
मकवानपुर, कार्तिक २१, । कृषि मन्त्री डा. मदन परियारले दुग्ध किसानको बक्यौता रकम तत्काल भुक्तानी गर्न दुग्ध विकास संस्थानलाइ निर्देशन दिनुभएको छ।
शुक्रबार दुग्ध विकास संस्थान अन्तर्गतको हेटौडा दुग्ध वितरण आयोजना अवलोकनको क्रममा उक्त निर्देशन दिनुभएको हो । साथै बजार व्यवस्था सुदृढ गर्न तथा दुग्ध विकास संस्थानका कर्मचारीले व्यक्तिगत स्वार्थमा नलागि संस्थालाई जीवन्त तुल्याउन लाग्नुपर्नेमा पनि उहाँको जोड थियो।
अवलोकनका क्रममा संस्थानका महाप्रबन्धक संजिव झा र हेटौडा आयोजनाका प्रमुख अन्जन अधिकारीले आयोजनाको वर्तमान अवस्था, उत्पादन तथा बजार व्यवस्थापन सम्बन्धी जानकारी गराउनुभएको थियो।
आयोजनाबाट मकवानपुर, बारा, रौतहट र सर्लाही जिल्लाबाट दूध संकलन गरी हेटौडा, नारायणगढ, वीरगंज, काठमाडौं उपत्यका, गोरखा र तनहुँ क्षेत्रमा प्रशोधित दूध तथा अन्य दुग्ध उत्पादनहरूको आपूर्ति हुँदै आएको छ।
मुख्य उत्पादनहरूमा स्ट्याण्डर्ड र होल दूध, दही, फ्रेश मिल्क, मिठाई र आइसक्रिम रहेका छन्। आयोजनाले फ्लस सिजनमा दैनिक औसत १५–२० हजार लिटर र लीन सिजनमा ६–१० हजार लिटर दूध संकलन गर्ने गरेको छ। दैनिक औसत खपत ३५००–४५०० लिटर रहेकोमा त्यसमा प्रशोधित दूध २५०० लिटर, दही १००० लिटर, घ्यू ६०० लिटर र पनिर तथा अन्य दुग्ध पदार्थ ५००–१००० लिटर सम्म रहेको छ।
हाल आयोजनाको दैनिक होल्डिङ क्षमता २५ हजार लिटर रहेको छ। संस्थानले वार्षिक झण्डै ३२ करोड रुपैयाँ बराबरको कच्चा दूध खरिद गरी सो रकम सिधै किसानलाई भुक्तानी दिँदै आएको छ, जसले ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याएको छ।
हेटौडा आयोजना काठमाडौं दुग्ध वितरण आयोजनाको फिडर डेरीका रूपमा पनि कार्यरत छ। साथै, बागमती प्रदेश सरकारको सहयोगमा सञ्चालनमा आएको धुलो दूध कारखानाबाट खपतभन्दा बढी दूधलाई धुलो दूध र मखनमा रूपान्तरण गरी बजारलाई स्थिर राख्ने कार्य हुँदै आएको छ। हालसम्म उक्त कारखानाबाट ४०० मेट्रिक टन धुलो दूध र २०० मेट्रिक टन मखन उत्पादन गरी करिब ४४ लाख लिटर कच्चा दूधको व्यवस्थापन गरिएको छ।
