
काठमाडौ, जेठ २२ । धानको बीउ राख्ने बेला आएको छ । धानको बीउ राख्ने मौसम आएसँगै किसानहरू व्यस्त हुन थालेका छन्। धान उत्पादनमा राम्रो अंकुरण र स्वस्थ बिरुवा प्राप्त गर्नका लागि गुणस्तरीय बीउ छनोट गर्नु अत्यावश्यक हुन्छ। निम्न विधि अपनाएर सजिलैसँग राम्रो बीउ छान्न सकिन्छ:
१. नुन पानी तयार गर्ने:
मसिनो धानको बीउका लागि तीन लिटर पानीमा करिब ५०० ग्राम नुन र मोटो धानका लागि ६०० ग्राम नुन राम्ररी घोल्नुहोस्। यो नुन पानी एक बाल्टिनमा तयार गर्नुपर्छ।
२. बीउ छान्ने प्रक्रिया:
तयार गरिएको नुन पानीमा करिब १ किलो धानको बीउ खन्याउनुहोस्। हल्का चलाएर २–३ मिनेटसम्म तैरिन र थिग्रिन दिनुहोस्।
- तैरिएका बीउहरू: कमजोर, हल्का र अंकुरण योग्य नभएका बीउ भएकाले छुट्याउनुहोस्।
- थिग्रिएका बीउहरू: गुणस्तरीय र अंकुरण योग्य बीउ भएकाले यिनलाई छुट्टै राख्नुहोस्।
३. बाँकी बीउ पनि यसरी नै छान्ने:
बीउको मात्रा अनुसार सोही नुन पानी प्रयोग गर्दै बाँकी सबै बीउ यसरी नै छान्न सकिन्छ। धेरै बीउ भएमा नुन पानीको मात्रालाई पनि त्यही अनुपातमा बढाउनुहोस्।
४. सफा गर्ने र सुकाउने:
छानिएका थिग्रिएको बीउलाई सफा पानीले दुई पटक राम्ररी पखाल्नुहोस्। यदि छरुवा धान हो भने सिधै व्याडमा छर्न सकिन्छ।
यदि सोही दिन छर्ने योजना छैन भने बीउलाई पानी सुकाएर सुक्खा ठाउँमा राख्न सकिन्छ।
५. बीउको उपचार:
छानिएको बीउलाई ढुसी रोगबाट जोगाउन वेभिष्टिन वा अन्य उपयुक्त ढुसीनाषक ३ ग्राम प्रति के.जी. को दरले पानीमा मिसाएर सबै बीउ राम्ररी भिज्ने गरी उपचार गर्नुहोस्।
उपचारपछि ३–४ दिनभित्र बीउ व्याडमा राख्न उपयुक्त हुन्छ।