
ललितपुर, मंसिर १६ । राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान खुमलटारमा असला संरक्षणका लागि बासस्थान नक्सांकन र मापन (Integrated Habitat Mapping and Ecological Characterization for Sustainable Conservation of Snow Trout (Schizothorax spp.) शीर्षकको अभिमुखीकरण कार्यक्रम सम्पन भएको छ।
आइतबार सम्पन्न कार्यक्रममा प्रतिष्ठानका निर्देशक डा. नीना अमात्य गोरखालीले समन्वयात्मक परियोजना मार्फत नदी प्रणालीमा असलाको वास्तविक वासस्थान, प्रजनन क्षेत्र, जोखिम बिन्दु र प्राथमिक संरक्षण क्षेत्र स्पष्ट बनाउन मद्दत गर्ने बताउनुभयो।
नार्कका पूर्व कार्यकारी निर्देशक टेक बहादुर गुरुङले नेपालका असला प्रजाति संरक्षणमा संस्थागत समन्वय, प्राविधिक अध्ययन र समुदाय सहभागिता अपरिहार्य रहेको र यस परियोजनाले त्यस दृष्टिकोणमा अनुसन्धान कमिलाई परिपुर्ती गर्दै कोशेढुंगा साबित हुने उल्लेख गर्नुभयो ।
केन्द्रिय मत्स्य प्रर्वदन तथा संरक्षण केन्द्रका प्रमुख सरिता गौतमले अनुसन्धान–नीति–व्यवहार बीचको दूरी घटाएर संरक्षण कार्यक्रम स्थानीय स्तरमै प्रभावकारी रूपमा लागु गर्न आयोजना सफल हुने विश्वास व्यक्त गर्नुभयो।
विशेषज्ञ सुरेश कुमारले दीर्घकालीन सफलताको लागी यस परियोजनाले निगरानी प्रणाली, नदी स्वास्थ्य सूचकांक र किसान–अनुसन्धान सहकार्य बढाउन सुझाव दिनुभयो।
कार्यक्रमले हिमाली तथा पहाडी नदी प्रणालीमा असला संरक्षणका लागि दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ। वैज्ञानिक नक्सांकन र पारिस्थितिक डाटाले भविष्यमा संरक्षण प्राथमिकता निर्धारण, जलअनुकूलन योजना, स्थानीय रोजगारी तथा दीगो मत्स्य व्यवस्थापनमा सहयोग गर्ने अपेक्षा गरिएको छ।
अनुसन्धान आयोजनासंग सम्बन्धित प्रतिनिधि, त्रिवि जीवविज्ञान विभाग, हाइड्रोलोजी प्रयोगशाला, किसान, अनुसन्धानकर्ताहरू र विद्यार्थीहरु, कृषक, विद्धार्थी लगायत नार्क मातहतका मत्स्य अनुसन्धान केन्द्रका प्रतिनिधी गरि कार्यक्रममा करिब ३० जना सहभागी थिए। कार्यक्रममा कुल तीन वटा विषयगत कार्यपत्रहरू पेश भएको थियो ।
