
काठमाडौं, मंसिर ६ । खाद्य व्यवस्था तथा गुणस्तर विभागले बुढानिलाकण्ठ–५ स्थित बुढानिलाकण्ठ स्कूलको चमेना गृह (क्यान्टिन) मा गरेको अनुगमन क्रममा विभिन्न अनियमितता फेला परेका छन्। विभागले विहिबार जारी गरेको प्रेस नोटअनुसार क्यान्टिनमा खाद्य स्वच्छता, भण्डारण र सरसफाइसम्बन्धी गम्भीर त्रुटिहरू भेटिएका हुन्।
विभागका अधिकारीहरुले निरीक्षण गर्दा कृतिम रंगको लेबलविहीन डब्बा, रंगको गलत प्रयोग, डस्टबिनहरू खुला र फोहोर अवस्थामा, शौचालयको ढोका सिधै किचनतर्फ खुल्ने, तयारी खाद्य पदार्थ बिना छोप खुला राखिएको जस्ता कमजोरीहरू भेट्टाएको विभागका प्रवक्ता डा. बाल कुमारी शर्माले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा ७५ ग्रामका म्याद नाघेका ३९ वटा बिस्कुटका प्याकेट समेत भेटिएकाले तत्काल नष्ट गरिएको विभागले जनाएको छ। साथै, स्टोर कक्ष अव्यवस्थित रहेको पाइएको छ।
विभागले क्यान्टिनलाई कैफियतमा उल्लेखित सबै त्रुटि तात्तातै सुधार गर्न निर्देशन दिएको छ। पकाएर खाने खाद्य पदार्थमा कृतिम रंग प्रयोग नगर्न, बफेट सिस्टममा तापक्रम नियन्त्रणको व्यवस्था मिलाउन तथा भाँडा–वर्तन धुने स्थानलाई किचन क्षेत्रबाट छुट्याउन आदेश दिएको छ।
खाद्य सुरक्षा सुनिश्चित गर्न विभागले यस्ता अनुगमन गतिविधि निरन्तर जारी रहने जनाएको छ।
