
काठमाडौँ, पुस ७ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पुस ५ गते काठमाडौं उपत्यकाभित्रका विभिन्न खाद्य उद्योग तथा व्यवसायहरूको निरीक्षण–अनुगमन गरेको छ। विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम अनुगमन गर्दा चन्द्रागिरी–१२ स्थित महालक्ष्मी दालमोठ उद्योगमा गम्भीर प्रकारका त्रुटि भेटिएपछि तत्काल कारबाही गरेको जनाएको छ।
विभागका अनुसार उद्योगको बाह्य तथा आन्तरिक सरसफाइ अत्यन्तै कमजोर पाइएको छ। भुइँ, भित्तादेखि छानासम्म फोहोर तथा खुला अवस्थामा रहेको, कामदारहरूको व्यक्तिगत सरसफाइ नरोकेको, भण्डारण प्रणाली अव्यवस्थित रहेको, किट नियन्त्रण व्यवस्था कमजोर रहेको जस्ता अनियमितता भेटिएको विभागले जनाएको छ।
अनुगमनका क्रममा उद्योग परिसरमै अजन्ता ब्रान्डको फुड कलर फेला परेको र दालमोठ फ्राई गर्नु पूर्व नै त्यसको प्रयोग गर्ने गरेको पनि भेटिएको विभागले जनाएको छ।
यी गम्भीर त्रुटिहरूका आधारमा विभागले उद्योगभित्र रहेको १०२ बोरा दालमोठ (२५ पाकेट × ६०० ग्राम) अर्को व्यवस्था नभएसम्म उद्योगकै जिम्मामा राखी स्टक रोक्का गरेको छ। साथै, अर्को आदेश नभएसम्म उक्त उद्योगबाट उत्पादन तथा बिक्री–वितरण पूर्णरूपमा बन्द गरिएको छ।
यसबाहेक उद्योगलाई तीन दिनभित्र आवश्यक कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिइएको विभागका प्रवक्ता डा. बाल कुमारी शर्माले जानकारी दिनुभयो।
विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न यस्ता अनुगमन गतिविधि नियमित रूपमा जारी रहने जनाएको छ।
