
कृषि विषय पढेका प्राविधिक विज्ञ नै कृषिमन्त्री हुनुपर्छ भन्ने छैन। प्राविधिक व्यक्ति कृषिमन्त्री हुनुहुन्न भन्ने पनि छैन। कृषि सम्बन्धी मुद्दा जटिल र बहुआयामिक छन्। कृषि विज्ञान हो, तर विज्ञान मात्र होइन।
हाम्रो देशको विशिष्ट खाद्य प्रणाली (food system) र त्यसलाई प्रभाव पार्ने विश्वव्यापी तथा क्षेत्रीय अवयवहरूको जटिल गाँठा नबुझी नेपालको कृषि क्षेत्रलाई सुधार गर्ने उपाय खोज्न सकिँदैन।
खाना, जीविकोपार्जन तथा रोजगारी, वातावरण तथा जलवायु, अर्थतन्त्रको स्वरूप, गैर–कृषि क्षेत्रको विकासको प्रवृत्ति, बसाइँसराइ, अन्तर्राष्ट्रिय रोजगारीका अवसर र सीमितता, नयाँ पुस्ताको अभिमुखीकरण लगायतका विविध आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, सामरिक पक्षसँग नेपालको कृषि क्षेत्र प्रत्यक्ष जोडिएको छ।
एउटा व्यक्तिमा यी सबै पक्षबारे विस्तृत ज्ञान नहुन सक्छ। तर यी पक्षहरू कृषि विकासका लागि महत्वपूर्ण छन् भन्ने समझ भने कृषिमन्त्री हुन योग्य व्यक्तिमा हुनैपर्छ। यसको अर्थ, उत्तर थाहा नभए पनि सही प्रश्नहरू थाहा हुने व्यक्तिले मात्र समस्या समाधान गर्न सक्छ। सही प्रश्न बोक्ने व्यक्तिले मन्त्रालय सञ्चालन गर्दा कुन विज्ञलाई टिममा राख्ने, कस्तो टिम बनाउने भन्नेबारे स्पष्ट हुन्छ र कृषि क्षेत्रका जटिलतालाई क्रमशः फुकाउँदै सुधार गर्न सक्छ।
अहिलको ६ महिनाका लागि नियुक्त कृषिमन्त्रीले धेरै सुधार गर्न सक्दैनन्। तर उसको मुख्य काम भनेको तात्कालिक समस्या समाधान गर्दै दीर्घकालीन सुधारका आधार तयार गर्नु हो। त्यसैले कृषिमा लामो समय जागिर खाएको विज्ञ, लामो समय कृषि व्यवसाय गरेको वा खेती किसानीमा लामो अनुभव भएको व्यक्ति मात्रै कृषिमन्त्रीका लागि योग्य हुन्छन् भन्न सकिन्न।
६ महिनामा नै कसैले ठूलो सुधार ल्याउने अपेक्षा गर्न सकिँदैन। तर, यदि आम नागरिकले “हामीले खोजेको कृषिमन्त्री भनेको यस्तै हुनुपर्छ” भन्ने योग्यताको मापदण्ड तय गर्न सके, चुनावपछि आउने सरकारका लागि त्यो एउटा नैतिक दायित्व र समाजमा डेमोन्स्ट्रेशन इफेक्ट बन्न सक्छ।
डा. प्रदीपचन्द्र भट्टराइ कृषि क्षेत्रका नीति विश्लेषक हुनुहुन्छ ।
