उत्पत्ति र विशेष गुणहरुको आधारमा बस्तु वा उपजको लागि कुनै नाम वा संकेत प्रदान गर्ने कार्यलाई भौगोलिक संकेत भनिन्छ । अर्को अर्थमा भन्ने हो भने भौगोलिक संकेत एक प्रकारको बौद्धिक अधिकार हो, जसले उत्पादक समूहलाई बिक्रि वितरणको लागि एकाधिकार प्रदान गर्दछ । विश्वको परिप्रेक्ष्य हेर्ने हो भने विशेष गरेर कृषि र खाद्य बस्तुलाई भौगोलिक संकेत प्रदान गरिने गरिएको छ तर निश्चित सेवालाई समेत भौगोलिक संकेत प्रदान गर्न सकिने प्रावधान रहेको छ ।
भौगोलिक संकेत लिनुका फाइदाहरु
- कृषि बस्तु/उपजले कानुनी मान्यता पाउँछ
- बजारीकरणमा सहयोग पुर्याउँदछ
- स्थानीय श्रोत साधनको संरक्षण तथा बचतमा सहयोग पुर्याउदछ
- धार्मिक तथा सांस्कृतिक पहिचानलाई संरक्षण गर्न सहयोग पुर्याउँदछ
- अरुले उक्त चिन्ह/संकेत लाई प्रयोग गर्न पाउँदैन
- बस्तुको निर्यातमा सहयोग गर्दछ
- बस्तुको चिनारीमा सहयोग गर्दछ
उपभोक्ताले ढुक्क भएर किन्न सक्ने वातावरणको सृजना हुन्छ ।
सन् २०२३ को विश्व बौद्धिक सम्पत्ति सङ्गठनको तथ्याङ्कलाई हेर्ने हो भने विश्वमा हालसम्म ५८,४०० खाध्यबस्तु तथा उपजलाई भौगोलिक संकेत प्रदान गरिएको छ, जसमध्ये युरोपियन क्षेत्रका देशहरुले ५३.१% र एसीयाली देशहरुले ३६.३ % हिस्सा ओगटेका छन । उक्त तथ्याङ्क अनुसार हालसम्म सबैभन्दा बढी भौगोलिक संकेत लिने देश चिन हो जसले ९,५७१ खाद्यबस्तु तथा उपजमा भौगोलिक संकेत लिईएको छ र दोश्रो र तेस्रोमा क्रमश: जर्मनी (७,३८६) र चेक रिपब्लिक (६,३८३) पर्दछन । दक्षिण एशियामा दार्जलिंङको चिया, अल्फान्सो र सिन्दुरे आँप, भुटानको रातो चामल लगायत अन्य कृषि उपजलाई भौगोलिक संकेत प्रदान गरेको देखिन्छ ।
नेपालको संविधानमा उल्लेख भएका मौलिक अधिकार मध्ये धारा २५ मा उल्लेख गरिएको सम्पत्तिको अधिकारले बौद्धिक सम्पत्तिलाई समेत जनाउँदछ भनेर स्पष्ट पारिएको छ । बौद्धिक सम्पत्तिलाई प्रतिलिपि अधिकारका रूपमा प्रतिलिपि अधिकार ऐन, २०५९ ले व्याख्या गरेको छ र पेटेन्ट, डिजाइन र ट्रेडमार्कलाई औद्योगिक अधिकारका रूपमा पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ ले व्याख्या गरेको छ।
राष्ट्रिय बौद्धिक सम्पत्ति नीति, २०७३ लेसमेटेका १२ वटा नितिमध्ये भौगोलिक संकेत नीति पनि एक हो जस अन्तर्गत भौगोलिक क्षेत्रमा उत्पादन हुने प्राकृतिक वा मानव सृजित बस्तुको उत्पत्तिको जानकारी सहितको संकेत दिदै त्यस्तो बस्तु सम्वद्ध भौगोलिक क्षेत्रको पहिचान सहित पृथकता जनाउनका लागि सो बस्तुमा उपयोग गरिएको नाम वा चिन्हमा निहित अमुर्त सम्पत्तिलाई बौद्धिक सम्पत्तिको रुपमा संरक्षण गर्न भौगोलिक संकेत सम्बन्धि कानुनको ब्यबस्था गरिनेछ भन्ने उल्लेख गरिएको छ ।
नेपालमा हालसम्म भौगोलिक संकेत सम्बन्धिको नीति तथा नियमावली लागु हुन सकेको छैन तर कलेक्टिभ मार्कको दर्ता सम्बन्धि निर्देशिका, २०६७ अनुसार प्रचलित कानुन बमोजिम स्थापना वा दर्ता भएको संघ, सङ्गठन वा सहकारी संघले त्यस्तो संघ सङ्गठन वा सहकारी संघसँग आवद्ध सदस्यले मात्र प्रयोग गर्न पाउने गरि दर्ता गराउन चाहेको मार्क (चिन्ह) लाई कलेक्टिभ मार्क (सामुहिक चिन्ह) को रुपमा दर्ता गर्ने व्यवस्था मिलाईएको छ । जुन व्यवस्था अनुसार हालसम्म गलैचा, पस्मिना, चिया लगायत ७ वटा कृषि बस्तु/उपज दर्ता भएका छन्।
सन् २०२० मा भारतले बासमती धानको एकाधिकारको लागि संयुक्त रास्ट्रसंघमा निवेदन दिएपश्चात नेपालले समेत त्यसमा दावा पेश गरेको थियो जसको छिनोफानो हालसम्म हुन सकेको छैन । त्यसपश्चात नेपालमा पनि भौगोलिक संकेतको बिषयमा अलि बढी बहस हुन थालेको देखिन्छ ।
नेपालमा १०० भन्दा बढी महत्त्वपूर्ण कृषि खाध्यबस्तु छन जसलाई भौगोलिक संकेत प्रदान गर्न सकिने देखिन्छ जसका प्रतिनिधि उदाहरणहरुमा जुम्ली मार्शी, जुम्ली सिमि, फर्पिंङको नास्पति, मुस्ताङको आलु, अकबरे खुर्सानी, कुभिन्डो, खोकुको सुन्तला, इलामको चिया, गुन्द्रुक, भक्तपुरको जुजु धौ, गुल्मेली गुड, ओखलढुंगाको सिमि आदि पर्दछन ।
यसै आर्थिक वर्षमा उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय कृषि आनुबंशिक श्रोत केन्द्र (राष्ट्रिय जिन बैंक) को समन्वयमा गुल्मीको सख्खर र भक्तपुरको जुजु धौ लाई भौगोलिक संकेत प्रस्तावनाको लागि आवश्यक दस्तावेज तयार गर्ने कामहरु भइरहेको छ।
लेखक प्रदिप थापा, , राष्ट्रिय कृषि आनुबंशिक श्रोत केन्द्र (राष्ट्रिय जिन बैंक), खुमलटार, ललितपुरमा प्राविधिक अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ ।