
चितवन, माघ ११। चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका छ वटा समूहसँग ‘स्टार्टअप विजनेस’ सञ्चालनका लागि सम्झौता गरिएको छ ।
विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा ती विद्यार्थी समूहलाई दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म बीउ पूँजी प्रदान गरिएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत कृषि, पशु चिकित्सा तथा मस्त्य विज्ञान संकाय, वन संकाय तथा आंगिक कलेजमा अध्ययनरत विद्यार्थीहरूले ३ देखि ५ जनासम्मको समूह बनाई नवीन व्यवसाय सञ्चालन गर्नका लागि उक्त रकम उपलब्ध गराइएको हो ।
विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा.डा. ज्ञानबहादुर थापा, कृषि तथा वन विज्ञान विश्वविद्यालयकी उपकुलपति प्रा.डा. शारदा थपलिया, रजिष्ट्रार प्रा.डा. पुष्करबहादुर पाल तथा तीनै संकायका डीनहरूको उपस्थितिमा विद्यार्थी समूहलाई बीउ पूँजी हस्तान्तरण गरिएको विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक प्रा.डा. निराजन भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा.डा. थापाले विश्वविद्यालयहरू रोजगारी खोज्ने मात्रै जनशक्ति उत्पादन गर्ने गरेको आरोप लागिरहेको सन्दर्भमा कृषि विश्वविद्यालयले अरूलाई रोजगारी दिन सक्ने दक्ष तथा व्यवसायिक जनशक्ति उत्पादन गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
उपकुलपति प्रा.डा. शारदा थपलियाले विश्वविद्यालयमा अध्ययनरत तथा उत्पादन भएका जनशक्तिलाई रोजगारी खोज्ने भन्दा पनि रोजगारी दिन सक्ने बनाउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । विद्यार्थी समूहले साझा सोच र अवधारणासहित प्रस्तुत गरेका योजनामा विश्वविद्यालयले लगानी गरेर सहयोग गरेको उहाँको भनाइ छ । विद्यार्थीलाई उद्यमशीलता र स्वरोजगारतर्फ आकर्षित गर्न आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तरता दिइने बताउँदै उहाँले भन्नुभयो, “विद्यार्थी पढ्ने, जागिर खाने वा विदेश जाने मात्र नभई देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न सकून् भन्ने हाम्रो मूल उद्देश्य हो।”
विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. पुष्कर पालले बुट क्याम्पमार्फत छनोट गरिएका विद्यार्थी समूहलाई व्यवसायी तथा उद्यमशील बनाउने उद्देश्यले स्टार्टअप अनुदान प्रदान गरिएको जानकारी दिनुभयो ।
विद्यार्थी उद्यमी समूहहरूले मोरिङ्गा पाउडर उत्पादन, पूर्वेली धुले अचार, सजावटी बिरुवाको टिस्यु कल्चर, एग्री अर्गानिक भर्मिवास, ट्राइकोभर्मी कम्पोस्ट तथा जिरो वेस्ट फिस प्रोडक्ट उत्पादनसम्बन्धी विस्तृत व्यावसायिक योजना पेश गरेका थिए । विज्ञ समूहबाट ती योजनाहरू स्वीकृत भएपछि बीउ पूँजी प्रदान गरिएको हो ।
निर्देशनालयका उप–निर्देशक डा. उज्वल तिवारीले सुरुमा ५० प्रतिशत रकम उपलब्ध गराइने र व्यवसायको प्रगति मूल्याङ्कनपछि थप बीउ पूँजी प्रदान गरिने जानकारी दिनुभयो ।
विद्यार्थीहरूले पेश गरेका व्यावसायिक प्रस्तावहरूमध्ये प्रारम्भिक छनोटमा परेका १२ वटा समूहलाई ‘विजनेस इन्क्युबेसन सेन्टर’ मार्फत चारदिने बुट क्याम्प तालिम सञ्चालन गरिएको थियो ।
बुट क्याम्पमा विज्ञहरूद्वारा विस्तृत व्यावसायिक परियोजना तयार गर्ने सीप सिकाइएपछि उत्कृष्ट योजना प्रस्तुत गर्ने छ वटा समूहलाई बीउ पूँजी प्रदान गरिएको प्रा.डा. भट्टराईले बताउनुभयो । बीउ पूँजी प्राप्त समूहलाई आवश्यकता अनुसार विज्ञहरूबाट थप मेन्टरसिप पनि प्रदान गरिने उहाँको भनाइ छ ।
उहाँका अनुसार विश्वविद्यालय परिसरभित्रै विजनेस इन्क्युबेसन सेन्टरका लागि छुट्टै भौतिक संरचना निर्माणको तयारी भइरहेको छ ।
यसअघि पनि निर्देशनालयले बुट क्याम्प सञ्चालन गरी सात वटा विद्यार्थी समूहलाई बीउ पूँजी उपलब्ध गराउँदै उनीहरूलाई उद्यमशील तथा आत्मनिर्भर बनाउन सहयोग गर्दै आएको छ ।
