
ललितपुर, माघ १० । कृषि आत्मनिर्भरताको लक्ष्य हासिल गर्न वैज्ञानिक क्षेत्रहरूबीच प्रभावकारी समन्वय र उचित नेतृत्व अपरिहार्य रहेको निष्कर्ष प्रथम राष्ट्रिय बाली प्रजनन, आनुवंश र बीउ विज्ञान सम्मेलनले निकालेको छ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान तथा बाली प्रजनन तथा आनुवंश समाज नेपाल (पिबाग्सन) को संयुक्त आयोजनामा तथा जिन बैंक, लिबर्ड, अक्सफामलगायत संघ–संस्थाहरूको सहआयोजनामा सम्मेलन सम्पन्न भएको हो।
ललितपुरमा माघ ६ देखि ८ गतेसम्म सञ्चालन भएको सम्मेलनमा बाली प्रजनन, आनुवंशिकी र बीउ विज्ञान क्षेत्रको वर्तमान अवस्था, चुनौती तथा भावी दिशामाथि केन्द्रित रहेर वैज्ञानिक बहस, अनुसन्धान प्रस्तुति र सम्मान कार्यक्रम सम्पन्न भएका थिए।
वैज्ञानिक नेतृत्व र समन्वयमा जोड
छलफलका क्रममा कृषि विज्ञानका छ आयाम—आनुवंशिकी, बाली प्रजनन, बीउ विज्ञान, कृषि जैविक विविधता, कृषि जैविक प्रविधि तथा कृषि बायोस्टाटिस्टिक्स—बीच समन्वय मात्र नभई यी विषयहरूले नै कृषि विकासको नेतृत्व लिनुपर्ने आवश्यकता औंल्याइएको छ। यी विषयसँग सम्बन्धित दक्ष विज्ञ तथा विशेषज्ञको अभावका कारण कृषि मन्त्रालय, विभाग, शिक्षालय, अनुसन्धान केन्द्र, ज्ञान केन्द्र/कृषि कार्यालय तथा कृषि फार्महरू प्रभावकारी हुन नसकेको र त्यसकै कारण नेपालको कृषि विकासले अपेक्षित तीव्रता लिन नसकेको निष्कर्ष सम्मेलनले निकालेको छ।
सम्मेलनलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियारले विश्वस्तरमा आनुवंशिकी, बाली सुधार र जैविक प्रविधिमा भएको प्रगतिले कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याएको उल्लेख गर्नुभयो। तर नेपालमा अनुसन्धान समन्वय, प्रविधि विकास, बीउ प्रणालीको सुदृढीकरण तथा नीति कार्यान्वयनमा अझै धेरै काम गर्नुपर्ने अवस्था रहेको उहाँले स्वीकार गर्नुभयो।
उहाँले आनुवंशिकी, बाली प्रजनन र जैविक प्रविधिमा केन्द्रित राष्ट्रिय अनुसन्धान संस्थाहरूलाई सुदृढ बनाउने तथा गुणस्तरीय बीउ उत्पादन र प्रभावकारी नियमनमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
पिबाग्सनका निवर्तमान अध्यक्ष डा. बालकृष्ण जोशीले नेपालमा बीउ विज्ञानबाहेक अन्य वैज्ञानिक क्षेत्रहरू अपेक्षाकृत पछि परेको बताउनुभयो। “आनुवंशिकी, बाली प्रजनन, बीउ विज्ञान, कृषि जैविक विविधता, जैविक प्रविधि र बायोस्टाटिस्टिक्स सबल नभएसम्म कृषि प्रणाली आत्मनिर्भर र दिगो बन्न सक्दैन,” उहाँले भन्नुभयो।
८ कार्यपत्र, ४२ अनुसन्धान लेख
सम्मेलनमा अनुसन्धानकर्ता, वैज्ञानिक, नीति निर्माता, विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, उद्यमी तथा निजी क्षेत्रका प्रतिनिधिसहित २३० जनाभन्दा बढीको सहभागिता रहेको थियो। सम्मेलन अवधिभर ८ वटा विशेष कार्यपत्र, ४२ वटा अनुसन्धान लेख र २१ वटा पोस्टर प्रस्तुत गरिएका थिए। साथै १० वटा कृषि सम्बन्धी प्रदर्शनी स्टलसमेत राखिएका थिए।
विभिन्न विधामा पुरस्कार तथा सम्मान
सम्मेलनका अवसरमा उत्कृष्ट बाली प्रजनक पुरस्कार नार्कका वरिष्ठ वैज्ञानिक डा. राजेन्द्र दराईलाई प्रदान गरिएको छ।
उत्कृष्ट बाली प्रजनक पुरस्कारबाट सम्मानित भएपछि डा. राजेन्द्र दराईले यो क्षण आफ्नो जीवनकै सबैभन्दा खुसीको क्षण भएको बताउनुभयो। उहाँले नयाँ पुस्तालाई राम्रो काम गरेपछि त्यसको मूल्याङ्कन र सम्मान हुने रहेछ भन्ने सन्देश गएको र यसले उनीहरूलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो। साथै आफूलाई पनि दीगो कृषि तथा खाद्य सुरक्षाको क्षेत्रमा अझ बढी समर्पित भएर काम गर्ने उत्साह र जिम्मेवारीबोध बढेको उहाँले बताउनुभयो।
सम्मेलनका बीच उत्कृष्ट उद्धृत अनुसन्धानकर्ता पुरस्कार नार्कका वैज्ञानिक जीवन श्रेष्ठले प्राप्त गर्नुभयो भने स्वर्ण बीउ पुरस्कार सियान सिडका दामोदर पौडेललाई प्रदान गरिएको छ।
त्यसैगरी उत्कृष्ट सेवा पहिचान पुरस्कार डा. उज्जवल कुमार सिंह कुशवाहा र कृष्ण ढकाललाई प्रदान गरिएको छ। उत्कृष्ट विद्यार्थी मौखिक प्रस्तुति पुरस्कार प्रजिता देवकोटा तथा उत्कृष्ट विद्यार्थी पोस्टर प्रस्तुति पुरस्कार आस्था ढकालले प्राप्त गर्नुभएको छ।
उदीयमान प्रतिभा पुरस्कार
कृषि तथा वन विज्ञान विश्वविद्यालयकी विद्यार्थी प्रशंसा पाण्डेलाई प्रदान गरिएको
छ। उक्त
पुरस्कारले कृषि विज्ञान तथा प्रविधिको क्षेत्रमा थप उत्साह, हौसला र प्रेरणा प्राप्त भएको प्रशंसा
पाण्डेले बताउनुभयो।
साथै बाली प्रजनन क्षेत्रका अग्रज भरत अधिकारी तथा ‘नेपाली लोकगीतमा कृषि–जैविक विविधताका प्रतिबिम्ब’ विषयक अनुसन्धानका लागि वरिष्ठ वैज्ञानिक डा. कालिकाप्रसाद उपाध्यायलाई विशेष सम्मान गरिएको छ।
