
दाङ, असार १६ । दाङस्थित शान्तिनगर गाउँपालिकाले स्थानीय कृषकहरूद्वारा उत्पादित कृषि उपज संकलन तथा बजारसम्म पुर्याउन सहज बनाउने उद्देश्यले कृषि एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ।
आर्थिक वर्ष २०८२/८३ को बजेटामा समेटिएको यो योजनाअनुसार कृषि एम्बुलेन्सले पालिकाभित्रका विभिन्न वडामा पुगेर तरकारी, फलफूल, दूध, माछा, मासु लगायतका उपभोग्य सामग्री ढुवानी गर्नेछ।
पालिकाका अध्यक्ष प्रमोद बस्नेतले दुर्गम बस्तीका कृषकहरू आफ्नो उत्पादन बजारमा लैजान नसक्दा बिचौलियाको भर पर्नुपर्ने र कहिलेकाहीं त तौल नै नगरी खसीबोका बेच्नुपर्ने बाध्यता आइपर्ने गरेको अवस्थामा यस सेवाले राहत दिने बताउनुभयो।
उहाँले भन्नुभयो, “अब किसानले आफ्ना उपज बजारसम्म लैजान सहज हुने छ, जसबाट आम्दानीमा पनि वृद्धि हुनेछ।” कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि संघीय सरकारसँग साझेदारीमा १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
कृषि एम्बुलेन्स सञ्चालन हुने जानकारीसँगै विकट बस्तीका किसानहरूमा उत्साह देखिएको छ।