logoबिहिबार, ०१ माघ २०८२

आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन खुमलटारमा हुने

Author
Loading...
समाचार

0

Shares

आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन खुमलटारमा हुने

ललितपुर, पौष २९ ।  नेपालको कृषि क्षेत्रलाई वैज्ञानिक, दिगो र प्रतिस्पर्धी बनाउने उद्देश्यका साथआनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन” आयोजना हुने भएको छ।

सम्मेलन माघ ६ देखि ८ गतेसम्म (मंगलबारदेखि बिहीबार सम्म) ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको परिसरमा सञ्चालन हुनेछ।

सम्मेलनको आयोजना बाली प्रजनन तथा आनुवंशिकी समाज नेपाल (पिबाग्सन) र नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानले संयुक्त रूपमा गरेका हुन्।

सह–आयोजकका रूपमा लि–बर्ड, जिन बैंक, अक्सफाम नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष, मुक्तिनाथ बीउ बैंक लिमिटेड तथा कर्मा ग्रुप रहेका छन्। नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको राष्ट्रिय कृषि प्रविधि तथा सूचना केन्द्र  र कृषि सञ्जाल यस सम्मेलनका मिडिया पार्टनर रहेका छन्।

सम्मेलनमा करिब २३० जना सहभागी हुने पिबाग्सका अध्यक्ष डा. बालकृष्ण जोशीले बताउनुभयो। सहभागीहरूमा कृषि अनुसन्धानकर्ता तथा वैज्ञानिक, नीति निर्माता, विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, उद्यमी तथा निजी क्षेत्रका प्रतिनिधिहरू रहने उहाँले बताउनुभयो। सम्मेलन अवधिभर ७ वटा विषयगत कार्यपत्र, ४५ वटा अनुसन्धान लेख तथा १५ वटा पोस्टर प्रस्तुति गरिनेछ भने करिब १५ वटा प्रदर्शनी तथा प्रदर्शन स्टल पनि रहनेछन्। यसैगरी सम्मेलनको विशेष आकर्षणका रूपमा प्यानल छलफल पनि आयोजना गरिनेछ। उक्त छलफलमा जलवायु परिवर्तन अनुकूल, पोषणयुक्त तथा भविष्यका बाली विकासका लागि आधुनिक प्रविधिको एकीकृत प्रयोगबारे विज्ञहरूबीच गहन बहस हुनेछ ।

नेपाल जैविक विविधताले सम्पन्न देश भए पनि कृषि क्षेत्रमा अझै कम उत्पादनशीलता, गुणस्तरीय बीउमा सीमित पहुँच तथा जलवायु परिवर्तन अनुकूल प्रविधिको अभावजस्ता चुनौती विद्यमान छन्। विश्वव्यापी रूपमा आनुवंशिकी, बाली प्रजनन, बीउ विज्ञान, कृषि जैविक विविधता, कृषि जैविक प्रविधि र कृषि बायोस्टाटिस्टिक्समा भएको प्रगतिले खाद्य सुरक्षा र वातावरणीय संरक्षणमा ठूलो योगदान पुर्‍याएको भए पनि नेपालमा यी क्षेत्रहरू अपेक्षित रूपमा अघि बढ्न नसकेको आयोजकहरूको भनाइ छ।

यही पृष्ठभूमिमा आयोजना हुन लागेको यस सम्मेलनले नेपालमा पहिलो पटक यी छवटै वैज्ञानिक विषयलाई एउटै राष्ट्रिय मञ्चमा समेट्दै नीति, अनुसन्धान र बौद्धिक सम्पत्ति अधिकारसमेत समावेश गर्ने आयोजकहरुको दावी छ।

सम्मेलनमा कृषिमा आनुवंशिकीको भूमिका, दिगो कृषिका लागि जैविक विविधताको संरक्षण, खाद्य तथा पोषण सुरक्षाका लागि बाली प्रजनन, स्मार्ट कृषिका लागि जैविक प्रविधि, कृषि अनुसन्धानमा डाटा साइन्स र बायोस्टाटिस्टिक्स, बीउ विज्ञानमा नवप्रवर्तन तथा कृषि नीति र बौद्धिक सम्पत्ति अधिकारजस्ता विषयमा गहन छलफल हुनेछ।

सम्मेलनका क्रममा उत्कृष्ट योगदान दिने व्यक्तित्व तथा संस्थालाई सात विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गरिनेछ। साथै विज्ञहरूबीच प्यानल छलफल, समूहगत बहस र सञ्जाल निर्माणका कार्यक्रमहरू पनि समावेश छन्।

आयोजक संस्थाहरूले यस सम्मेलनबाट प्राप्त हुने सिफारिस र रणनीतिले नेपालको कृषि विकास, खाद्य तथा पोषण सुरक्षा, स्वास्थ्य, व्यवसायिक अवसर र वातावरणीय संरक्षणमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्। सम्मेलन हरेक तीन–तीन वर्षमा नियमित रूपमा आयोजना गर्ने योजना रहेको पनि आयोजकले जनाएका छन्।

 

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave