
कुनै पनि व्यवसायलाई दिगो बनाउनको लागि व्यवसाय नाफामूलक हुनुपर्छ।। नेपाली कृषि उत्पादन तथा उपजहरुको बजार व्यवस्थापन निकै कमजोर देखिन्छ । कृषक तथा उद्यमीहरुले उत्पादन तहमा निकै मेहेनत गरेको देखिन्छ भने जब उत्पादन हुन्छ वा फसल तयार हुन्छ त्यसपछि गरिने बजारिकरणको पाटोमा त्यति ध्यान भने दिइएको पाइँदैन । फलस्वरुप हाम्रो उपजहरुको बजार पहुँच निकै कमजोर देखिन्छ । बजारको पक्षलाई विचार नगरी उत्पादन गर्दा कालीमाटीमा फालिएको गोलभेडा कतै बाटोमा दुध पोखेर होस वा कतै बारीमा नै वन्दा, मुला जस्ता बालीहरु जोतेर नै नष्ट गरेको समाचारहरु देख्न तथा सुन्न सकिन्छ । तसर्थ कृषकहरुले उत्पादन गरेको उपजहरुको बजार सुनिश्चित हुन सकेमा कृषकहरु कृषि पेशामा झन आकर्षित भई उत्पादन तथा उत्पादकत्वमा वृद्धि हुन सक्ने देखिन्छ ।
मौरीपालनले कृषि कूल गार्हस्थ उत्पादन (AGDP) मा धेरै सानो अंश (१% भन्दा कम) योगदान पुर्याउने भएता पनि मौरीपालनलाई उच्च मूल्य आम्दानी गर्ने कृषि गतिविधिको रूपमा पहिचान गरिएको छ। महको नियमित सेवन स्वास्थ्यका लागि लाभदायक छ।
मुख्य रूपमा मेलिफेरा जातको मौरीबाट चिउरी, तोरी, तोरा, सिसौ, रुदिलो, फापर, लिची, मसला, असारेजस्ता बोटबिरुवाबाट मह उत्पादन गरिन्छ। चितवन, मकवानपुर, सर्लाही, नवलपरासी, रुपन्देही, दाङ, कैलाली, पाल्पा, बागलुङ, पर्वत, कास्की, जाजरकोट, र अन्य जिल्लाहरूमा व्यावसायिक रूपमा मौरीपालन हुँदै आएको छ। नेपाल जैविक विविधताले भरिपूर्ण देश भएकाले यहाँ विभिन्न स्वादको स्वदेशी मह उत्पादन हुने गरेको छ ।
नेपालको अनुपम हावापानी र वनस्पतिका कारण नेपाली मह अन्य आयातित महको तुलनामा निकै स्वादिलो र गुणस्तरीय छ। विगत केही वर्षयता नेपाली महको बजारिकीकरणमा मौरीपालक महासंघ, केन्द्रीय मौरीपालन सहकारी संस्था, व्यावसायिक कीट विकास केन्द्र (हरिहरभवन), प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मौरीपालन विकास केन्द्रलगायतका विभिन्न सरोकारवाला निकायहरूले सक्रिय रूपमा काम गरिरहेको देखिन्छ।
विभिन्न माध्यमबाट कसरी बजारिकीकरण गर्न सकिन्छ र नेपाली महलाई आम उपभोक्तासम्म पुर्याउन सकिन्छ भन्ने उपायहरू खोज्दै, अपनाउँदै विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएका छन्।
विभिन्न कार्यक्रमहरुको केहि फोटो फिचर यस प्रकार रहेका छन् ।
नेपाली मह प्रवर्दन गर्न भृकुटीमण्डपमा सञ्चालन गरिएको ५ औ राष्ट्रिय मह मेला २०८१ । उक्त मह मेलामा नेपाली मह उत्पादकहरुले उत्पादन गर्नु भएको विभिन्न श्रोतका महहरु विक्री तथा नेपाली महको स्वाद चखाउने कार्य भएको थियो ।
नेपाली क्यालेन्डर अनुसार चैत्र १३ गते मनाईने राष्ट्रिय मह दिवस विभिन्न जिल्लाहरुमा मनाइन्छ । नेपाली मह प्रवर्दन गर्न तथा स्वाद उपभोक्ता बर्गमा पुगोस भन्ने सन्देश सहित यो कार्यक्रम मनाइन्छ । मौरीपालन विकास केन्द्र, भण्डाराले उक्त दिवसमा नेपाली महको अवस्था, सम्भावना तथा चुनौतीको बारेमा छलफल अन्तरक्रिया गर्दै बाटोमा हिड्ने यात्रुहरुलाई मह पानी सेवन गराई नेपाली महको प्रचार प्रसार गर्दै आईरहेको छ ।
जिल्लामा हुने मेला महोत्सवहरुमा सहभागी भई महको प्रचार प्रसार गर्दै आइरहेको पाइन्छ । उक्त मेला महोत्सवमा कार्यालयगत रुपका साथै विभिन्न मह उत्पादकहरुले आफ्नो-आफ्नो स्टलमा आफ्ना मौरीका उपजहरु राखि विक्री वितरण गर्दै नेपाली महको बजारिकरण तथा प्रचार प्रसारमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको देखिन्छ।
स्थानिय स्तरमा उत्पादन भएको मह जम्नु महको प्राकृतिक गुण हो। मह जमेको अवस्थामा यसको गुणस्तरमा शंका गर्नु एक भ्रममात्र हो भन्ने विषयमा विभिन्न माध्यमबाट प्रचारप्रसार गरिएको छ। यसको परिणामस्वरूप, पछिल्ला दिनहरूमा उपभोक्ताहरूले जमेको महलाई नै प्राथमिकता दिन थालेको देखिन्छ, जसले नेपाली महप्रति विश्वास र माग दुवै बढाएको छ।
मह उत्सव मनाउने र मह चखाउने कार्यक्रमहरुः हालको समयमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना चितवनको आयोजनामा विभिन्न सरोकारवाला निकायहरुको सहकार्यमा मह उत्सव २०८१ सौराहामा संचालन भएको छ । जसमा विभिन्न व्यक्तित्वहरुलाई तथा उत्सवमा सहभागी भएका व्याक्तिहरुलाई विभिन्न श्रोतको महको स्वाद चखाई नेपाली महको प्रचार प्रसार गरेको देखिन्छ ।
मेला महोत्सवमा मौरी तथा मह उत्पादनले विशेष महत्व पाउन थालेको देखिन्छ । हालैमात्र चितवन जिल्लाको खैरहनी महोत्सव २०८१ मा मौरीको प्रतिमा सहित मौरी परिसर नै निर्माण गरेर मौरीको संरक्षण गर्नु पर्ने सन्देश र नेपाली महको प्रचार प्रसार गरिएको थियो ।
अतः मह उत्पादनको लागत घटाउने, मौरीजन्य उपजहरूको उत्पादन र उत्पादकत्व बढाउने तथा गुणस्तर सुधार गर्ने कार्यमा विशेष ध्यान दिनुपर्छ। नेपाली महलाई ब्राण्डिङ गर्दै मह उत्पादनसँगै उच्च मूल्यका मौरीजन्य उत्पादनहरू जस्तै पोलन, रोयल जेली, प्रोपोलिस, र मौरीविष उत्पादन गर्नुपर्ने देखिन्छ।
त्यसैगरी, धेरै जनघनत्व भएका स्थानहरूमा मह घर, मह मार्ट, र नेपाली मह बिक्री कक्षहरू स्थापना गर्नुका साथै मानिसहरूको चहलपहल हुने क्षेत्रमा नेपाली महका फाइदाहरू झल्कने फ्लेक्स र ब्यानरहरू निर्माण गरी स्वदेशी महको प्रचारप्रसार गर्नुपर्छ।
राष्ट्रिय तथा स्थानीय एफ.एम. स्टेशनहरू र सञ्चार माध्यमहरू मार्फत नेपाली महको महत्त्वबारे सन्देशमूलक सूचना प्रवाह गर्नाले उपभोक्तामाझ महप्रतिको विश्वास र माग बढाउन सकिन्छ।
साथै, देशभरका विभिन्न जिल्लामा आयोजना हुने मेला र महोत्सवहरूमा सहभागी भई नेपाली महको प्रचारप्रसार गरिएमा हाल देखिएका महको बजारिकीकरणका समस्याहरूलाई दीर्घकालीन रूपमा समाधान गर्न सकिन्छ।
लेखक सुजन अंगाई मौरीपालन विकास केन्द्र, चितवनमा कार्यालय प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ ।