logoशनिबार, २९ कार्तिक २०८२

नेपालमा रैथाने बिउबिजनको संरक्षण कसरी भइरहेको छ?

Author
Loading...
विचार ब्लग

0

Shares

नेपालमा रैथाने बिउबिजनको संरक्षण कसरी भइरहेको छ?
Uploaded image

जैविक विविधता भन्नाले आकाशीय,स्थलीय,जलीय, सामुद्रिक र अन्य क्षेत्रमा रहेको जीवजन्तुहरुको पारिस्थितिक प्रणाली, त्यसको भागको रुपमा रहेको जीव र वनस्पतिको सम्बन्ध तथा विविधतालाई बुझाउदछ । जसले विशेष गरेर प्रजातीय विविधता, आनुवंशिक विविधता र पारिस्थितिक प्रणालीको विविधता समेतलाई जनाउदछ भने कृषि जैविक विविधताले कृषिजन्य पारिस्थितिक प्रणाली, प्रजातीय विविधता तथा वंशाणूगत विविधतामा समाहित खाद्य र कृषिका आनुवंशिक श्रोतहरुलाई समेट्ने गर्दछ । कृषि जैविक विविधता अन्तर्गत छ वटा सम्भाग (बाली, घाँसे बाली, पशुपंक्षी, जलीय, किट जन्य र सुक्ष्म जीवाणु) र ४ वटा उपसंभाग (घरपालुवा, अर्ध जंगली, जंगली नातेदार र जंगली खान योग्य प्रजाति) पर्दछन ।

हालको परिप्रेक्ष्य हेर्ने हो भने विश्वमा ७५% भन्दा बढी जैविक विविधता पुन प्राप्त गर्न नसक्ने गरि हराईसकेको र नेपालबाट पनि करिव ४०% कृषि जैविक विविधता ह्रास भएको बिभिन्न प्रतिवेदनले देखाएको छ। कृषि जैविक विविधता ह्रा हुनुका मुख्य कारणहरुमा सन् १९६० को दशकको भएको हरितक्रान्ति, आधुनिक कृषि प्रणाली तथा विकासे बिउबिजनको अत्यधिक रुपमा प्रयोग, अन्तराष्ट्रिय खाद्यान्न ब्यापार, जलवायु परिवर्तन, असन्तुलित रासायनिक मल तथा विषादीको प्रयोग आदि पर्दछन। एउटा मात्र जात अर्थात् बिउबिजनमा भरपर्दा कुनै समयमा शुन्य उत्पादन भै विश्वका विभिन्न देशहरुमा भोकमरी लागेको विभिन्न उदाहरणहरु रहेका छन।

साघुंरो आनुवंशिक आधार भएका उन्नत जातहरुले भन्दा फराकिलो आनुवंशिक आधार भएका स्थानीय जातहरुले सिमान्त जग्गा र प्रतिकुल अवस्थामा पनि उत्पादन दिन्छन तर कहिल्यै पनि शुन्य उत्पादन हुदैन। उन्नत जात विकासको लागि कच्चा पदार्थ वा जीनको श्रोत भनेको रैथाने जात अर्थात् बिउबिजन नै हुन् । नोरिन–१०, (Norin-10), डी–जियो–व–ज(Dee-geo-woo-gen) र सव १ (sub-1) जीनको श्रोत स्थानिय जातहरु नै हुन्। रैथाने तथा स्थानीय बिउबिजनको संरक्षण गर्ने मुख्य उदेश्यका साथ नेपाल कृषि अनुसन्धान परिषदले २०४३ सालमा खुमलटारमा मध्यमकालिन पर-स्थानीय संरक्षण कक्ष स्थापना गरेको थियो ।

जैविक विविधता महासन्धि तथा खाद्य तथा कृषिका लागि वानस्पतिक आनुवंशिक स्रोतहरु सम्बन्धि अन्तराष्ट्रिय महासन्धिको कार्यन्वयनको लागि नेपाल सरकारले २०६७ सालमा नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तर्गत रहने गरि राष्ट्रिय कृषि आनुवंशिक श्रोत केन्द्रको स्थापना गरेको थियो जसलाई राष्ट्रिय जीनबैंक/नेपाल जीन बैंक पनि भनेर चिनिन्छ

राष्ट्रिय जीनबैंकले सर्वप्रथम देशका विभिन्न ठाउँहरुबाट रैथाने तथा स्थानीय बीउबिजनको खोज तथा संकलन गर्ने गर्दछ। संकलन गरिएका आनुवंशिक स्रोतहरुको उमारशक्ति ८५ प्रतिशत वा सो भन्दा माथि भएका बीउबिजनको प्रतिवेदन तयार गरि संरक्षणको लागी अगाडी बढाइन्छ भने उमारशक्ति नपुगेका वीउहरुलाई मौसमानुसार पुनारोत्पादन प्रकृयामा लगिन्छ। सुकाएर संरक्षण गर्न सकिने अर्थात् अर्थोडक्स बीउबिजनको लागि बीउ सुकाउने विशेष कोठामा राखी चिस्यान घटाउने काम गरिन्छ। हालसम्म यस राष्ट्रिय जीन बैंकमा विभिन्न ३३५ बालीका ११,००० भन्दा बढी परिग्रहरणहरु संरक्षणमा राखिएको छ भने विश्वका विभिन्न जीनबैंकहरुमा कुल २५,९२७ परिग्रहणहरु सुरक्षित राखिएको छ।

हालसम्म विभिन्न बालीका ११,२५० परिग्रहणहरु अनुसन्धानकर्ता, कृषक तथा अन्य सरोकारवालाहरुलाई वितरण गरिएको छ। त्यसको साथै समुदायस्तरमा हाल नेपालमा ४६ वटा सामुदायिक बिउ बैंक, ३० वटा फिल्ड जिनबैंक, २ वटा सामुदायिक जीनबैंक, ७ वटा कृषि किरा फिल्ड जीनबैंक,१५ वटा स्कुल फिल्ड जीनबैंक र थुप्रै घरायसी जीनबैंक संचालनमा छन । जसले कृषि जैविक विविधताको संरक्षण र उपयोगमा महत्त्वपूर्ण भूमिका खेलिरहेका छन। त्यसको अलावा राष्ट्रिय जीनबैंक र अन्य सरोकारवालाहरुको प्राविधिक सहयोग र कृषक समूह/सामुदायिक बीउबैंकको अग्रसरतामा हालसम्म देशका विभिन्न स्थानबाट ९ बालिका २५ जातहरु बिउबिजन समितिमा पंजीकरण विधिबाट सूचीकृत गरिएको छ।

Uploaded image

चित्र : संकलन तथा संरक्षण  गरिएको सिमिको बीउमा देखिएको विविधता

नेपालको खाद्य सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने तथा कृषिको आधारको रुपमा रहेको  रैथाने बीउबिजन क्रमिक रुपमा लोप हुदै गैरहेको अहिलेको परिस्थितिमा तीनै तहको सरकारले नै आ-आफ्नो ठाउँबाट रैथाने बीउबिजन लगाएत सम्पूर्ण कृषि जैविक विविधतालाई संरक्षण तथा प्रवर्धन गर्न ठोस कदम चाल्नुपर्ने देखिन्छ

हरेक वर्ष असोज २१ गते राष्ट्रिय जिनबैंक दिवस मनाउने गरिन्छ । यस वर्ष पन्ध्रौ राष्ट्रिय जिनबैंक दिवस रैथाने कृषिको विषयमा पत्रकारहरुसँग अन्तरक्रिया लगायतका कार्यक्रम गरि मनाइदैछ।

प्रदिप थापा, बाली प्रजनक, राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र, खुमलटार, ललितपु

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave