
जैविक विविधता भन्नाले आकाशीय, स्थलीय, जलीय, सामुद्रिक र अन्य क्षेत्रमा रहेका जीवजन्तुहरूको पारिस्थितिक प्रणाली, त्यसको भागको रूपमा रहेका जीव र वनस्पतिको सम्बन्ध र विविधतालाई बुझाउँछ, जसले विशेष गरी प्रजातीय विविधता, आनुवंशिक विविधता र पारिस्थितिक प्रणालीको विविधता समेतलाई जनाउँछ। कृषि जैविक विविधताले कृषिजन्य पारिस्थितिक प्रणाली, प्रजातीय विविधता र वंशाणु गत विविधतामा समाहित खाद्य र कृषि सम्बन्धी आनुवंशिक श्रोतहरूलाई समेट्छ। कृषि जैविक विविधता अन्तर्गत छ वटा सम्भाग (बाली, घाँसे बाली, पशुपंक्षी, जलीय, कीटजन्य र सूक्ष्म जीवाणु) र चार वटा उपसंभाग(घरपालुवा, अर्धजंगली, जंगली नातेदार र जंगली खान योग्य प्रजाति) पर्छन्।
नेपाल विश्व जैविक विविधताको हिसाबले ४९ औं स्थानमा आउँछ। देशमा रहेका कुल २४,३०० जीवित प्रजातिहरूमध्ये २७.२३% कृषि आनुवंशिक स्रोतहरू छन्, जसलाई अर्को अर्थमा कृषि जैविक विविधता भनिन्छ। फूल फुल्ने वनस्पतिको विविधतामा नेपाल विश्वमा ३१ औं र एसियामा १० औं धनी मुलुक मानिन्छ।
हालको परिप्रेक्ष्य हेर्ने हो भने, विश्वमा ७५% भन्दा बढी जैविक विविधता पुनः प्राप्त गर्न नसक्नेगरी हराइसकेको छ र नेपालबाट पनि करिब ४०% कृषि जैविक विविधता ह्रास भएको विभिन्न प्रतिवेदनले देखाएको छ। कृषि जैविक विविधता ह्रास हुनुका मुख्य कारणहरूमा सन् १९६० को दशकको हरितक्रान्ति, आधुनिक कृषि प्रणाली र विकासे बीउबिजनको अत्यधिक प्रयोग, अन्तर्राष्ट्रिय खाद्यान्न व्यापार, जलवायु परिवर्तन, असन्तुलित रासायनिक मल र विषादीको प्रयोग आदि पर्दछन्।
एउटा मात्र जात, अर्थात् बिउबिजनमा भर पर्ने अवस्था आएमा कुनै समयमा शून्य उत्पादन भइ, विश्वका विभिन्न देशहरूमा भोकमरीको समस्या उत्पन्न भएको विभिन्न उदाहरणहरू रहेका छन्। साँघुरो आनुवंशिक आधार भएका उन्नत जातहरूले भन्दा फराकिलो आनुवंशिक आधार भएका स्थानीय जातहरूले सिमान्त जग्गा र प्रतिकूल परिस्थितिमा पनि उत्पादन दिन्छन्, तर कहिल्यै पनि शून्य उत्पादन हुँदैन। उन्नत जातहरूको विकासका लागि कच्चा पदार्थ वा जीनको स्रोत भनेका रैथाने जातहरू अर्थात् बिउबिजन नै हुन्। Norin-10, Dee-geo-woo-gen र sub-1 जीनका स्रोतहरू स्थानिय जातहरू नै हुन्।
नेपालको संविधानमा जैविक स्रोतको संरक्षण र दिगो उपयोगलाई उच्च महत्त्व दिइएको छ र राज्यको नीतिहरूमा यसको उल्लेख गरिएको छ। साथै, जैविक विविधताको संरक्षणमा तीन वटै तहको सरकारको अहम् भूमिका प्रष्ट पारिएको छ।
जलबायु परिवर्तनका असरहरू प्रत्यक्ष देखिन थालेको वर्तमान परिप्रेक्ष्यमा कृषि र कृषि जैविक विविधताको संरक्षण तथा प्रवर्धन अति आवश्यक देखिन्छ। त्यसै कुरालाई मध्यनजर गर्दै, २०७९ सालमा मन्त्रिपरिषद्को बैठकले प्रत्येक माघ १ गते राष्ट्रिय कृषि जैविक विविधता दिवस र माघ १ देखि ७ सम्म कृषि जैविक विविधता सप्ताह मनाउने निर्णय गरेको थियो। त्यसैअन्तर्गत, यस वर्ष तेश्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा कृषि जैविक विविधता सप्ताह “स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता” भन्ने नाराका साथ भव्य रूपमा मनाइँदै छ।
यस वर्ष बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र लगायत अन्य संघसंस्थाको आयोजनामा माघ २ गते माननीय कृषि तथा पशुपंक्षी विकास मन्त्रीज्यूको प्रमुख आतिथ्यमा राष्ट्रिय कृषि जैविक विविधता दिवसको मुख्य समारोह र माघ २ र ३ गते हरिहर भवन, ललितपुरमा कृषि जैविक विविधता एवं कृषि उपज प्रदर्शनी आयोजना गर्न लागिएको छ। त्यसैगरी, राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (राष्ट्रिय जिन बैंक) को आयोजनामा अर्घाखाँची जिल्लाको भूमिस्थान गाउँपालिकामा "कृषि आनुवंशिक विविधताको पहिचान र उपयोगका लागि तथ्यांक अभिलेखीकरण" भन्ने मुख्य नारासहित कृषि जैविक विविधता संरक्षण तथा प्रवर्धन विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको छ। यसको अलावा, देशका विभिन्न स्थानहरूमा विशेष गरी स्थानीय तहको अगुवाईमा विभिन्न कार्यक्रमहरू आयोजना गरी राष्ट्रिय कृषि जैविक विविधता दिवस र सप्ताह मनाइँदै छ।
हालसम्मको परिप्रेक्ष्यमा कृषि जैविक विविधताले समेट्ने बाली र पशुपंक्षी बाहेकका अन्य जलीय, कीटजन्य, घाँसे बाली र सूक्ष्म जीवाणुको संरक्षण र प्रवर्धनमा समेत सरकारले ध्यान दिनुपर्ने देखिन्छ।
लेखक प्रदिप थापा, राष्ट्रिय कृषि आनुबंशिक श्रोत केन्द्र (राष्ट्रिय जिन बैंक), खुमलटार, ललितपुरमा प्राविधिक अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ ।