
पोखरा, फागुन २९ । नेपाल कृषि अनसन्धान परिषदको बागवानी अनुसन्धान केन्द्र, मालेपाटनमा बिगत लामो समय देखि अनुसन्धानमा रहेको मेकाडेमिया नटको एक जात “मालेपाटन मेकाडेमिया” को नाममा पञ्जीकरण भएको छ |
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बीउ बिजन ऐन, २०४५ को दफा ११ तथा बीउ बिजन नियमावली, २०८१ को नियम १० को उपनियम (१) को खण्ड (ख) को व्यवस्था बमोजिम कृषि तथा पशुपन्छी विकास मन्त्रालय (माननीय मन्त्रिस्तर) को मिति २०८१/११/२७ को निर्णयबाट उक्त जात पञ्जीकरण गरेको हो ।
विगत लामो समयदेखि अनुसन्धानमा रहेको उक्त जात पञ्जीकरण गर्न सफल भएको बागवानी अनुसन्धान केन्द्र, मालेपाटनका प्राविधिक अधिकृत सन्दीप तिमिल्सिनाले जानकारी दिनुभयो ।
मेकाडेमिया नट प्रोटिन, फाइबर, मोनोअनस्याचुरेटेड फ्याट्टी एसिड, पाल्मितोलेइक एसिड जस्ता विभिन्न पौष्टिक तत्त्वहरुले भरिपूर्ण भएको तिमिल्सिनाले बताउनुभयो । “मेकाडेमिया नटमा पाइने ओमेगा ९ जस्ता तत्वहरुले शरिरमा मुटुरोगबाट बच्ने प्रतिरोधात्मक क्षमता विकास गर्ने हुनाले यसको महत्व पछिल्लो समय बढ्दै गएको छ ।” उहाँले भन्नुभयो “अन्य फलफुलको तुलनामा बाँदरको आक्रमण समेत नहुने, रोग किराको संक्रमण समेत कम देखिएको तथा निर्यातका लागी सम्भावना बोकेको भएकोले यो पहाडी क्षेत्रका कृषकहरुका लागि तुलनात्मक रूपले लाभको बाली हो” ।
मेकाडेमिया नट प्रतिबोट २० देखि २५ केजी र प्रति हेक्टर चार देखि पाँच मेट्रिक टन उत्पादन हुने प्राविधिक अधिकृत तिमिल्सिनाले बताउनुभयो। यसको व्यवसायिक खेती समुद्र सतहदेखि १३०० मिटरसम्मका तराइ तथा पहाडी क्षेत्रहरूमा गर्न सकिन्छ । मेकाडेमिया नटको प्रसारण बीउ तथा ग्राफ्ट्रिङ विधिबाट गर्न सकिन्छ । तर नेपालमा बीजु बिरुवानै प्रचलनमा रहेको छ।
मेकाडेमिया नटको बीउ, विरुवा तथा अन्य खेती सम्बन्धी प्राविधिक सल्लाहका लागी बागवानी अनुसन्धान केन्द्र, मालेपाटनमा सम्पर्क गर्न सकिने अधिकृत तिमिल्सिनाले बताउनुभयो।
मेकाडेमिया नट नेपालमा पहिलोपटक बागवानी फार्म नुवाकोट त्रिशुलीमा सन् १९७० मा भित्रिएको भएतापनि नेपालमा खासै व्यवसायिक भने हुन सकेको थिएन । पञ्जीकृत भएसँगै नट व्यवासायिक रुपमा लगाउन कानुनी बाटो खुला भएको छ । मेकाडेमिया नट हाल नेपालमा कास्की, तनहुँ, स्याङ्जा, काभ्रे, नुवाकोट झापा, लगायतका जिल्लाहरूमा खेती गरिन थालिएको छ।