
धान नेपालको प्रमुख खाद्यान्न बाली हो । यसको खेती तराई देखि उच्च हिमाल सम्म गरिन्छ। नेपाली जनजीवनमा धान र त्यसबाट बनेको चामल विभिन्न चाडपर्व लगायत जन्म देखि मृत्यु संस्कारसम्म प्रयोग गरिन्छ। त्यसकारण धान नेपाली जनजीवनमा अभिन्न बन्न पुगेको छ । धानले नेपालको कुल कृषि ग्राहस्थ उत्पादनमा १३% र कुल ग्राहास्थ उत्पादनमा ४.५% ले योगदान पुर्याएको छ । नेपालमा अन्नबालीले ढाकेको कुल क्षेत्रफलको करिब ४३ प्रतिशतमा धान खेती हुने गरेको र अन्नबालीको कुल उत्पादनमा ५३ प्रतिशत धानको हिस्सा रहेको छ । देशको करिब ३३ % जनसंख्याको क्यालोरी चामलबाट उपलब्ध हुन्छ। धानबाट चामल बनाउदा त्यसबाट निस्केको ढुटो पशुपालनमा प्रमुख आहारको रुपमा प्रयोग गरिन्छ भने पराल र भुस कुखुरापालनमा उपयोग गरिन्छ । पराल गाई भैसीलाई खुवाउन प्रयोग पनि गरिन्छ । यसको अलावा विभिन्न वस्तु जस्तै पिर्का तथा सामान्य बार बन्देज इत्यादी बनाउन प्रयोग गरिनुका साथै च्याउ खेतीका लागि समेत उपयोग गरिन्छ ।
कृषि तथा पशुपक्षी विकाश मन्त्रालयका अनुसार आ. व. २०८०/८१ मा कुल क्षेत्रफल १४,२०,६३६ हेक्टरमा धान खेति गरिएको थियो जसबाट ५९,५५,४७६ मेट्रिक टन धान उत्पादन भयो र यसको उत्पादकत्व ४.१ मेट्रिक टन प्रति हेक्टर रहेको थियो। त्यसैगरि नेपालमा धान उत्पादन गरिने कुल क्षेत्रफलको हिसाबले तराईले ७१ %, पहाडले २५ % र हिमालले ४ % जग्गा ओगटेको छ । पहाडी क्षेत्रमा धान प्रतिष्ठित बालीको रुपमा लिइने भएकोले सरकारले समेत यसलाई प्राथमिकतामा राखेको छ ।
धान खेती परापुर्वकाल देखि गरिदै आए पनि बि. स. २०२९ साल देखि यस बालीको अनुसन्धान कार्यको औपचारिक सुरुआत भएको देखिन्छ । हाल तराईको लागि राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथ, धनुषा र पहाड तथा उच्च पहाडको लागि राष्ट्रिय वाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र खुमलटार, ललितपुरबाट जातीय अनुसन्धान तथा विकाश कार्य संचालन हुदै आएको छ। हाल सम्म मध्य पहाडको लागि २१ वटा र उच्च पहाडको लागि ७ वटा जातहरु उन्मोचन भएका छन।
धानबालीको जातीय विकास र परिक्षण गर्ने क्रममा मध्य पहाडी (८००–१५०० मीटर) क्षेत्रका सिंचित, अर्ध सिंचित र वर्षाको भरमा हुने धान खेतका लागि नयाँ जातहरु खुमल १२ र खुमल १४ विकास गरिएका छन । यी जातका विशेषताहरु निम्न अनुसार छन ।
खुमल–१२
खुमल–४ जस्तै उही समयमै पाक्ने, नढल्ने, बढी गांज हाल्ने, बढी फल्ने, बढी चामल पर्ने, मसिनो र स्वादिलो छ। प्रचलित खुमल–४ जस्तै विशेषताहरु भएको तर अनुसन्धानको क्रममा यसमा खासै रोग र किरा लागेको देखिएको छैन ।
खुमल–१४
यसमा पनि प्रचलित खुमल–४ जस्तै विशेषताहरु भएको, खुमल–१२ भन्दा अलि बढी उत्पादन दिने, समयमै पाक्ने, नढल्ने, बढी गांज हाल्ने, बढी चामल पर्ने, मसिनो र स्वादिलो छ ।
अनुसन्धानको क्रममा खुमल–१२ र खुमल–१४ जातहरुलाई ५५ दिन सम्मको बेर्नाहरु रोप्दा प्रचलित जात खुमल–४ भन्दा राम्रो उत्पादन दिएकोले बदलिदो मौसमी प्रतिकुलतामा र वर्षाको भरमा हुने धान खेतका लागि उपयुक्त हुन्छ ।
हावापानी
खुमल–१२ र खुमल–१४ लाई पुर्व मेची देखि पश्चिम महाकालीका ८०० देखि १५०० मीटर सम्मका मध्य पहाडी क्षेत्रको लागि सिफारिस गरिएको छ । यी दुवै जातहरुले ५५ दिन सम्मको बेर्ना रोप्दा पनि प्रचलित खुमल–४ भन्दा बढी उत्पादन दिएकोले बदलिदो मौसमी प्रतिकूलतामा र वर्षामा आधारित खेति हुने क्षेत्रहरुका लागि उपयुक्त हुने देखिन्छ ।
माटो र जमिन
यी धानका जातहरुले असिञ्चित जग्गामा भन्दा सिञ्चित जग्गामा बढी उत्पादन दिएको पाइएको छ । राम्रो उर्वराशक्ति भएको खेत अथवा सिञ्चित खेतमा बढी मात्रामा रासायनिक र उर्वरा शक्तियुक्त मलको प्रयोग गरेमा फलेको धान ढल्ने सम्भावना हुन्छ । त्यसकारण यी जातहरु लाई कम देखि मध्यम उर्वरा शक्ति भएको सिञ्चित जग्गामा लगाउदा बढी फाइदाजनक हुन सक्छ । माटोको पि एच को मात्रा ५.५ देखि ६.५ सम्म हुनु पर्छ ।
बीउको छनोट
उच्च गुणस्तरको शुद्ध र प्रमाणिक उन्नत वा हाईब्रिड बीउ प्रयोग गरेमा धानको उत्पादन सरदारमा २०–२५% ले बढ्न सक्छ । त्यसकारण जहिले पनि सहि र प्रमाणित स्थानबाट बीउ ल्याउन सक्नु पर्छ। बिउ लिदा कुन जातको बीउ हो भनि किटान गर्न ट्याग लिनु पर्छ वा हेर्नु पर्छ । बिउ छान्दा स्वस्थ, पोटिलो, चम्किलो र ८०% भन्दा बढी उमार शक्ति भएको बीउ प्रयोग गर्नु पर्छ । एकनासले बिउ उम्रियोस भनी बिउलाई ३–५ लिटर पानीमा हाल्ने र केहि छिन पर्खने, स्वस्थ र पोटिलो दाना पिंधमा गएर बस्छ भने कमसल दाना पानीमा तैरिन्छ । यसरी कमसल दानालाई छानेर हटाउने र स्वस्थ दाना बिउको रुपमा प्रयोग गर्ने गर्नु पर्छ ।
बीउको उपचार
स्वास्थ्य र रोग रहित धान उत्पादनको लागि धानको बीउलाई अनिवार्य रुपले उपचार गर्नु पर्छ । खेतमा बिउ छर्नु भन्दा पहिले धानको बिउलाई वेविसटिन (Carbendazim %)Ü WP ५०% वा मंकोजेब -Mancozeb_ विषादी २.५–३ ग्राम प्रति किलोग्राम धानको दरले राम्ररी चलाएर मिसाउने र हावा नछिर्ने भाड़ो वा बोरामा राख्नु पर्छ । यसरी उपचार गरेको ४–५ दिन पछि ब्याडमा बिउ छर्न पर्छ ।
बीउदरः २.५ देखि ३ किलोग्राम प्रति रोपनी अथवा ४०-५० के. जी. प्रति हेक्टर
व्याड राख्ने समय
मध्य पहाडी क्षेत्रको लागि जेठको पहिलो हप्तामा व्याड राख्नु उपयुक्त देखिन्छ भने सो भन्दा तल्लो क्षेत्र टार बेसी तिर जेठको अन्तिम हप्तासम्म व्याड राख्न सकिन्छ । आफ्नो अनुकुलता अनुसार हिले वा धुले व्याड राख्न सकिन्छ । तर धुले व्याडमा बेर्ना स्वस्थ हुने र छिटो बढ्ने देखिन्छ । मरुवा (व्लास्ट) रोग लाग्ने ठाउमा हिले व्याड राख्नु उपयुक्त हुन्छ ।
जग्गाको तयारी
बिउको लागि व्याड राख्ने जग्गा पूर्ण रुपमा मिलेको, सम्म परेको, सिचाई र पानी निकासको उचित व्यवस्था भएको हुनु पर्छ । जग्गा छान्दा उर्वर माटो भएको झारपात रहित हुनु पर्छ । पहिलो जोताई एक महिना पहिले गर्ने र त्यहि बेला कुहेको कम्पोस्ट मल माटोमा राम्ररी मिलाउने । बीउ छर्नु भन्दा ५–७ दिन पहिले व्याडमा सिंचाई गर्ने वा पानी छर्ने जसले गर्दा पुराना बालीका ठुटा, जरा तथा झारपातहरु कुहिन्छ र माटो मलिलो बनाउछ । त्यसपछि आवस्यक मात्रामा रसायनिक मल पनी माटोमा मिलाउने । यसैगरी धान रोप्नु भन्दा अगाडी माटोलाई हिल्याउने, दादे लाउने र झारपात आदिलाई हिलोमा पुरिने गरि राम्ररी सम्याउनु पर्छ । व्याडको जग्गा तयारी गरे जस्तै धान रोप्ने खेतको जग्गा पनि तयारी गर्नुपर्छ ।
बेर्नाको उमेर, रोप्ने समय र तरिका
धान रोप्न २०–२५ दिनको बेर्ना उपयुक्त मानिन्छ । यसरी कम उमेरको बेर्ना रोप्दा धानमा बढी गाज आउछ र उत्पादन बढ्छ। बेर्ना उखेल्नु भन्दा १–२ दिन अगावै व्याडमा सिंचाई दिएमा बेर्नाको जरा उखेल्न सजिलो हुने, तथा बेर्नाको जरा चिडियेर जादैन । बेर्ना उखेलेर सकेसम्म चाडै रोप्नुपर्छ र रोपाई गर्दा २–३ वटा बेर्ना २–३ से. मी. गहिराई सम्म रोप्नुपर्छ। बेर्ना रोप्दा हार देखि हार र बोट देखि बोटको दुरी २० ह १५ से. मी. हुनुपर्छ।
मलखाद व्यवस्थापन
मलखाद व्यवस्थापनको हकमा मध्य र उच्च पहाडी क्षेत्रको लागि १००:३०:३० के. जी./हेक्टर नाईट्रोजन, फोस्फोरस र पोटास रसायनिक मल सिफारिस गरिएको छ । धान खेत तयारी गर्नको लागि पहिलो जोताई अगाडी राम्ररी पाकेको कम्पोस्ट मल ८–१० डोको प्रति रोपनीको दरले राख्नु पर्छ । साथै धान रोप्ने बेलामा बाउसे गरि सकेपछि डि. ए. पी. ४.५ र पोटास २.५ किलो प्रति रोपनीका दरले जमिनमा एकनास पर्ने गरि छर्नुपर्छ । यसरी धान रोपेको २५–३० दिन र ६०–६५ दिनमा प्रत्येक पटक गोडमेल गरि सकेपछी २ के. जी. युरिया प्रति रोपनीका दरले टप ड्रेस गर्नु पर्छ। यसरी रासायनिक मल प्रयोग गरि सकेपछि २४ घण्टासम्म खेत बाट पानी बगेर जान दिनु हुदैन ।
गोडमेल
धान रोपिसकेपछि अनावस्यक झारपात हटाउन र स्वस्थ बोट कायम राख्नका लागि गोडमेल गर्न अति आवस्यक छ । त्यसकारण धान रोपेको २५–३० दिनमा र ५०–६० दिनमा गरि दुइ पटक धान खेतमा आएका झारपात निकाली दिनु पर्छ । खेतमा काम गर्ने व्यक्तिको कमि छ भने त्यस्तो बेला झारनासक विषादीको प्रयोग गर्न सकिन्छ । यसरी धान रोपेको ४–५ दिनमा बुटाक्लोर नामक विषादी १.२५ किलो प्रति रोपनी वा टप–स्टार २१० ग्राम प्रति हेक्टरका दरले सबै खेतमा पर्ने गरि छर्नुपर्छ । झारनासक विषादी प्रयोग गर्दा खेतमा छिपछिपे पानी हुनुपर्छ ।
सिंचाई व्यवस्थापन
धानखेतीको लागि पानी अत्यावस्यक हुन्छ । त्यसकारण धान रोपेको ३–४ दिन पछि १५–२० दिन सम्म ३–५ से. मी. र धान पाक्नु भन्दा १५–२० दिन अगाडिसम्म ५–७ से. मी. सम्म पानी खेतमा जमाउनुपर्छ । यसरी खेतमा पानी जमाई राख्दा झारपातको प्रकोप कम हुन जान्छ । खेतमा सिंचाई र निकासको राम्रो व्यवस्था भएको अवस्थामा ८–१० दिनको अन्तरमा पानी जमाउने र सुकाउने गरेमा धानको उत्पादनमा वृद्धि गर्न सकिन्छ ।
रोग किरा व्यवस्थापन
अनुसन्धानको क्रममा खुमल १२ र खुमल १४ लाइ काठमानड़ोको गोकर्णमा रोप्दा केहि मात्रामा मरुवा रोग लागेको पाइएकोले त्यस ठाउँ वरीपरि यी जातहरु नलगाउनका लागि सिफारिस गरिएको छ । देश भरिका अन्य पहाडी भूभागमा लगाउन सकिन्छ तर मौसमको प्रतिकुलता र ठाउँ विशेषमा मरुवा (ब्लास्ट) रोग लाग्न सक्ने सम्भावना भएकाले व्याड राख्नु अगाडी नै बिउलाइ Bevistin २.५ ग्राम प्रति किलोका दरले उपचार गरेको खण्डमा खेतमा बेर्ना रोपेको ३०–४० दिन सम्म रोगबाट बचाउछ । त्यसपछी हिनोसन (Edifenphos) १.५ एम. एल. वा कासु. बि. (Kasugamycin) २ एम. एल. प्रति लिटर पानीमा वा वीम (Tricyclazole) पाउडर १ ग्राम प्रति लिटर पानीमा मिसाई गाज आउने र पोटाउने बेला सबै बोटमा पर्ने गरि छर्दा मरुवा रोगबाट बचाउन सकिन्छ । जुनसुकै विषादी छर्दा जहिले पानी नपरेको, धानको पातमा शित ओभाएको, हावा नचलेको र पारिलो घाम भएको दिनमा छर्नु पर्छ ।
बाली भित्रयाउने र उत्पादन लिने
खुमल १२ र खुमल १४ जातका धानहरु व्याड राखेको करिब १४० देखि १४५ दिनको अवधिमा पाक्ने गर्छ । यसरी धानको माथिल्लो पातहरु पहेलिन थालेपछि र ८०–९० % दाना पहेलिए पछि धान काट्न सकिन्छ । धान काटेर २ दिन सम्म खेत मै सुकाएमा झार्न सजिलो हुन्छ । पेडल थ्रेसरको प्रयोग गरेको खण्डमा धान झार्न झन् सजिलो हुन्छ । धान झारी सके पछि ३–४ दिन घाममा सुकाउने र केलाएर भण्डारण गर्नुपर्छ । राम्ररी नसुकेको धान भण्डारण गरेमा कुहिने, किरा लाग्ने र चामल टुक्रिने डर हुन्छ । खुमल १२ को सरदार उत्पादन ४७०० किलो प्रति हेक्टर र खुमल १४ को औसत उत्पादन ४८०० किलो प्रति हेक्टर पाइएको छ । अर्थात् खुमल १२ र खुमल १४ ले औसतमा २३५ किलो प्रति रोपनी उत्पादन दिन्छ ।
बीउ व्यवस्थापन
धान स्वसेचित बाली भएको भएको, र खुमल १२ र खुमल १४ धानका उन्नत जातहरु भएकोले बिउ प्राविधिकको सल्लाह लिएर किसानले आफ्नै खेतमा अर्को वर्षको लागि बीउ उत्पादन गर्न सक्छ । यसरी कृषकले आफ्नै खेतबाट उत्पादित धानको बिउ राख्नु पर्दा यी २ तरिकाको प्रयोग गर्न सक्छन ।
१) गार्हो वा प्लोट छनौट गरेर
आफुलाई चाहिने जति बीउ उत्पादन गर्न जहिले पनी प्रमाणित बिउ वा ट्याग भएको बीउ मात्र छान्नुपर्छ। त्यसपछी सम्म परेको, राम्रो मलजल पुगेको, सिंचाई र निकासको व्यवस्था भएको खेत/गार्हो /प्लोट छान्नुपर्छ। खडा बाली छान्दा बोटको उचाई एकनास भएको, बोट अग्लो होचो नभएको र रोग किरा नलागेको गार्हो/प्लोट छनौट गर्नुपर्छ । छानिएका गाह्रो/प्लोटमा देखिएका नाबो वा बेजातीय बोट, रोग वा किरा लागेका बोटहरुलाई हटाउने र बाकी बालीलाई छुटै काट्ने र सुकाउने गर्नुपर्छ ।
२) बाला बल्याएर
यस विधिमा आफुलाई चाहिने जति बीउ प्राप्त हुने गरि स्वस्थ तथा समान बोटका राम्ररी पाकेका सबैभन्दा उत्कृष्ट बाला बल्याएर पनि शुद्ध बीउ उत्पादन गर्न सकिन्छ । यसरी छानिएका उत्कृस्ट बीउ सहितका बालाहरु लाई झारी सकेपछि ३–४ दिन घाममा सुकाई केलाउने । त्यसपछी यी बीउहरु लाई हावा निछिर्ने भाडा जस्तै सीड बिन, भकारी, घयाम्पो अथवा बोरामा राख्नुपर्छ। यसरी धान खेतीबाट राम्रो उत्पादन लिनको लागि हरेक ३–४ वर्षमा बीउ फेर्नु पर्दछ ।
डा. उज्ज्वल कुमार सिंह कुशवाहा, नार्क–राष्ट्रिय वाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र, खुमलटार ललितपुर (उक्त जातहरु लेखक स्वयम यी धानका जात हरु सिफारिस गर्नुभएको हो)