
खुमलटार, असार २२ गते । संरक्षित संरचनासम्बन्धी सरोकारवालाहरुसँग राष्ट्रियस्तरको अन्तरक्रिया कार्यक्रम शुक्रबार खुमलटारमा सम्पन्न भएको छ ।
राष्ट्रिय कृषि इञ्जिनियरिङ अनुसन्धान केन्द्रले आयोजना गरेको उक्त कार्यक्रमको उद्घाटन गर्दै नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा. कृष्णप्रसाद तिम्सिनाले राष्ट्रलाई नै आर्थिक उत्थान गर्ने खालका यस्ता संरचनामा गरिने अनुसन्धानका लागि आवश्यक नीति र योजना तर्जुमा गर्न परिषद् सदा तत्पर रहेको र यस्ता प्रविधिको प्रवर्द्धनमा सबै पक्षको घनिष्ठ सहकार्य आवश्यक रहने हुनाले परिषद् त्यसको लागि तयार रहेको बताउनु भयो ।
राष्ट्रिय कृषि अनुसन्धान केन्द्रका प्रमुख एवम् कार्यक्रमका अध्यक्ष डा. श्रीमत श्रेष्ठले अनुसन्धानले विकास गरेका प्रविधिलाई तोडमोड गरी किसानसम्म पुर्याउँदा समस्या थपिएको बताउँदै साना किसानका लागि थोरै लगानीमा उल्लेखनीय आर्थिक उत्थान गर्न विकास गरिएको प्लाष्टिक घरको संरचना बिगारेर लाखौँलाख लगानी गरी ठूल्ठूला प्लाष्टिक घरको निर्माण गर्दा त्यसभित्र जे रोपेपनि किसानले लगानी उठाउन नसक्ने समस्या आएको बताउनुभयो । उहाँले अनुसन्धानले त्यसको पनि समाधान दिएको तर त्यसको प्रचार हुननसकेको कुरा व्यक्त गर्नुभयो ।
सहभागीहरुले सरकारले यस्तो कार्यक्रम प्रविधि विकास हुनु अघि नै गरेर योजना बनाउनुपर्नेमा देशैभरी जथाभावी प्रविधि विस्तार भएपछि अहिले आएर केन्द्रले ढिलै भए पनि राम्रो शुरुवात गरेको र अब सहकार्यको आवश्यकता रहेको धारणा राखेका थिए ।
प्लाष्टिक हाउस र ग्रीनहाउस प्रविधिको नेपालमा उपयोगिता र त्यसमा आएका समस्या एवम् समाधान बारे वैज्ञानिक डा. शिवकुमार झाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रधानमञ्त्री कृषि आधुनिकीकरण परियोजनाबाट डा. जितबहादुर चन्द, राष्ट्रिय बागवानी अनुसन्धान केन्द्रबाट डा. रञ्जना रावल, राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रबाट डा. रामबहादुर खड्का लगायतले कार्यपत्रहरु प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा परिषद्का योजना तथा समन्वय निर्देशक डा. भानुभक्त पोख्रेल, नार्क र कृषि विभाग अन्तर्गतका विभिन्न कार्यालयका प्रमुखहरु, नीजी क्षेत्रका व्यावसायीहरु, वैज्ञानिक एवम् प्राविधिकहरूको सहभागिता थियो ।