
मौरीको मुख्य प्राकृतिक आहारा पुष्परस र कुट हो, जसले मौरीलाई पोष्टिक तत्वहरु प्रदान गर्नुका साथै मौरीको शारिरीक वृद्धि विकासमा र गोलालाई बलियो बनाई राख्नको लागि ठुलो भुमिका खेलेको हुन्छ । यी पदार्थ मौरीले विभिन्न फुलहरुबाट जम्मा गर्छन् । विशेषगरि मौरी सबै किसिमको फुलमा नगई बढी पुष्परस र कुट भएको फुलमा जाने गर्दछ । जब वातावरणमा प्रर्याप्त मात्रामा पुष्षरस र कुट हुदैन तब मौरीलाई खानाको अभाव हुनवाट बचाउनको लागि कृत्रिम आहारा दिनुपर्दछ । साथै मह काढ्ने सिजनमा समेत सबै चाकाबाट मह नकाटि गोलामा खानाको अभाव नहोस भनेर केहि चाका छाडिदिनु पर्दछ ।
चित्रः १ बार्षिकरुपमा मौरीवाट मह उत्पादन गर्ने र कृत्रिम आहारा खुवाउने समय
कृत्रिम आहारा कहिले दिने ?
मौरीलाई खानाको अभाव भएको अवस्थामा कृत्रिम आहारा दिनुपर्दछ । कृत्रिम आहारामा मुख्यतः चिनी चास्नी र कुट खुवाउने गरिन्छ । विशेषगरी बर्षा र हिउँदको महिनामा मौरीलाई कृत्रिम आहाराको आवश्यकता पर्दछ । मौरीगोला समायोजनका साथै विभाजनको समयमा मौरीलाई कृत्रिम आहारा दिनु आवश्यक हुन्छ । मह काढ्ने सिजन शुरुहुनु भन्दा २-३ हप्ता अघिदेखि कृत्रिम आहारा दिन सकेमा सिजनको शुरुवातमै मौरी गोला बलियो भई मह उत्पादनमा बृद्धि गर्न सकिन्छ । रानु मौरीले बढी भन्दा बढी फुल पार्न, बच्चा हुर्काउन, चाका निर्माण गर्न, भाले नलागेका नयाँ रानुलाई भाले लाग्न उत्प्रेरित गराउन समेत कृत्रिम आहाराको आवश्यकता पर्दछ । मौरीमा रोग तथा किराको संक्रमण देखिएको समयमा मौरी कमजोर हुनबाट बचाउन कृत्रिम आहारा खुवाउनु पर्दछ ।
चिनी चास्नी बनाउने र खुवाउने विधि
चिनी चास्नी तयार गर्दा सबभन्दा पहिला पानी तताउने र सेलाएपछि त्यसमा आवश्यकता अनुसार चिनी हालेर नपगुन्जेल सम्म चलाउने तर चिनी र पानी एकैसाथ उमाल्नु भने हुदैन । हामीसँग भएको सफा पानी पनि प्रयोग गरि चिनी चास्नी बनाउन सकिन्छ । चिनी चास्नी दिने मौसम, प्रकार र उद्धेश्य तल स्पष्ट पारिएको छ ।
तालिका १: चिनी चास्नी खुवाउने मौसम चिनी चास्नीको प्रकार र उद्धेश्य
|
मौसम |
चिनी चास्नीको प्रकार |
उद्धेश्य |
|
सामान्य मौसममा |
१ भाग पानी र १ भाग चिनी |
खानाको लागि र मौरीलाई सक्रिय राख्न |
|
ज्यादै गर्मी र सुख्खा मौसममा |
२ भाग पानी र १ भाग चिनी |
खानाको लागि र मौरीलाई औषधी खुवाउनु परेमा |
|
जाडो मौसममा |
१ भाग पानी र २ भाग चिनी |
खानाको लागि र मौरीलाई सक्रिय राख्न |
चिनी चास्नी प्लाष्टिकको बट्टाबाट दिँदा सजिलो र सुरक्षित हुन्छ । प्लाष्टिकको बट्टाको ढकनमा सियोले स-सानो प्वाल बनाउने र चास्नी हालेर बिर्को राम्ररी लगाउने । मौरीघारको ढकन खोली भित्री ढकनको प्वालमा बट्टालाई बिर्को तल पारेर राख्ने र माथीबाट फ्रेम नभएको महकक्ष राखि ढकन लगाइदिने र बट्टावाट मौरीले चास्नी चुसेर खान्छ । तर हाल बजारमा फिडर उपलव्ध हुने हुँदा चिनी चास्नीलाई मौरीको संख्या हेरि फिडरमा दिन सकिन्छ । एक मजवुत गोलालाई करिव ७०० देखि ८०० ग्राम चिनी चास्नी आवश्यक पर्दछ । मौरी गोलालाई चिनी चास्नी १ हप्तामा १ पटक दिने अथवा लगातार ३ दिन दिएमा १५ दिन सम्म चास्नी दिनु पर्दैन ।
वातावरणमा खानाको अभाव भएको बेलामा मात्र मौरीलाई कृत्रिम आहार दिने अन्यथा मौरी अल्छी बन्छ । चिनी चास्सी तयार गर्दा सधै शुद्ध पानीको प्रयोग गर्ने, चास्नी बेलुकीमा मात्र दिने, चिनी चास्नी दिँदा बलियो गोलावाट शुरु गर्ने र एकै पटक सबै गोलालाई दिने साथै मौरीको संख्या र आवश्यकता अनुसार चिनी चास्नी दिनु पर्दछ ।
क्यान्डी बनाउने र खुवाउने विधि
धुलो चिनी र मह मिसाइ बनाएको लिटोलाई क्यान्डी भनिन्छ । चिनी मसिनो हुनेगरी पिसेर धुलो बनाएपछि आवश्यकता अनुसार मह मिसाएर क्यान्डी तयार गरिन्छ । मह मिसाएर बनाएको क्यान्डी धेरै समयसम्म सड्दैन । एक के. जी. चिनीको क्यान्डी बनाउनको लागि करिव २०० ग्राम मह आवश्यक पर्दछ । यसरी तयार गरिएको क्यान्डीलाई सफा प्लाष्टिकको थैलोमा राखि प्वालहरु पार्ने र घारको चौकोसमाथि वा फिडरमा राखि मौरीलाई खान दिन सकिन्छ । प्रति मौरी गोलालाई करिव ४०० देखि ७०० ग्राम क्यान्डी दिन सकिन्छ ।
कृत्रिम कुट/पराग बनाउने र खुवाउने विधि
पुष्परसको अभावमा चिनी चास्नी र क्यान्डी दिए जस्तै कुटको अभावमा पराग पूर्तिकारक खाना दिन जरुरी हुन्छ । एउटा मौरी गोलाले बर्षमा ३० देखि ५० किलो पराग सँकलन गर्छ । पराग मौरीको छाउरा हुर्काउने बेलामा तथा मौरीको सम्पुर्ण वृद्धि विकासको लागि नभई हुदैन । चिनीको धुलो (५०० ग्राम), चना वा भटमासको पिठो (५०० ग्राम), मह (१०० ग्राम), भिटामीन सी (५० मि.ग्रा) का साथै भिटामीन वी कम्लेक्स (५० मि.ग्रा.) को अनुपातमा मिसाई कृत्रिम कुट तयार गर्न सकिन्छ । यसरी तयार पारिएको कुटलाई रोटी जस्तो बनाएर कागज वा प्लेटमा राखि छाउरा कक्षको चौकोसमा राखि मौरीलाई खुवाउन सकिन्छ ।
|
|
|
|
चना, धुलो चिनी र मह मिसाई कृत्रिम कुट तयार गरिदै |
तयार भएको कृत्रिम कुट कागजमा राखी मौरीलाई खुवाउदै |
लेखक सुजन अंगाई मौरीपालन विकास केन्द्र, चितवनमा कार्यालय प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ ।
