
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका नवनियुक्त उपकुलपति प्राडा शारदा थपलियासँग कृषि सञ्जालका सम्पादक प्रदीप पौडेलले कुराकानी गर्नुभएको छ । प्रस्तुत छ थपलियासँग गरिएको कुराकानीको सम्पादित अंश ।
सर्वप्रथम विश्वविद्यालयको उपकुलपति जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा हजुरलाइ बधाइ छ ।
विश्वविद्यालयको उपकुलपति जस्तो गरिमामय पदमा नियुक्ति हुँदा कस्तो महसुस गर्नुभएको छ ?
पहिला पनि उपकुलपतिको जिम्मेवारी लिएर १ वर्ष २ महिना र अहिले झण्डै ४ महिनादेखि कार्यवाहक उपकुलपतिको जिम्मेवारीमा काम गर्ने अवसर मिलेको हुनाले गर्नुपर्ने कुराहरु के–के हुन् भन्ने थाहा थियो । तर त्यसबेला अनिश्चित समयका लागि मात्रै जिम्मेवारी दिइएकाले कार्यसम्पादन गर्न केही असहज भएको थियो । अब पूर्ण अधिकार प्राप्त हुने भएकाले आगामी दिनमा काम गर्न सहज हुनेछ भन्ने महसुश गरेको छु । अब काम गरेर देखाउँछु भन्ने भावना र आत्मविश्वास विकास भएको छ ।
उपकुलपतिसम्म आइपुग्दाको शैक्षिक यात्राको बारेमा बताइदिनुस् न ?
म पहाडी जिल्ला नुवाकोटमा जन्मेको हुँ । घरबाट स्कुल अलि पर थियो । हिँडेर जानुपर्ने भएकाले हिँड्न सक्ने भएपछि आमा–बुवाले सिधै २ कक्षामा भर्ना गरिदिनुभयो । ६ कक्षासम्म गाउँकै विद्यालयमा पढेँ । त्यतिखेर म सँधै प्रथम हुन्थेँ । त्यसपछि काठमाडौँको लैनचौरमा रहेको एक स्कुलमा भर्ना भएँ र त्यहाँ पनि १० कक्षासम्म प्रथम नै भएँ । एसएलसी पनि प्रथम श्रेणीमै पास गरेँ । त्यसपछि अमृत साइन्स कलेज काठमाडौँमा छात्रवृत्तिमा आईएस्सी अध्ययन गरेँ ।
त्यसपछि बीभीएस्सी एण्ड एच (भेटेरिनरी डाक्टर) अध्ययन गर्नका लागि भारतमा पनि छात्रवृत्ति पाएँ । पाँच वर्षे कोर्स पढ्नका लागि घरबाट टाढा जानुपर्दा परिस्थिति सहज थिएन । त्यहाँ पुगेर पनि म लगातार टपर नै हुन सफल भएँ । विदेशी विद्यार्थीले लगातार टप गरेको भन्दै त्यहाँका विद्यार्थीहरुले सातौँ र आठौँ सेमेस्टरबाट मलाई निकै टर्चर दिन थाले । तैपनि म विचलित भइन र अन्ततः सन् १९९० मा स्नातक तहमा स्वर्ण पदक (गोल्ड मेडल) प्राप्त गर्न सफल भएँ ।
पढाइ सकेर नेपाल आउने बित्तिकै २०४७ सालमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत कृषि र पशु विज्ञान अध्ययन संस्थान, रामपुरमा लेक्चरको रुपमा पढाउन थालेँ । पढाउने पेसाप्रति मलाई विशेष रुचि थियो ।
त्यसपछि सन् १९९६ मा जापानको जिफु विश्वविद्यालयबाट विद्यावारिधिसम्मको पढाइ सम्पन्न गरेँ ।
सन् २०१० मा कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर र हेटौँडालाई गाभेर स्वायत्त विश्वविद्यालयको आवश्यकता महसुस गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालयको रुपमा स्थापना भयो ।
त्यतिबेला विश्वविद्यालयको पहिलो योजना निर्देशकको रुपमा काम गरेँ । मेरो अगुवाइमा १० वर्षे रणनीतिक योजना तयार पारेर त्यसलाई कार्यान्वयन गर्ने कार्य थालिएको थियो । हाल पनि सोही योजनाको जगको आधारमा विश्वविद्यालयमा विभिन्न गतिविधिहरु सञ्चालन हुँदै आएका छन् ।
त्यसपछि म कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायको डीन र रजिष्ट्रार हुँदै हाल विश्वविद्यालयको उपकुलपतिसम्म बन्न सफल भएँ । रजिष्ट्रार हुँदा नै हाम्रो टीमले सन् २०२३ देखि २०३२ सम्मको दीर्घकालीन योजना तयार पारेका थियौँ । अब सो योजनाको प्रभावकारी कार्यान्वयनका लागि म सक्रिय भएर लाग्नेछु ।
विश्वविद्यालयमा हाल विभिन्न समयमा बन्द र हड्तालका कारण पठनपाठन र प्रशासन प्रभावित भइरहन्छ नि । यसलाई चिरेर तपाईं कसरी अगाडि बढ्नुहुन्छ ?
बन्द र हड्तालको मुख्य कारण निश्चित स्वार्थ पूरा गर्ने समूहहरुको गतिविधि हो, जसले पठनपाठनलाई बाधा र्पुयाउँछ । राजनीतिक चासो राख्ने व्यक्तिहरुको संलग्नता स्वाभाविक भए पनि व्यक्तिगत स्वार्थका कारण हुने यस्ता कार्यहरु रोक्नका लागि म सक्रियताका साथ लाग्नेछु ।
विद्यार्थीहरुलाई पठनपाठनसँगै आयआर्जनका गतिविधिमा सहभागी गराउन सकेमा, उनीहरु अराजक गतिविधिमा संलग्न हुने सम्भावना न्यून हुन्छ । साथै विद्यार्थीका जायज मागहरुलाई समयमै सम्बोधन गर्ने प्रयासमा म प्रतिबद्ध रहनेछु । यसले शैक्षिक वातावरणलाई स्थिर राख्न सहयोग पुर्याउँछ र पठनपाठनलाई प्रभावकारी बनाउँछ।
सबैभन्दा महत्वपूर्ण र गर्नैपर्ने कार्य भनेको शैक्षिक पात्रो (क्यालेन्डर) को कार्यान्वयन नै हो । यो मेरो पहिलो प्राथमिकता हुनेछ । दोस्रो पाटो भनेको पाठ्यक्रममा उल्लेखित कोर्स क्रेडिट अनुसार अध्यापन गराउने कार्य हो । यसको कार्यान्वयनका लागि पनि अनुगमन र निरीक्षण गरेर कडाइ गर्नेछु ।
सैद्दान्तिक भन्दा पनि व्यावहारिक र सीपमूलक पढाइ कसरी प्रदान गर्ने भन्ने कुरा महत्वपूर्ण भएकाले यसमा मैले विशेष ध्यान दिनेछु । विद्यार्थीहरुलाई भविष्यमा रोजगारमा सफल हुनका लागि आवश्यक सीप र व्यावहारिक ज्ञान दिनु अत्यन्त जरुरी छ र त्यसका लागि शिक्षण पद्दतिमा सुधार ल्याउन म निरन्तर सक्रिय रहनेछु ।
अनुसन्धान हाम्रो अर्को महत्वपूर्ण विषय हो । किसान, व्यावसायी र कृषि उद्योगका समस्या समाधान गर्नका लागि आवश्यक योजना बनाएर कार्यान्वयन गर्नेछु । अनुसन्धानका लागि अन्तर्राष्ट्रिय फन्ड प्राप्त गर्नका लागि विश्वविद्यालयमा एक अनुसन्धान युनिट गठन गर्नेछु । यस युनिटले अन्तर्राष्ट्रिय जगतमा हुने प्रतिस्पर्धात्मक अनुसन्धान प्रस्तावना पेस गरेर स्रोत जुटाउनेछ र प्राध्यापक तथा विद्यार्थीहरुलाई अनुसन्धानका क्रियाकलापमा जोड्नेछ ।
तेस्रो महत्वपूर्ण पाटो भनेको प्रसार हो । हामीले अनुसन्धानको तहबाट पत्ता लगाएका नयाँ प्रविधिहरु किसान र सम्बन्धित निकायसम्म पुर्याउन र किसानका समस्यामा प्राविधिक सेवा प्रदान गर्नका लागि अभियान नै सञ्चालन गर्नेछु । हाल पनि ‘किसानसँग एफयू’ भन्ने कार्यक्रम सञ्चालन भइरहेको छ । जसले यसै उद्देश्यलाई अघि बढाउँदै आएको छ ।
आंगिक कलेजको संरचना र शैक्षिक सुधारका लागि के के योजना छन् ?
विश्वविद्यालय अनुदान आयोगले पूँजीगत बजेट आंगिक कलेजलाई उपलब्ध गराएको छ । तर हाल प्रदान गरिएको बजेट पर्याप्त छैन । जसको असर शैक्षिक क्रियाकलापमा प्रत्यक्ष रुपमा परेको छ । एउटा कलेजमा २९ जना प्राध्यापक हुनु पर्छ भन्ने अध्ययनले भनेको भएता पनि प्राध्यापकहरुको अभाव छ । यसअघि पनि हामीले नेपाल सरकारसँग आवश्यक दरबन्दी माग गरेको भएता पनि सो प्राप्त हुन सकेको छैन । यसलाई पूरा गर्न म पहल गर्नेछु ।
प्राध्यापकहरुको कमी पूरा गर्नका लागि थप बजेट र दरबन्दीको व्यवस्था गर्न पहल गर्नेछु । साथै शैक्षिक क्रियाकलापलाई प्रभावकारी बनाउन अन्य आवश्यक सुधारका पहलहरु गर्नेछु । विश्वविद्यालयको संरचनामा सुधार गर्नका लागि आवश्यक कदम चाल्नेछु ।
अबको ४ वर्षे कार्यकाललाई सफल बनाउन केके योजना बनाउनुभएको छ ?
अबको ४ वर्षे कार्यकालमा गर्ने कामहरुको स्पष्ट योजनाको खाका मैले तयार पारेको छु।
पहिलो वर्ष आधार वर्ष हुनेछ । जसमा विश्वविद्यालयका सबै आधारभूत संरचना र प्रक्रियाहरुलाई बलियो बनाउने काम गरिनेछ । यसमा नयाँ कार्यक्रमहरु सुरु गर्ने योजना छ ।
दोस्रो वर्षमा विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने र त्यसको ध्यान आकृष्ट गर्ने उपायहरुमा ध्यान केन्द्रित गरिनेछ । यसमा शैक्षिक र अनुसन्धानका गतिविधिहरुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने र साझेदारीका अवसरहरु सिर्जना गर्ने काम हुनेछ ।
तेस्रो वर्षमा पहिलो र दोस्रो वर्षको अनुसन्धानका परिणामहरु निस्कन थाल्नेछन् । विश्वविद्यालयले विकास गरेका प्रविधिहरुलाई किसान र उद्यमीहरुसम्म पुर्याउने लक्ष्य राखिएको छ ।
चौथो वर्षमा गरिएको कामहरुको समिक्षा गरेर आगामी कार्यदिशाको योजना बनाइनेछ । यसमा हामीले सिकेका पाठहरुलाई आत्मसात गरेर भविष्यका योजनामा सुधार र समृद्धि ल्याउने प्रयास गरिनेछ ।
अनुसन्धानका लागि सरकारले पर्याप्त बजेट उपलब्ध नगराएको हुनाले सोचेअनुसार काम गर्न सकिएको छैन । यसको व्यवस्थापन र शैक्षिक गुणस्तरीयता कायम राख्नु मेरो प्राथमिकता हुनेछ । किसानसम्म विश्वविद्यालयका गतिविधिहरुलाई जोड्नका लागि ‘किसानसँग एफयु’ कार्यक्रमलाई राम्रोसँग अघि बढाउनेछु ।
जसरी हाम्रा पुर्खाले कृषि गर्नुभएको थियो, त्यसरी नयाँ पुस्तामा कृषि प्रति लगाव घट्दो छ । कृषि विषय नै उनीहरुको रोजाइमा नपर्ने हो कि भन्ने डर देखिन थालेको छ । त्यसैले ‘विद्यालयमा विश्वविद्यालय’ भन्ने अभियान सञ्चालन गर्न लागेको छु । यस अभियानले विद्यालयस्तरबाट नै कृषि शिक्षा र विश्वविद्यालयले गरेका गतिविधिहरुको बारेमा विद्यार्थीहरुलाई जानकारी दिनेछ र कृषि विषयको महत्वको बारेमा जागरण ल्याउनेछ । यसबाट मेधावी विद्यार्थीहरुको रोजाइ कृषि शिक्षा बन्नेछ ।
कृषि शिक्षामा आइटी जोड्नका लागि केही योजना बनाउनु भएको छ ?
आइटीको फिल्ड नभएको कुनै क्षेत्र छैन जस्तो लाग्छ । त्यसैले हामीले कृषिमा पनि आइटीलाई जोड्नका लागि क्रेडिट नजोडिने कोर्सको रुपमा राखेर भए पनि स्नातक तहमा अध्यापन गराउने छलफल सुरु गरिसकेका छौं । स्नातकोत्तर तहमा आइटीसँग सम्बन्धित कोर्सहरु राख्नका लागि छलफल चलिरहेको छ ।
प्रशासनिक काममा पनि म रजिष्ट्रार हुँदा देखि नै आर्थिक दिग्दर्शन डिजिटल बनाइएको छ । यसै क्रममा विश्वविद्यालयमा प्रशासनिक प्रक्रिया र व्यवस्थापनलाई डिजिटल प्रणालीमा रुपान्तरण गर्ने काम सुरु गरिएको छ ।
विश्वविद्यालयमा सुशासन कायम गर्नका लागि विभिन्न क्रियाकलापहरुलाई प्रविधिमैत्री बनाउन थप योजनाहरु कार्यान्वयन गर्नेछु । यसले शिक्षा प्रणालीलाई अझ प्रभावकारी र आधुनिक बनाउनेछ ।
छात्रवृत्तिमा नेपालमा कृषि शिक्षा पढ्ने र विदेशिने क्रम बढ्दो छ । यसलाई रोक्न के गर्नुपर्ला ?
हामीले विद्यार्थीलाई केवल पढाउने काम मात्र गर्यौ। तर उनीहरुलाई व्यावसायिक कसरी बनाउने भन्ने विषयमा पर्याप्त ध्यान दिएका थियौं भन्ने देखिँदैन । उद्योग व्यवसायमा लाग्नलाई विद्यार्थीहरुलाई पर्याप्त अभिप्रेरित गरिएन ।
छात्रवृत्ति पाएर पढेका विद्यार्थीलाई कम्तिमा २–४ वर्ष नेपालमै बस्नुपर्ने नीति सरकारले बनाउनुपर्छ र लगानीको वातावरण सिर्जना गर्नुपर्छ । अब मेरो कार्यकालमा ‘उद्योगीसँग विश्वविद्यालय र विद्यार्थी’ कार्यक्रम सञ्चालन गर्नेछु । यस कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई उद्योगमा भ्रमण गराउने, केही समयको लागि इन्टर्नशिप गर्न लगाउने जस्ता क्रियाकलापहरु सञ्चालन गरिनेछ । यसले विद्यार्थीहरुलाई भविष्यमा उद्यमशीलतामा लाग्न प्रेरित गर्नेछ र उनीहरुमा नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने आत्मविश्वास विकास गर्न मद्दत पुर्याउनेछ ।