logoमंगलबार, ३१ असार २०८२

मौरी सडक र चरन क्षेत्रः एक दृष्टिकोण

Author
Loading...
विचार ब्लग

0

Shares

मौरी सडक र चरन क्षेत्रः एक दृष्टिकोण

नेपालमा परापूर्व कालदेखि नै मौरीपालन गरिदै आएको छ । स्थानिय मौरीलाई प्राकृतिक एवं सांस्कृतिक सम्पदाको रूपमा परम्परागत मुढे घार, खोपे घारका साथै आधुनिक घारमा पालन गरि मह उत्पादन गर्ने प्रचलन नेपालको प्रायः अधिकांश क्षेत्रहरूमा पाइन्छ । मौरीलाई उपयुक्त वातावरण जुटाई आधुनिक तरिकाले पाल्ने र मौरीका विभिन्न उपादेयताहरूको उपयोग गरी लाभ लिने भरपर्दो कार्य मौरीपालन हो । 

 

नेपालमा एपिस मेलिफेरा मौरी भित्रिएपछि परम्परागत मौरीपालन पद्धतिमा क्रमशः परिवर्तन आई व्यवसायिक रूपमा मौरीपालनको सुरुवात भएको छ । नेपालको भौगोलिक बनोट र यसमा भएको प्राकृतिक स्रोतका साथै समय समयमा लाग्ने बालीनाली मौरीचरनको रूपमा अति नै उपयुक्त हुने गर्दछ । साथै मौरीपालनबाट बालीबिरुवाहरूको परागसेचनमा प्रभावकारिता आई बालीबिरुवाहरूको उत्पादनमा गुणात्मक एवं परिमाणात्मक वृद्धि हुनुको साथै वातावरण तथा जैविक विविधता संरक्षणमा समेत सहयोग पुगेको छ । वनजङ्गलमा भएका वनस्पति तथा विरुवाहरू पनि चरनको रूपमा प्रयोग भई मौरीपालनमा सघाउ पुगेको छ ।

 

नेपालमा उपलब्ध प्राकृतिक चरनको स्रोतसाधनसीप तथा माग समेतको बिष्लेषण गर्दा यहाँ मौरीपालन ब्यवसायको प्रचुर सम्भावना रहेको देखिन्छ । नेपालको कम उचाई भएका क्षेत्रमा एपिस मेलिफेरा जातको र धेरै उचाई भएको क्षेत्रमा एपिस सेरेना जातको मौरीपालन हुदै आएको छ । विशेषत झापा, सर्लाही, चितवन, कास्की, दाङ्ग, प्युठान, सुर्खेत, दार्चुला जिल्लाहरु मौरीपालनको हिसावले अग्रगामी जिल्लाका रुपमा रहेका छन । प्रदेश अनुसार व्यवसायिक मौरीपालन र यसको सम्भावना बोकेका जिल्लाहरू तपशिलमा रहेका छन् 

तपशिलः

प्रदेशजिल्लाहरु
कोशी प्रदेशझापा, मोरङ्, सुनसरी, पाँचथर
मधेश प्रदेशसर्लाही, रौतहट, वारा
बागमती प्रदेशचितवन, मकवानपुर, धादिङ्, नुवाकोट, ललितपुर, काभ्रे
गण्डकी प्रदेशकास्की, स्याङ्जा, नवलपुर, लम्जुङ्, बाग्लुङ्, म्याग्दी, गोर्खा 
लुम्विनी प्रदेशपाल्पा, गुल्मी, दाङ्, अर्घाखाँची, प्युठान, बाँके, बर्दिया, कपिलवस्तु, रोल्पा, रुकुम 
कर्णाली प्रदेशसुर्खेत, जाजरकोट, जुम्ला
सुदुरपश्चिम प्रदेशकैलाली, डडेलधुरा, दार्चुला, बैतडी

 

 

नेपालको विद्यमान वन जङ्गल, खेतीप्रणाली र चरनक्षमतालाई समेत हेर्दा लगभग ५ लाख एपिस मेलिफेरा र ५ लाख एपिस सेरेना जात गरि १० लाखसम्म मौरीगोला पालन गर्न सकिने अनुमान गरीएको छ भने २० हजार मे. टन भन्दा बढी बार्षिक मह उत्पादन गर्न सकिने देखिन्छ । विभिन्न जिल्लाका विभिन्न ठाँउहरुमा मौरीका उपयुक्त चरन क्षेत्रहरु छन र प्रत्येक चरन क्षेत्रका आ-आफ्ना भार वहन क्षमता छन ।

 

 यसरी कुन चरन क्षेत्रमा कति मात्रामा मौरी गोला व्यवस्थापन गर्न सकिने हो सो यकिन गरि मौरी गोला व्यवस्थापन गर्न सक्ने हो भने खेर गईरहेको पुष्परस तथा कुटको उचित व्यवस्थापन हुने र मौरीपालनमा टेवा समेत पुग्ने देखिन्छ । यसरी हरेक जिल्लाको मौरी चरन क्षेत्रको भार वहन क्षमता यकिन गरि उक्त क्षेत्रलाई सडक मार्फत जोड्ने कार्य हो मौरी सडक अर्थात Bee Road ।

 

आर्थिक बर्ष २०७८/०७९ को कृषि तथ्याङ्क अनुसार नेपालमा मौरीगोला सङ्ख्या करिब २ लाख ५० हजार मात्र छन् । नेपालमा १० लाख मौरीगोला राख्न सकिने आँकलन गरिएता पनि भौगोलिक विकटताले गर्दा चरन क्षेत्र सम्म मौरी गोला ढुवानी गरेर लैजान निकै असहज छ । फलस्वरुप खेर गईरहेका पुष्परस र कुट संकलन गर्न सकिएको भने छैन ।

 

विभिन्न जिल्लामा भएका मौरी चरन क्षेत्रलाई मौरी सडक मार्फत जोड्न पर्ने आजको आवश्यकता बनेको छ । यसरी मौरीको पकेट क्षेत्र, मौरी चरन क्षेत्रको भारवहन क्षमता र मौरी सडकको बारेमा सबै मौरीपालकहरुलाई जानकारी हुने हो भने मौरी चरन व्यवस्थापन तथा ढुवानीमा निकै सहजता हुने थियो ।

 

 उदाहरणको लागि जुनसुकै प्रदेशमा भएका मौरीपालकहरुले आफ्नो मौरी चरनमा लैजाँदा कुन ठाउँमा, कसरी लैजाने, कुन-कुन श्रोतमा मौरी चराउने, कहाँ-कहाँ मह काढ्ने आदिको बारेमा अग्रिम जानकारी लिन सक्थे, जसले गर्दा मौरीपालनलाई निकै व्यवस्थित गर्न सकिन्थ्यो । 

 

विशेषत् दिर्घकालिन चरन विरुवाहरु पहाडी जिल्लाहरुमा बढी छन तर ती पहाडी जिल्लाहरुमा रहेका ती चरन क्षेत्रहरु विकट स्थानमा रहेका कारण मौरीगोला लिइ पुग्न कठिन देखिन्छन जहाँ सडक संजालको विस्तार भएको पाइदैन अतः मौरी चरनको लागि लैजान पनि सकिदैन तसर्थ स्थानिय सरकारले त्यस्ता दिर्घकालिन मौरी चरन क्षेत्रको पहिचान गरि मौरी सडक विस्तार गर्न सकेमा मौरीपालन व्यवसायलाई दिगो र व्यवस्थित बनाउन सकिन्छ ।

 

व्यवसायिक मौरीपालनको लागि नेपाल भरकै मौरी चरन क्षेत्रको नक्साङ्कन गरी रेकर्ड राख्न जरुरी छ । त्यस क्षेत्रमा उपलब्ध चरनमा कति मौरीगोला राख्ने, कति दिन/हप्ता, या महिना मौरी राख्ने, सो कुरा त्यहाँको चरन क्षमतामा भर पर्दछ । उदाहरणका लागि एउटा मौरी गोलालाई आफ्नो वृद्धि विकास तथा अन्य आवश्यकता पुरा गर्नको लागि ‍औषतमा २० के. जी. कुट प्रति बर्ष आवश्यक पर्दछ भने मौरीले १ के. जी. मह उत्पादन गर्नको लागि २ के. जी. पुष्षरस संकलन गर्नु पर्दछ । 

 

तसर्थ सो गोलाबाट अतिरिक्त मह वा कुट उत्पादन गर्न सोभन्दा बढी पुष्परस र कुट त्यहाँको चरनबाट उपलब्ध हुनु पर्दछ । नेपालको सन्दर्भमा जङ्गली चरन तराईमा सिसौ, रुदिलो, मसला, कडिपत्ता, पड्के, जामुन, आदि र पहाडमा चिउरी, चिलाउने, अङ्गेरी, हाडेबयर, पैयुँ आदि वाट मह उत्पादन तथा मह काढ्ने गरिन्छ ।

 

नेपालमा पाइने दिर्घकालिन चरन विरुवाहरुः

नामफुल्ने महिनास्रोत
१. सिरिस चैत्र–बैशाखरस न्यून
२. कल्की फाल्गुण–जेष्ठरस प्रबल
३. सिप्लेकान चैत्र–बैशाखरस प्रबल
४. कोइरालो चैत्र–बैशाखदुवै न्यून
५. भलायो बैशाख–जेष्ठरस मध्यम
६. पैयँु कार्तिक–मार्गदुवै प्रबल
७. रुदिलो पौष–फाल्गुणरस प्रबल
८. काफल माघ–फाल्गुणदुवै न्यून
९. जङ्गली मयल फाल्गुण–चैत्रदुवै प्रबल
१०. हाडीबेड चैत्र–जेष्ठरस प्रबल
११. टुनी फाल्गुण–चैत्ररस मध्यम
१२. मसला फाल्गुण–चैत्रदुवै प्रवल
१३. साल बैशाख–जेष्ठरस न्यून
१४. सिसौ फाल्गुण–चैत्ररस प्रबल
१५. बोटधयेँरो चैत्र–बैशाखदुवै प्रबल
१६. क्यामुना चैत्र–बैशाखदुवै प्रबल
१७. केतुकी भाद्र–आश्विनदुवै प्रबल
१८.. बाँस  दुवै प्रबल
१९. राजवृक्षबैशाख–जेठदुवै मध्यम
२०. चुत्रो/ऐँसेलु फाल्गुण–चैत्रदुवै मध्यम
२१. जमाने मान्द्रोमाघ–फाल्गुणदुवै मध्यम
२२. कडिपत्ता फाल्गुण–चैत्रदुवै प्रबल
२३. चिउरीकार्तिक–माघरस प्रबल

 

 

यसरी विभिन्न जिल्लामा भएका दिर्घकालिन तथा अल्पकालिन चरन विरुवाहरुको फुल फुल्ने समय र उक्त चरन क्षेत्रमा राख्न सकिने मौरी गोला यकिन गरि मौरी ढुवानीलाई सहज बनाउन मौरी सडक निकै आवश्यक रहेको देखिन्छ । साथै व्यवसायिकरुपमा मौरीपालनलाई अगाढी वढाउनको लागि मौरीमा लाग्ने रोगकिराको पहिचान तथा व्यवस्थापनचरन क्षेत्रको संरक्षण र विस्तार, विषादीको प्रयोग सम्वन्धि जनचेतना अभिवृद्धि जस्ता कार्यक्रमहरु संचालन गर्नु पनि आवश्यक छ ।

 

लेखक सुजन अंगाई मौरीपालन विकास केन्द्र, चितवनमा कार्यालय प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ ।

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave