
नेपालमा परापूर्व कालदेखि परम्परागत रुपमा सेरेना अर्थात रैथाने जातको मौरीपालन गर्दै आएका छन्। सेरेना जातको मौरी हाम्रो आफ्नो रैथाने जातको मौरी हो । यो जातको मौरीलाई पहिले देखि नै परम्परागत मुढे घार एवं खोपे घारमा राखी मह उत्पादन गर्ने प्रचलन नेपालको प्रायः सबै क्षेत्रहरूमा यथावत रहेको पाइन्छ ।
नेपालमा बि. स. २०५१/५२ मा एपिस मेलिफेरा मौरी अर्थात विकासे जातको मौरी भित्रिएपछि परम्परागत मौरीपालन पद्धतिमा क्रमशः परिवर्तन आई व्यावसायिक रूपमा मौरीपालन सुरुवात भएको पाइन्छ । यसबाट मौरीपालक कृषकहरूको रोजगारीमा वृद्धि हुनुको साथै मौरीपालनबाट बालीबिरुवाहरूको परागसेचनमा प्रभावकारिता आई बाली बिरुवाहरूको उत्पादनमा गुणात्मक एवं परिमाणात्मक वृद्धि हुनुको साथै वातावरण संरक्षणमा समेत सहयोग पुगिरहेको छ ।
नेपालको भौगोलिक बनोट अनुसार पहाडी क्षेत्रमा एपिस सेरेना जातको र तराईका जिल्लाहरुमा एपिस मेलिफेरा जातको मौरीको व्यवसायिक पालन भएको देखिन्छ । एक अध्ययन अनुसार विद्यमान वन जङ्गल, खेतीप्रणाली र चरनक्षमता लाई हेर्दा एपिस मेलिफेरा जातको मौरी ५ लाख र एपिस सेरेना जातको मौरी ५ लाख गरि करिव १० लाखसम्म मौरीगोला पालन गरि बार्षिक २० हजार मेट्रिक टन (मे. टन) भन्दा बढि मह उत्पादन गर्न सकिने अनुमान गरिएको छ ।
नेपाल जैविक विविधताको धनि राष्ट्र भएको हुँदा यहाँ पाइने प्राकृतिक स्रोतहरुमा मौरीलाई उपयुक्त हुने बोटबिरुवाको बाहुल्यता छ साथै समय समयमा लाग्ने बालीनाली मौरीचरनको रूपमा अति नै उपयुक्त हुने गर्दछ ।
बागमती प्रदेशको धादिङ्, नुवाकोट, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक लगायत अन्य प्रदेशका पहाडी भु-भागमा सेरेना जातको मौरीको व्यवसायिक पालन भएको देखिन्छ । नेपालमा उत्पादन हुने कुल महको करिव २५ देखि २८ प्रतिशत हिस्सा सेरेना जातको मौरीको महले ओगटेको छ । आ. ब. २०८०/८१ को तथ्याङ्क अनुसार नेपालमा परम्परागत र आधुनिक घारगोलाहरु गरि एपिस सेरेना जातको गोला करिव १ लाख ७८ हजार संख्यामा रहेका छन भने बार्षिक १२०० मे. टन. मह उत्पादन भएको थियो । नेपालको विभिन्न पहाडी क्षेत्रमा यस जातको मौरीलाई फरक फरक तवरवाट पालन गर्दै आइरहेको भेटिन्छ ।
खोपे घारमा मौरीपालन
यो घरका भित्ताहरुमा खोपा वनाएर मौरी पालन गर्ने परम्परागत तरिका हो । यस प्रकारको मौरीपालन प्रकृयामा मौरीपालकहरुले मौरीको खासै हेर विचार गरेको भने पाइदैन । यस प्रकारका घारहरुवाट चाकाहरु निचोरेर मह काढ्ने गरिने हुदाँ तुलनात्मक रुपमा खोपे घारमा महको उत्पादन निकै कम हुन्छ ।
मुढे घारमा मौरीपालन
मुढे घारहरु धोत्रा काठहरुवाट तयार गरिन्छ । यो तरिका अनुसार मौरीलाई मन पर्ने धोत्रा काठहरुको भित्रि भागलाई ताछि सफा गरि मुढे घार बनाइन्छ । मुढेघार एपिस सेरेना मौरीको परम्परागत बासस्थान हो । मुढेघारलाई कृषकहरुले घरको दलेनीमा झुन्डायर मौरीपालन गर्ने गरेको पाइन्छ ।
मुढेघारमा मौरीको गतिविधि तथा अन्य कार्य गर्न सहजको लागि घारको दुवै तर्फवाट घार खोल्न मिल्ने गरि मुढेघारको ढकन तयार गरिएको छ । औषतमा २७-३० इन्च लम्वाई र ८-१० इन्च मोटाई भएका खोक्रो मुढावाट मुढेघार तयार गरि मौरीपालन गर्दै आएका छन । यसरी मुढेघारमा मौरीपालन गर्ने मौरीपालकहरुले मंसिरको पहिलो हप्ता भित्र र जेष्ठ महिनाको पहिलो हप्ता गरि बार्षिकरुपमा दुई पटक सम्म मह काढ्ने गरेका छन भने बार्षिक रुपमा प्रति घारवाट औषत ५ के. जी. मह उत्पादन गरेका छन ।
कृतिम रुपमा मौरी आहार खुवाउने अभ्यास भने मुढेघारमा मौरीपालन गर्नेले निकै कम गरेको पाइन्छ तसर्थ आफ्नै खेति प्रणाली र नजिकको जंगली श्रोतहरु मौरीका चरन क्षेत्रहरु हुन । यस प्रकारको परम्परागत घारमा मौरीपालन गर्दा मौरीको नियमित निरक्षण, र व्यवस्थापन, कृतिम आहारहरु व्यवस्थापन गर्न भने कठिनाई रहको पाइन्छ ।
यस प्रकारका मौरीमा हुल निर्यास गर्ने स्वभाव हुन्छ तर हुल निर्यास भएतामा पनि फेरि उक्त मुढे घारमा फर्केर आउने दर आधुनिक घारको तुलनामा यस प्रकारको घारमा बढि देखिएको कृषकहरुको भनाई पाइन्छ ।
आधुनिक घारमा मौरीपालन
मौरीपालकहरुले परम्परागत रुपमा मौरीपालनका साथै आधुनिक घारमा पनि सेरेना जातको मौरीपालन गर्दै आएका छन र परम्परागत घारवाट आधुनिक घारमा मौरी स्थान्तरण गर्ने प्रचलन पनि छ । सेरेना जातिको मौरी पालन गर्ने आधुनिक घार न्युटन वि टाइपको घार हो । जुन विशेषत टुनीको काठ तथा मौरीलाई मन पर्ने अन्य काठवाट पनि तयार गरिन्छ।
आधुनिक घारमा मौरीपालन गर्दा मौरीको गतिविधि तथा अन्य व्यवस्थापन गर्न निकै सहज हुन्छ । आधुनिक घारमा रहेको फ्रेम निकालेर मौरीको अवस्था, रोग किरा तथा अन्य कृयाकलापहरु सजिलै अवलोकन गर्न सकिन्छ ।आधुनिक घारमा मौरीपालन गर्दा अधिकांश कृषकहरुले निकै न्युन रुपमा कृतिम आहारको प्रयोग गर्ने गरेको पाइन्छ अर्थात विद्यमान खेति प्रणाली, जंगली श्रोत तथा अन्य फुल फुल्ने बिरुवाहरुवाट मौरीले आहार प्राप्त गरेको देखिन्छ । आधुनिक घारवाट बार्षिक रुपमा कार्तिक महिना देखि मंसिरको पहिलो हप्ता सम्म २ पटक र जेष्ठ महिनाको पहिलो हप्ता सम्ममा १ पटक गरि ३ पटक मह काढ्ने गरिन्छ र १ पटकमा मह काढ्दा करिव ५ के. जी. का दरले बार्षिक १५ के. जी. मह प्रति घार उत्पादन हुन्छ । साथै यस प्रकारको घारमा पनि मौरीले हुल निर्यास गर्ने दर वढि रहेको पाइन्छ तर यस प्रकारको घारमा मौरी फर्केर आउने दर निकै कम रहेको कृषकहरुको भनाई पाइन्छ ।
अतः एपिस सेरेना जातको मौरीको मुख्य बासस्थान मुढेघार रहेको र हुल निर्यास गरेता पनि उक्त प्रकारको घारमा मौरी फर्केर आउने हुँदा कृषकहरुले यदि एपिस सेरेना जातको मौरीमा व्यवसायिकता गर्ने हो भने कुल पालन गर्ने घार संख्याको करिव २० प्रतिशत मुढेघार र ८० प्रतिशत आधुनिक घार राख्ने हो भने हुल निर्यासवाट मौरीपालकलाई हुने आर्थिक नोक्सानी निकै कम गर्न सकिन्छ । किनभने मुढेघारमा मौरी फर्केर आउने दर वढि भएकोले उक्त फर्केर आएको मौरीलाई पुनः आधुनिक घारमा स्थान्तरण गरि आधुनिक घारका गोला संख्या कायम राख्न सकिने अवस्था रहन्छ ।
लेखक सुजन अंगाई मौरीपालन विकास केन्द्र, चितवनमा कार्यालय प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ ।