
रामपुर, भदौ १५। कृषिप्रधान मुलुक नेपालमा दुध उत्पादन वृद्धि गर्ने ठूलो सम्भावना गाईभैसीमा निहित छ। तर लामो समयदेखि किसानहरूले भोग्दै आएको चुनौती भनेको उपयुक्त समयमा कृत्रिम गर्भाधान गर्न नसक्नु हो। हीट डिटेक्सनमा त्रुटि, मौन हीट (silent heat), गलत समयमा गर्भाधान र कम गर्भाधान दरका कारण किसानहरूलाई उत्पादनमा हानी हुँदै आएको छ।
यही चुनौती समाधान गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरका प्राध्यापक डा. भूमिनन्द देवकोटा नेतृत्वको अनुसन्धान टोलीले भैसीमा गर्भाधानको उपयुक्त समय निर्धारण गर्ने नयाँ वैज्ञानिक मोडेल विकास गरेको छ। यो अध्ययन अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जर्नल एनिमल रिप्रोडक्शन साइन्समा हालै प्रकाशित समेत भएको छ।
अनुसन्धानले भैसीको र्याल (saliva) मा देखिने सालिभरी फर्न प्याटर्न (Salivary Fern Pattern) लाई मुख्य आधार बनाएको थियो। माइक्रोस्कोपमा परीक्षण गर्दा र्यालमा उनिउ जस्तो आकृति (fern-like structure) देखिन्छ। यो आकृति भैसीको प्रजनन चक्रसँग प्रत्यक्ष सम्बन्धित हुने अनुसन्धानले देखाएको छ ।
उत्कृष्ट श्रेणी; ढिलो पूर्वऋतु र प्रारम्भिक ऋतुको समयमा (गर्भधारणलाई उपयुक्त समय भन्दा अगाडिको फर्न ढाँचा) |
राम्रो श्रेणी; ढिलो ऋतुको समयमा (गर्भधारणलाई उपयुक्त समयको फर्न ढाँचा) |
ठिकै श्रेणी; उत्तरऋतुको समयमा (गर्भधारणलाई उपयुक्त समय पछिको फर्न ढाँचा) |
नराम्रो श्रेणी; उत्तरऋतुको समयमा (गर्भधारणलाई उपयुक्त समय पछिको फर्न ढाँचा) |
रामपुरमा गरिएको अनुसन्धानमा उनिउको पातजस्तो आकृति प्रजनन चक्रको लेट प्रोईस्ट्रस र अर्ली इस्ट्रस (late proestrus and early estrus) अवधिमा स्पष्ट रूपमा देखापरेको अनुसन्धानका संयोजक प्रा.डा. देवकोटाले बताउनुभयो। “करिब १५ घण्टामा यो आकृति अस्पष्ट हुन थाल्ने पाइयो।” उहाँले भन्नुभयो “हाम्रो वैज्ञानिक निष्कर्षअनुसार, यही समयमा कृत्रिम गर्भाधान गर्दा गर्भाधान दर उल्लेख्य रूपमा बढ्ने देखियो।”
दुई चरणको अनुसन्धान : प्रयोगशाला देखी किसानसम्म
यो अध्ययन दुई चरणमा सम्पन्न गरिएको प्रा.डा. देवकोटाले बताउनुभयो । पहिलो चरणमा विश्वविद्यालयको फार्ममा रहेका १२ वटा भैसीमा ओभसिंच (Ovsynch) प्रोटोकल प्रयोग गरी १६८ वटा र्याल नमुना संकलन गरियो। यसबाट र्यालको आकृति, यसको ग्रेडिङ र फ्र्याक्टल डायमेंसन भ्यालु (fractal dimension values) बीचको सम्बन्ध स्पष्ट पारिएको थियो।
दोस्रो चरणमा रामपुर क्षेत्रका ६२ भैसीमा प्राकृतिक हीट अवधिमा कृत्रिम गर्भाधान गरिएको थियो। गर्भाधानपूर्व संकलित र्यालको नमुनाको आधारमा विश्लेषण गर्दा राम्रो ग्रेड भएको अवस्थामा गर्भाधान दर सबैभन्दा उच्च देखियो। यसले कृषक स्तरमा पनि प्रयोग गर्न मिल्ने वैज्ञानिक प्रमाण प्रस्तुत गरेको छ।
अन्तर्राष्ट्रिय स्तरमै पहिलो उपलब्धि
भैसीमा गर्भाधानको उपयुक्त समय निर्धारण गर्न र्यालको प्रयोगलाई वैज्ञानिक रूपमा प्रमाणित गर्नु अन्तर्राष्ट्रिय स्तरमै पहिलो उपलब्धि भएको प्रा. डा. देवकोटाले दावी गर्नुभयो।
“यो प्रविधि सरल, पशुमैत्री गैर-आक्रामक (non-invasive), सस्तो र वैज्ञानिक दृष्ट्रिले भरपर्दो छ।” उहाँले भन्नुभयो “यसले किसानलाई सही समयमा गर्भाधान गर्न मार्गदर्शन गर्नेछ र नेपालमात्र नभइ सम्पूर्ण भैसीपालन हुने मुलुकमा दुध उत्पादन बढाउन ठूलो योगदान पुर्याउनेछ।”
अब कृषक स्तरमा प्रयोग हुने किट विकासको तयारी
अनुसन्धान टोलीले प्रयोगशालामा माइक्रोस्कोपमार्फत परीक्षण गर्ने मोडेल सफलतापूर्वक विकास गरिसकेकोले अब यसलाई किसानसम्म सजिलै पुर्याउने तयारीमा छ। तर त्यो सहज भने छैन। जसका लागी थप अनुसन्धान र विकास आवस्यक पर्छ ।
“हाम्रो उद्देश्य अब यो प्रविधिलाई प्रयोगशालाबाट किसानसम्म पुर्याउने हो।” डा. देवकोटाले भन्नुभयो “परीक्षण गर्ने किट विकास भएपछि पशु स्वास्थ्य प्राविधिक तथा कृत्रिम गर्भाधानकर्ताले उचित समयको निर्धारण गरेर कृत्रिम गर्भाधान गर्न उपयुक्त छ कि छैन भन्ने यकिन गर्न सक्नेछन् । यसले गर्भाधान सफल बनाउन सहयोग गर्नेछ र उत्पादन बढाउन ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ।”
विद्यार्थीदेखि अन्तर्राष्ट्रिय सहयोगसम्म
उक्त अध्ययनमा विश्वविद्यालयका प्राध्यापकहरू मात्र नभई विद्यार्थीहरूको पनि सक्रिय संलग्नता थियो। स्नातकोत्तर तहका विद्यार्थी आशिर्वाद पोखरेलले यस परियोजनामा प्रत्यक्ष रूपमा संलग्न भएर स्नात्तकोत्तर उपाधी समेत हासिल गरेको बताउनुभयो।
अनुसन्धान टोलीमा गोकर्ण गौतम, शत्रुघन शाह, कपिल देव यादव, मोराड रेकिक, डेका राम प्रतिम, पद्मकुमार वरिजाक्षपनिकर लगायतका अनुसन्धानकर्ता सहभागी थिए।
अनुसन्धानमा इन्टरनेशनल लाइभस्टक रिसर्च इन्स्टिच्यूट, यूएसएआईडी नेपाल हायर एजुकेशन प्रोजेक्ट, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, हेटौंडा प्रमुख सहयोगी संस्था रहेको विश्वविद्यालयले जनाएको छ।
कृषि क्षेत्रका लागि नयाँ आयाम
नेपालमा गाईभैसीमा कृत्रिम गर्भाधानको दर बढ्दै गइरहे पनि सही समयमा गर्भाधान गर्न नसक्दा गर्भाधान असफल हुने र दुध उत्पादनमा प्रत्यक्ष असर पर्ने गरेको तथ्य प्रष्ट छ। यस मोडेलको प्रयोगले कृत्रिम गर्भाधानमा सफलता दर बढाउने, मौन हीट (silent heat) सजिलै पत्ता लगाउने, किसानलाई सजिलो, सस्तो र भरपर्दो विधि उपलब्ध गराउने, अन्ततः दुध उत्पादन बढाउन र किसानको आयस्तर सुधार गर्न ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।
भैसी नेपालको ग्रामीण अर्थतन्त्रको मेरुदण्ड हो। यस अनुसन्धानले नेपाली वैज्ञानिकले विकास गरेको मोडेल विश्वस्तरमा स्वीकृत भएको मात्र होइन, कृषि अनुसन्धानमा नेपालले देखाएको नवीनतम योगदान पनि हो।