
चितवन, चैत्र २८ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) चितवन, निरन्तर शिक्षा केन्द्रको आयोजनामा एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) र वन हेल्थ प्रवद्र्धन विषयक दुई दिने तालिम सम्पन्न भएको छ ।
विश्वविद्यालयको सभाहलमा बुधबारबाट सुरु भएको तालिम आज समापन गरिएको हो । तालिममा सहभागिहरुलाई पशु स्वास्थ्य, औषधिको सुरक्षित प्रयोग, सरसफाइ, रोग नियन्त्रण र वन हेल्थ अवधारणाबारे व्यवहारिक तालिम प्रदान गरिएको छ ।
निरन्तर शिक्षा केन्द्रका निर्देशक तथा तालिम संयोजक प्रा. डा. ओम प्रकाश सिंहले विश्वविद्यालयको निरन्तर शिक्षाले विश्वविद्यालयका प्राध्यापक, कर्मचारी र आम किसानहरुलाई समय सापेक्ष तालिम प्रदान गर्ने गरेको र त्यसै सिलसिलामा पशुपालक किसानलाई तालिम प्रदान गरिएको बताउनुभयो । उहाँले ५० जना पशुपालक किसानहरुलाई तालिम प्रदान गरिएको बताउनुभयो ।
तालिमका प्रशिक्षक एवम् विश्वविद्यालयका पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक प्रा. डा. सुविर सिंहले पशुपन्क्षी पालनमा एन्टिबायोटिक लगायतका विभिन्न औषधीहरुको अनावश्यक र जथाभावी प्रयोगलाई नियमन र नियन्त्रण गरी सही अवस्थामा मात्र प्रयोग गर्न जागरण अभियानकोरुपमा तालिम प्रदान गरिएको बताउनु भयो । पशुपंक्षी पालक किसानहरुले औषधीको प्रयोग गर्दा चिकित्सकको सल्लाहमा मात्र गर्न उहाँले आग्रह गर्नुभएको छ ।
तालिममा सहभागि किसानहरुले यसअघि साधारण रुपमा लिने गरिएको कुराहरु पनि कति गम्भीर रहेछन् भन्ने कुरा थाहा पाएको बताउनु भएको छ । किसानहरुले अब एन्टिबायोटिक औषधीको प्रयोग गर्दा चिकित्सकको सल्लाहमा मात्र गर्ने र अन्य कृषकलाई पनि त्यही सुझाव दिने बताउनु भएको छ ।
एडिबी, जेनेक्स फाउण्डेशन र सथगुरुको सहयोगमा संचालित तालिमलाई बुधवार विश्वविद्यालयकी उपकुलपति प्रा. डा. शारदा थपलियाले उद्घाटन गर्नुभएको थियो ।