logoमंगलबार, ३१ असार २०८२

कम्बाइन हार्भेस्टरको प्रयोग र धानको अवशेष जलाउँदाको प्रभाव

Author
Loading...
विचार ब्लग

0

Shares

कम्बाइन हार्भेस्टरको प्रयोग र धानको अवशेष जलाउँदाको प्रभाव

परिचय

बाली अवशेष जलाउने भन्नाले किसानहरूले कटानीपछि खेतमा बाँकी रहेका बोटबिरुवा र झारपात जलाउने अभ्यासलाई जनाउँछ। यो अभ्यास नेपालका तराई क्षेत्रहरूमा तीव्र रूपमा हुँदै गएको छ । किनभने यो खेतलाई अर्को बालीका लागि छिटो र सस्तो रूपमा तयार पार्ने तरिका मानिन्छ । यो प्रायः गहुँ र धानको कटानीपछि गरिन्छ। किसानहरू प्रायः धानको अवशेष जलाउँछन् ।

 

 किनभने यसले बाली उत्पादन बढाउन सहयोग गर्ने विश्वास गरिन्छ। तर अध्ययनहरूले देखाएका छन् कि कटानीपछि पराल जलाउनुले माटोको गुणस्तरमा छोटो र लामो समयका लागि सकारात्मक र नकारात्मक दुवै प्रभाव पार्न सक्छ। छोटो समयका लागि पराल जलाउँदा फस्फोरस र पोटासियम जस्ता केही खाद्य तत्त्वको मात्रा बढ्न सक्छ र अनुसन्धानहरूका अनुसार यसले आगामी सिजनको बाली उत्पादनमा सुधार ल्याउन सक्छ। तर यस अभ्यासले दिने तत्कालीन फाइदाभन्दा यसको दिर्घकालिन वातावरणीय र स्वास्थ्यसम्बन्धी असरहरू गम्भीर छन् । 

 

हरेक वर्ष ५०% भन्दा बढी धानको अवशेष जलाइन्छ । जसले वातावरणमा ठूलो क्षति पुर्‍याउने र जीवजन्तुका लागि स्वास्थ्य जोखिम उत्पन्न गर्ने काम गर्छ । इण्डो-गंगा मैदानमा धानको अवशेष जलाउनु वायुप्रदूषणको प्रमुख कारण हो । यसले कुहिरो को निर्माण, शहरी वायु गुणस्तरमा ह्रास र जाडो यामको कुहिरोलाई थप गम्भीर बनाउँछ। साथै यो प्रक्रियाले कार्बनडाइअक्साइड जस्ता हरितगृह ग्यासहरूको ठूलो मात्रामा उत्सर्जन गर्छ   । जुन ग्लोबल वार्मिङको मुख्य कारण हो ।

 

नेपालमा धानको अवशेष जलाउनु कालो कार्बनको महत्त्वपूर्ण स्रोत हो, जुन कार्बनडाइअक्साइड पछि विश्व उष्णीकण ( ग्लोबल वार्मिङ ) को दोस्रो  ठुलो स्रोत हो । यस्ता उत्सर्जनहरूले जलवायु परिवर्तनलाई तिव्र बनाउँछन्  । जसका कारण तापक्रम वृद्धि, वर्षा प्रणालीमा परिवर्तन र खाद्य सुरक्षा जोखिममा पार्नुका साथै बाली उत्पादनमा ह्रास आउने सम्भावना बढ्छ। यस्ता कारणहरूले जनसंख्या विस्थापनको सम्भावना पनि निम्त्याउन सक्छ।

 

धानको अवशेष जलाउँदाका असरहरु

 

१. वर्तमान कटानी विधिहरूको चुनौती (कम्बाइन हार्भेस्टर):

 

धानको कटानी र बाँकी रहेका अवशेषको व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय किसानहरूको प्रमुख जिम्मेवारी हो । परम्परागत कटानी विधिहरूले प्रति हेक्टर प्रति घण्टा १५०–२०० रुपैया  बराबरको श्रमशक्ति  लाग्ने भएकोले किसानहरूका लागि यो आर्थिक रूपमा फाइदाजनक हुँदैन । यसको तुलनामा कम्बाइन हार्भेस्टरले बालीनाली एकैचोटि काट्ने र अन्न सङ्कलन गर्ने भएकाले यो प्रभावकारी विकल्प हो । तर कम्बाइन हार्भेस्टरले करिब २०–३० सेमी उचाइको डाँठ खेतमा छोडिदिन्छ । जसले अर्को बाली रोप्न चुनौतीपूर्ण बनाउँछ।

 

कम्बाइन हार्भेस्टरको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ। परम्परागत तरिकाको कटानीले किसानहरूलाई बढी धानको अवशेष सङ्कलन गर्न र जलाउनुपर्ने आवश्यकतालाई कम गर्न सहयोग गर्छ। तर कम्बाइन हार्भेस्टरले ठूलो मात्रामा अवशेष खेतमै छोड्ने भएकाले किसानहरूले अर्को बालीका लागि जमिन तयार गर्न यसलाई जलाउने गर्छन्।

 

कम्बाइन हार्भेस्टरको प्रयोग धान-गहुँ खेती प्रणालीमा व्यापक छ। यसले धेरै पराल बाँकी राख्ने भएकाले किसानहरू पराल जलाउँछन्। पराल जलाउँदा  कार्बन डाइअक्साइड,  कार्बन मोनोअक्साइड,मिथेन,नाइट्रस अक्साइड,नाइट्रोजन अक्साइडहरू. गैर-मिथेन हाइड्रोकार्बनहरू जस्ता हानिकारक  ग्यास र एरोसोलहरू उत्सर्जन हुन्छन्, जसले वायुप्रदूषणलाई थप खराब बनाउँछ। साथै यसले माटोको आवश्यक खाद्य  तत्व र स्रोत गुम्ने भएकाले माटोको स्वास्थ्यमा  समेत हानि पुर्‍याउँछ। त्यसैले कटानी विधिहरू सुधार गर्न र धान-गहुँ प्रणालीको दिगो व्यवस्थापन सुनिश्चित गर्न आवश्यक छ।

 

२. आर्थिक र सामाजिक प्रभावहरू

 

बाली अवशेष जलाउनु किसानहरूका बीच समय, श्रम र आर्थिक स्रोतको सीमितताका कारण सामान्य अभ्यास बनेको छ । किसानहरूले भर्खरै काटेको खेतमा अवशेष जलाउने गर्छन् किनभने यो जमिनलाई अर्को बाली चक्रका लागि तयारी गर्न सबैभन्दा छिटो र सस्तो उपाय हो । यो अभ्यास विशेष गरी धान काट्ने र गहुँ रोप्ने समयको अन्तराल छोटो भएका क्षेत्रमा व्यापक छ । सीमित समयमा बाँकी रहेका अवशेषलाई म्यानुअल रूपमा हटाएर व्यवस्थापन गर्न गाह्रो हुने भएकाले किसानहरूले सजिलो उपायका रूपमा जलाउने विकल्प अपनाउने गर्छन्।

 

यो समस्या ग्रामीण क्षेत्रमा भइरहेको जनसांख्यिकीय परिवर्तनले झन् जटिल बनाएको छ। रोजगारीका लागि विशेष गरी युवा पुरुषहरू सहरतर्फ वा विदेशतर्फ पलायन हुँदा कृषि क्षेत्रमा श्रमिक अभाव तीव्र रूपमा बढेको छ। यसले महिलाहरूको कामको बोझ बढाएको छ । महिलाहरू घरायसी जिम्मेवारीसँगै कृषि गतिविधि पनि सम्हाल्नुपर्छ। यस्ता परिवर्तनहरूले ग्रामीण क्षेत्रका परिवारमा तनाव मात्र बढाउँदैन दिगो अवशेष व्यवस्थापनका लागि आवश्यक श्रमिक उपलब्धतालाई पनि घटाउँछ।

 

३. पशुचौपायाको आहार

 

धानको परालको गुणस्तर कमजोर हुनु, जसमा लिग्नोसेल्युलोज र फाइबरको मात्रा उच्च छ । यसको पशुचौपायाको आहारका रूपमा उपयोगितालाई सीमित बनाउँछ। यसमा कम स्वादिलोपन र अक्सालेटजस्ता हानिकारक यौगिकहरूको उपस्थिति जस्ता थप समस्याहरूले गर्दा धानको अवशेषलाई चाराको रूपमा प्रयोग गर्न कठिन बनाउँछ।

 

किसानहरूले धानको परालभन्दा गहुँको पराललाई प्राथमिकता दिन्छन् किनभने धानको परालमा पोष्टिक तत्व कम  पाइन्छ र  पशुचौपायाको आहारका रूपमा तयार गर्न गाह्रो हुन्छ । साथै'डेगनाला' जस्ता रोगको जोखिमले पनि धानको परालको उपयोगमा समस्या थप गरेको छ। यसले एक दुष्चक्र (vicious cycle) सिर्जना गरेको छ ।  जहाँ धानको अवशेष प्रायः जमिन सफा गर्न जलाइन्छ। यसले वातावरणीय प्रदूषणलाई थप चर्काउने मात्र होइन परालको अन्य सम्भावित उपयोगलाई पनि घटाउने काम गर्दछ।

 

जलाउनेको दिगो विकल्पहरू

 

बाली कटानीपछि बाँकी रहेका भागहरू जस्तै डाँठ र पात, निकै उपयोगी स्रोत हुन् । यी अवशेषले माटोको संरचना र उर्वराशक्तिमा सुधार गर्न सक्छन् । विभिन्न देशहरूले यस्ता अवशेषलाई विभिन्न तरिकाले उपयोग गर्छन् । कतिपय देशहरूमा बालीका अवशेष पशुचौपायालाई आहार दिन, खाद्यतत्वयुक्त कम्पोस्ट बनाउन वा च्याउ खेती गर्न प्रयोग गरिन्छ ।

यसबाहेक बालीका अवशेषलाई बायो-इनर्जी उत्पादन गर्न पनि प्रयोग गर्न सकिन्छ । यसले ग्रामीण क्षेत्रका ऊर्जा आवश्यकताहरू पूरा गर्न र विकासलाई टेवा दिन सक्छ । बायोमास ऊर्जाले विश्वको कुल ऊर्जा खपतको करिब १४% हिस्सा ओगट्छ ।  जुन पेट्रोलियम, कोइला, र प्राकृतिक ग्यासभन्दा कम भए पनि महत्त्वपूर्ण छ ।

 

निष्कर्ष:

 

कम्बाइन हार्भेस्टरले कटानी गरेपछि धानको अवशेष जलाउनुले वातावरणीय, स्वास्थ्य सम्बन्धी, र सामाजिक-आर्थिक क्षेत्रमा गम्भीर चुनौतीहरू खडा गरेको छ । यसले माटोमा खाद्य तत्त्वहरूको उपलब्धता जस्ता छोटो समयका फाइदा दिन सक्ने भए पनि यसको दीर्घकालीन परिणामहरू हानिकारक छन् । अवशेष जलाउँदा वायुप्रदूषण, जलवायु परिवर्तन, माटोको गुणस्तरमा ह्रास र कार्बनडाइअक्साइड तथा ब्ल्याक कार्बनजस्ता हानिकारक हरितगृह ग्यासहरूको उत्सर्जन हुन्छ। जसले विश्व उष्णीकण लाई थप चर्काउँछ।

 

साथै श्रम शक्ति अभाव र वैकल्पिक अवशेष व्यवस्थापनका उच्च लागतले किसानहरूलाई यसलाई जलाउने छिटो र सस्तो समाधान अपनाउन बाध्य बनाएको छ । विशेष गरी धान र गहुँको बाली चक्रको बीचको अन्तरवाल छोटो भएका क्षेत्रमा यस अभ्यासले धानको पराललाई पशुचौपायाको आहारका रूपमा प्रयोग गर्न सकिने सम्भावनामा पनि बाधा पुर्‍याउँछ। कम पोष्टिक महत्वका कारण पराल जलाउने क्रमले वातावरणीय प्रदूषणलाई थप बढाउने मात्र होइन दिगो खेती प्रणालीका अवसरहरूलाई पनि सीमित बनाउँछ।

 

यी समस्याहरू समाधान गर्न जलाउने सट्टा दिगो विकल्पहरूको अन्वेषण र प्रवर्द्धन गर्न आवश्यक छ । जस्तै:पशुचौपायाको आहारका रूपमा प्रयोग, कम्पोस्ट बनाउने, वा बायो-इनर्जी उत्पादन गर्ने । यस्ता विकल्पहरूले माटोको स्वास्थ्य सुधार गर्न, कृषि उत्पादन शक्ति बढाउन, प्रदूषण घटाउन र ग्रामीण विकासलाई टेवा दिन सक्छ।

 

दिगो अवशेष व्यवस्थापन अभ्यास तर्फको परिवर्तन दीर्घकालीन वातावरणीय स्थायित्व र कृषि क्षेत्रको सहनशीलता हासिल गर्न महत्त्वपूर्ण छ।

 

लेखक विक्रम तिवारी  त्रि.वि., कृषि र पशु विज्ञान अध्ययन सँस्थानमा कृषि विषयमा स्नातकोत्तर तहमा अध्ययनरत हुनुहुन्छ  । 

 

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave