
ललितपुर, असार २३ । हालसम्म देशभर कुल ४१.९ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ।
कृषि विभागअन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको अनुसार असार २२ सम्म कुल १३ लाख ८७ हजार ४१५ हेक्टर धान रोपाइँ योग्य क्षेत्रफलमध्ये ५ लाख ८० हजार ८८६ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको छ। गत वर्षको असार २३ गतेको तथ्यांकको तुलनामा यस वर्षको रोपाइँ अवस्था १.७ प्रतिशतले कम छ।
प्रदेशगत रुपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ८२.८ प्रतिशत (१,४५,९३२ हेक्टर) रोपाइँ सम्पन्न भएको छ। यसपछी क्रमशः कर्णाली प्रदेशमा ७१.७ प्रतिशत, गण्डकीमा ५५.६ प्रतिशत, बागमतीमा ५१.९ प्रतिशत, लुम्बिनीमा ५२.१ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।
तर कोशी प्रदेशमा २९.५ प्रतिशत र मधेश प्रदेशमा सबैभन्दा कम १३.६ प्रतिशत मात्र रोपाइँ भएको देखिएको छ। मधेश प्रदेशको कुल ३ लाख ७६ हजार ३२७ हेक्टर क्षेत्रफलमध्ये जम्मा ५१ हजार २५० हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको हो।