
खुमलटार, असार २०। राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठानको आयोजनामा तीन दिने प्रतिस्पर्धात्मक परियोजना प्रस्ताव लेखन तालिम असार १७ देखि १९ गतेसम्म खुमलटारमा सम्पन्न भएको छ।
तालिमको उद्घाटन तथा समापन सत्रमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत पशु तथा मत्स्य अनुसन्धान निर्देशक डा. दोजराज खनाल र राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठानकी निर्देशक डा. नीना अमात्य गोर्खालीको विशेष उपस्थिति रहेको थियो।
उक्त तालिममा त्रिभुवन विश्वविद्यालय सूक्ष्म जीव विज्ञान विभागका सहप्राध्यापक डा. देवराज जोशी, वरिष्ठ कृषि वैज्ञानिक डा. भोजराज जोशी, भोलाशंकर श्रेष्ठ र सुरेश वाग्लेले प्रशिक्षण प्रदान गर्नुभएको थियो।
तालिमको अवसरमा डा. खनालले पशु तथा मत्स्य अनुसन्धानको गुणस्तर वृद्धिका लागि यस्ता तालिमहरू आवश्यक रहेको बताउँदै, यसले प्रतिस्पर्धात्मक अनुसन्धान परियोजना प्रस्ताव (Grant Research Proposal) तयार गर्न महत्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो। साथै, उहाँले विकसित राष्ट्रहरूमा निजी क्षेत्रको संलग्नता र co-financing प्रणालीलाई प्राथमिकता दिइने भए पनि अविकसित राष्ट्रहरूमा दातृ संस्थाको प्राथमिकताअनुसार अनुसन्धान अघि बढाउनु पर्ने चुनौती रहेको उल्लेख गर्नुभयो।
नेपालमा पशु प्रजनन समस्या (infertility) सम्बन्धी अनुसन्धान अत्यावश्यक रहेको औँल्याउँदै, पूर्वी एशियाली राष्ट्रहरूमा बढ्दो bovine मागका कारण नेपालमा सम्बन्धित अनुसन्धान परियोजनाहरू निरन्तर सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता पनि उहाँले व्यक्त गर्नुभयो।
कार्यक्रमको सभापतित्व गर्नु भएकी प्रतिष्ठानकी निर्देशक डा. नीना अमात्य गोर्खालीले तालिमले अनुसन्धानकर्ताहरूलाई Log Frame र Theory of Change जस्ता महत्वपूर्ण पक्षमा केन्द्रित गराउँदै परियोजना प्रस्ताव लेखन तथा प्रस्तुतिकरणमा सीप अभिवृद्धि गरेको बताउनुभयो।
सहभागीहरूको तर्फबाट वरिष्ठ वैज्ञानिक डा. रमेश साहले तालिममा सिकिएका निर्देशनहरू (guidelines) अत्यन्तै व्यवहारिक र उपयोगी रहेको प्रतिक्रिया दिनुभयो।
तालिम अवधिमा वैज्ञानिक त्रय डा. सरोज सापकोटा, डा. पंकज कुमार झा र श्री प्रेम तिमल्सिनाले तयार पार्नुभएको तीन वटा अनुसन्धान परियोजना प्रस्तावहरू प्रस्तुत गरिएको थियो, जसमा: १)Infertility Management २) Bovine Improvement ३) Conservation of Cold-water Fisheries लगायत विषय समेटिएका थिए।
कुल २८ जना सहभागी रहेको तालिममा नार्क अन्तर्गतका अनुसन्धानकर्ताहरू, त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर तहका विद्यार्थीहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठानले यस्ता क्षमता विकासमूलक तालिमहरू आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।