
नेपाल जैविक विविधताको दृष्टिले अत्यन्त समृद्ध देश हो। हिमाल, पहाड र तराईसम्म फैलिएको भौगोलिक विविधताले यहाँका किसानहरूले शदियौंदेखि आफ्नै अनुभव र ज्ञानको भरमा हजारौं परम्परागत बीउ जातहरूको विकास र संरक्षण गर्दै आएका छन्। यही विविधताले नेपाललाई "कृषि जैविक विविधताको केन्द्र" को रूपमा चिनाउने बनाएको हो। तर पछिल्ला दशकहरूमा ती मौलिक बीउ जातहरू क्रमशः हराउँदै गइरहेका छन्। यो संकट केवल बीउको नभई हाम्रो कृषि परम्परा, खानपान संस्कार, र गाउँघरको आत्मनिर्भर जीवनशैलीको संकट पनि हो।
नेपालमा क्षेत्र विशेष विभिन्न बालीका जातहरु प्रचलित छन । जुम्लाको मार्सी धान चिसो-सहनशीलताका लागि प्रसिद्ध थियो। पोखरा र चितवनका जेठोबुढो र मन्सुली सुगन्धित र स्वादिलो धानका लागि चर्चित थिए। त्यस्तै, मुस्ताङको कालो मार्सी, काभ्रेको सेतो गुराँस, स्याङ्जाको साथिया जस्ता स्थानीय जातहरूले कृषि पहिचान निर्माण गरेका थिए। ती अन्नले मात्र पेट भरिँदैनथ्यो, संस्कृतिको आधार पनि थियो। तर आधुनिक हाइब्रिड बीउले बजार कब्जा गरेसँगै अहिले यी बीउहरू किसानका भण्डारबाट हराउँदैछन् ।
चिनो, कागुनो, कोदो जस्ता सुक्खा सहनशील अनाजहरू हिमाली र मध्यपहाडी जीवनको मेरुदण्ड थिए, तर आज तिनीहरू ‘गरिबको खाना’ भनेर बेवास्ता गरिन्छ। दलहनका झिनुवा मसु दाल, मस्याङ, ठूलो सिमी, र रातो रहर जस्ता जातहरू पनि बिरलै खेतमा देखिन्छन्। राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैङ्क) का अनुसार नेपालले पछिल्ला वर्षहरूमा धान, मकै र गहुँका ५०–६०% स्थानीय जातहरू सक्रिय खेतीबाट हराइसकेका छन। किन हराउँदै छन् यी बीउहरू? बीउ जातहरु हराउनुको पछाडि धेरै परस्पर सम्बन्धित कारणहरू छन्।
हाइब्रिड बीउ प्रयोग र रासायनिक कृषि प्रवृत्ति
आधुनिक हाइब्रिड बीउहरू छोटो अवधिमा उच्च उत्पादन दिन सक्छन्, तर ती बीउले किसानलाई मल, रासायनिक विषादी, र सिँचाइमा अत्यधिक निर्भर बनाउँछन्। यो प्रणाली लामो समयसम्म टिक्दैन र साना किसानहरूको आर्थिक स्थायित्वलाई कमजोर बनाउँछ।
बजारमुखी कृषि प्रणाली
आजभोली व्यवसायिक कृषि फष्टाउँदै गएसँगै किसानहरू नगदे बाली; टमाटर, काउली, हाइब्रिड मकै, आलु, तर्फ आकर्षित हुँदै गएका छन्। जसले गर्दा परम्परागत बाली र तीनका जातहरु जसले स्थानीय कृषि प्रणालीलाइ दिगो बनाउन सघाएको भएतापनि आर्थिक रूपमा तुलनात्मक रुपमा कम लाभदायी देखिएकाले छोडिँदै गएका छन्।
खानपान र जीवनशैलीमा परिवर्तन
सहरीकरण र फास्ट फूड संस्कृतिले परम्परागत अन्न, दलहन र कोदो-कागुनो जस्ता बालीहरूको माग घटाएको छ। युवापुस्ता शहर केन्द्रित हुँदा गाउँको स्थानीय बीउ प्रणाली चलायमान हुन र रैथाने ज्ञान हस्तान्तरण हुन छाडेको छ।
जलवायु परिवर्तन र वातावरणीय अस्थिरता
अनियमित वर्षा, सुख्खा, असिनापानी र तापक्रम वृद्धिले धेरै पुराना बीउहरू नष्ट हुँदै गएका छन्। उदाहरणका लागि, जुम्लाको मार्सी धान पहिले चिसो सहनशील थियो, तर अहिले बढ्दो तापक्रम र पानीको अनियमितताले यसको उत्पादन घटाएको छ।
परम्परागत बीउहरूको जैविक, पौष्टिक र सांस्कृतिक महत्व:
हरेक गाउँको पुरानो धान, कागुनो, कोदो र दलहनले बुनेको हाम्रो कृषि र सांस्कृतिक पहिचान अत्यन्तै अमूल्य छ। यी मौलिक बीउहरूले केवल खेतहरू मात्र होइन, किसानहरूको पुस्तौंको अनुभव, ज्ञान र स्थानीय परम्परागत जीवनशैलीलाई पनि सजीव राख्छन्। जब यी बीउहरू हराउँछन्, तब हाम्रो माटोको आत्मा, पहाड र तराईको जीवनशक्ति, र हाम्रो भविष्यको खाद्य सुरक्षा पनि संकटमा पर्छ।
परम्परागत बीउहरू केवल खाद्य स्रोत होइनन्। यी हाम्रो जीवनशैलीका प्रतीक हुन्। प्रत्येक बीउसँग एउटा कथा, परम्परा, र संस्कृति गाँसिएको छ। उदाहरणका लागि, कागुनो र चिनो जस्ता बालीहरू विगतमा पर्वतीय समाजमा तीज, नेवार भोज, र चाडपर्वमा अनिवार्य हुने गर्थे। आज ती बीउहरू हराउँदा त्यो संस्कृतिको स्वाद पनि हराउँदैछ। यी बीउहरूले हाम्रो स्वास्थ्य र पोषण प्रणालीलाई पनि मजबुत बनाउँछन्। नेपालमा अहिले कुपोषण, मधुमेह, मोटोपन र पेटसम्बन्धी रोगहरू बढ्दै गएका छन् जुन परम्परागत अन्नको कमी र एकरूप खानपानसँग पनि जोडिएको छ।
वैज्ञानिक दृष्टिले हेर्दा, यी परम्परागत बीउमा उच्च आनुवंशिक विविधता हुन्छ जसले जैविक विविधता कायम राख्ने, माटो सुधार्ने, र कीट–रोग प्रतिरोधात्मक क्षमता बढाउने कार्य गर्छन्। यी बीउहरू भविष्यमा जलवायु अनुकूलनका लागि अमूल्य स्रोत हुन् - जुन हाइब्रिड बीउहरूले परिपुर्ति गर्न सक्दैनन ।
आधुनिक हाइब्रिड बीउ र बजारमुखी खेतीको दबाबले पुराना जातहरूलाई प्रतिस्थापन गर्दै गर्दा हामी आफ्नो जैविक विविधता र सांस्कृतिक धरोहर गुमाउँदै छौँ। नेपालको परम्परागत बीउहरूको संरक्षण गर्नु केवल संरक्षणको काम होइन, यो हाम्रो दिगो भविष्यमा लगानी र जिम्मेवारी पनि हो।
बीउ संरक्षणका प्रयासहरू:
संकट गहिरिँदै जाँदा आशाका किरण पनि देखिएका छन्। सुदूरपश्चिमदेखि पूर्व नेपालसम्म हाल विभिन्न संस्थागत र सामुदायिक स्तरमा बीउ संरक्षणका पहलहरू भइरहेका छन्। सरकारी तहमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र मातहतका निकायसंगको सहकार्यमा बीउ मेला, अर्गानिक खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै आएका छन्। जीन बैङ्कले ले १३,००० भन्दा बढी परम्परागत बालीका आनुवंशिक नमूना (accessions) सुरक्षित गरेको छ। यसका साथै सामुदायिक बीउ बैङ्कहरूले पनि स्थानीय रैथाने बालीको संरक्षणमा भुमिका खेलिरहेका छन । बारा, कास्की, सिन्धुली, र इलाम लगायतका जिल्लाहरुमा स्थानीय किसानहरूबीच बीउको आदानप्रदान र पुनर्जीवनमा महत्वपूर्ण योगदान दिइरहेका छन्। लि बर्ड, बायोडाइभर्सिटी इन्टरनेसनल जस्ता गैरसरकारी संस्थाहरुले पनि स्थानीय बाली र जातको संरक्षण र प्रवर्दनका लागी काम गरिरहेका छन ।
कृषि जैविक विविधता मेला मेला, कागुनो महोत्सव, धान दिवस जस्ता सांस्कृतिक अभियानहरूले परम्परागत बीउको सामाजिक मूल्य पुनर्जीवन गर्न खोजिरहेका छन्। विशेषगरी महिलाहरू बीउ संरक्षणमा अग्रपंक्तिमा छन्। घरायसी बाली, सानो बारी, र स्थानीय परिकारसँग जोडिएकाले उनीहरू नै रैथाने बाली तथा बीउको ज्ञानका स्रोत हुन । यद्यपि विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म स्थानीय बीउ संरक्षण र प्रवर्दन, सो सम्बन्धी अध्ययन र अनुसन्धान समावेश गर्नु पनि आजको आवश्यकता हो।
भविष्यको दिशा:
नेपाल सरकारले २०८० सालमा जारी गरेको बीउ ऐन र बीउ नीतिहरूमा स्थानीय जातको दर्ता, पुन: प्रयोग, र सामुदायिक बीउ बैंकलाई प्रोत्साहन गर्ने प्रावधान छ। तर नीतिको प्रभावकारिता स्थानीय तहसम्म पुग्न सकेको छैन। नीति केवल कागजमा होइन, किसानको हातसम्म पुग्न आवश्यक छ। सहभागितामूलक बाली प्रजनन (Participatory Plant Breeding), जलवायु सहनशील स्थानीय जातहरू (Climate-Resilient Landraces) र पर्यावरणीय कृषि (Agroecological Farming) जस्ता अवधारणाहरूलाई व्यवहारमा उतार्न जरुरी छ। यसरी मात्र स्थानीय बीउ संरक्षण र खाद्य सार्वभौमिकता सुनिश्चित गर्न सकिन्छ।
विश्वका धेरै देशहरू अहिले पुनःस्थापना गरिएका स्थानीय बीउहरूतर्फ फर्किरहेका छन्। भारतको Navdanya movement, भूटानको 100% Organic Policy, र अफ्रिकामा Farmers’ Seed Sovereignty Campaign जस्ता आन्दोलनहरूले देखाएका छन् कि आत्मनिर्भर बीउ नै भविष्यको बाटो हो। विदेशबाट आयातित हाइब्रिड बीउमा निर्भर रहँदा, हाम्रो बीउ सार्वभौमिकता कमजोर हुँदै गएको हालको अवस्थामा सरकारले स्थानीय बीउमा उचित अनुसन्धान, बजार प्रवर्द्धन, र किसानलाई प्रोत्साहन दिने नीति ल्यायो भने नेपाल दक्षिण एसियाको “परम्परागत बीउ सम्पदाको केन्द्र बन्न सक्छ। अतः समयमै कदम चाल्नु अनिवार्य छ। त्यसका लागी निम्म कदमहरु चाल्न सकिन्छ
1. विद्यालयदेखि विश्वविद्यालयसम्म स्थानीय बीउ र कृषि जैविक विविधता विषयलाई पाठ्यक्रममा समावेश गर्नुपर्छ।
2. हरेक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न आवश्यक छ।
3. किसानलाई बीउ दर्ता, ब्रान्डिङ, र वजारिकरण सम्बन्धी तालिम र अनुदानका कार्यक्रमलाइ प्रभावकारी बनाउनुपर्छ।
4. कृषि क्षेत्रमा संलग्न युवा उद्यमीलाई परम्परागत बीउको मूल्य श्रृंखला र प्राङ्गारिक उत्पादनमा आकर्षित गर्नुपर्छ।
5. मिडिया र ब्लगहरूमार्फत हाम्रा बीउ बचाऔँ अभियान चलाउन सकिन्छ जसमा किसानका कथा, बीउका इतिहास, र नयाँ अनुसन्धानलाई प्रचार गर्न सकिन्छ।
नेपालका परम्परागत बीउ जातहरूको हरावट केवल जैविक संकट होइन, यो हाम्रो संस्कृति, पहिचान, र आत्मनिर्भरताको संकट हो। हाम्रो बुबा–बाजेको पसीनाले सिँचिएको माटोबाट विकसित गरेका यी बीउहरू हाम्रो देशको अमुल्य सम्पदा हुन्। त्यसैले तीनको संरक्षण गर्नु हाम्रो दायित्व हो । बीउ जोगाउनु केवल अतीतको सम्झना होइन; यो भविष्यप्रति जिम्मेवारी हो, दिगो कृषि, आत्मनिर्भरता, र जलवायु न्यायको जग हो।
स्मृति भण्डारी, विद्यार्थी, स्नातक तह (कृषि) कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवन ।
