logoशुक्रबार, १८ बैशाख २०८३

मौरीमा हुल निर्यास र गृहत्याग: कारण, लक्षण र नियन्त्रण उपायहरू

Author
Loading...
विचार ब्लग

0

Shares

मौरीमा हुल निर्यास र गृहत्याग: कारण, लक्षण र नियन्त्रण उपायहरू

हुल निर्यास मौरीको वंशवृद्धि हुने प्राकृतिक प्रजनन् प्रक्रिया हो, जसमा घारबाट रानु मौरी र हजारौँ सङ्ख्यामा कर्मी मौरीहरू हुल छुटेर गई एक नयाँ मौरीगोला बनाउँदछन् । पहिलो हुल निर्यासमा पुरानो रानु र करिब ५०-७० प्रतिशत कर्मी मौरीहरू पुरानो घारबाट निस्कन्छन् भने दोस्रो, तेस्रो, चौथो हुल निर्यासमा निस्कने नयाँ रानु र कर्मी मौरीका सङ्ख्याहरू क्रमशः घट्दै जान्छन् । मौरीगोलामा भाले कोषहरूको निर्माण भई भाले मौरीको सङ्ख्यामा वृद्धि हुनुचाकाको पिँधमा रानु कोषहरू देखिनु, घारको प्रवेशद्वारमा मौरीहरू गाँड लगाएर बस्नु, घारबाहिर मौरीहरू निस्किएर ठूलो आवाजमा भुनभुनाई उड्नु र अन्तमा साबिकको मौरीघारबाट मौरीहरू निस्किएपछि धेरै माथि नउडी घारको नजिकै कुनै रूखको हाँगा वा अन्य कुनै ठाउँमा पोको परेर बस्नु हुल निर्यासमा देखिने लक्षणहरू हुन् । यसरी हुल निर्यास हुदाँ पहिलो उडानमा छुटिएर गएको मौरीको हुल करिब २०-३० मिटर टाढा सम्म जान्छन भने पुनःपछिल्लो उडानमा मौरीको हुल ७००-१००० मिटर टाढा सम्म पुग्दछन् ।

हुल निर्यास मौरीको वंशाणुगत गुण हो । मौरीघारमा रानुलाई फुल पार्ने स्थानको अभाव हुनु, अधिक संख्यामा कर्मी मौरीहरु हुनु, कोषमा खाना भण्डारण गर्ने स्थानको अभाव हुनु तथा समयमा नै रानु नफेर्नु जस्ता कारणले गर्दा मौरीमा हुन निर्यास हुने गर्दछ । हुल निर्यास प्रक्रिया मेलिफेरा मौरीमा भन्दा सेरेना मौरीमा वढि हुने गर्दछ, सेरेना जातको मौरीमा १ देखि ५ पटकसम्म हुल निर्यास हुने गरेको पाइन्छ ।

 मौरीको लागि उपयुक्त मौसममा जब प्रशस्त मात्रामा पुष्परस र कुटको प्रवाह हुन्छ, उक्त समयमा मौरीले हुल निर्यास गर्दछ । खासगरी बसन्त ऋतु र शरद् ऋतु हुल निर्यासका लागि उपयुक्त समय हो तर उच्च पहाडी जिल्लाहरूमा जेठ, आषाढ, श्रावण महिना मौरीका लागि उपयुक्त प्रवाहको मौसम भएकाले हुल निर्यास पनि सोही समयमा गर्दछन् । हुल निर्यास खासगरी बिहान ९/१० बजे देखि दिउँसो करिब ३ बजेसम्म घमाइलो समयमा हुन्छ भने गर्मी स्थानमा बिहान ८/९ बजेदेखि नै हुल निर्यास गर्न सक्दछन् । पानी परेको र हुरी बतास आएको बेला भने मौरीले हुल निर्यास गर्दैनन् ।

 हुल निर्यासको नियन्त्रणका उपायहरुः

हुल निर्यास भएमा एक स्वस्थ गोला पनि कमजोर भई मह उत्पादनमा कमी आउन सक्छ । अतः हुल निर्यास कार्य रोक्न व्यवस्थापनलाई नै प्राथमिकता दिनुपर्ने हुन्छ । यसका लागि निम्न उपायहरू अपनाउनु पर्दछ;

·        नियमित रुपमा मौरि गोला निरीक्षण गर्ने ।

·        छाउराकक्ष र महकक्षमा स्थान अभाव हुन नदिने ।

·        अनावश्यक रानु कोषहरू हटाइदिने ।

·        घारमा अनावश्यक भाले कोष भएका चाका हटाउने ।

·        प्रत्येक वर्ष गुणस्तरीय रानु बदल्ने ।

·        घारभित्र हावा राम्रोसँग आवतजावत हुन भेन्टिलेसनको व्यवस्था गरीदिने ।

·        हुल निर्यास हुन लागेको सङ्केत मिलेमा रानुढोका प्रयोग गरी माथि उल्लेख गरेअनुसार आवश्यक प्रबन्ध मिलाउने ।

·        गोला विभाजन गरि नयाँ गोला विस्तार गर्ने ।

मौरीमा गृहत्याग

विभिन्न बाधा अड्चनहरूका कारण मौरीहरूले आफू बस्दै आएको घारलाई परित्याग गरेर वा छोडेर अन्य ठाउँमा जाने प्रक्रियालाई गृहत्याग भनिन्छ । विशेष गरी सुक्खा मौसम, प्रशस्त खानाको अभाव,  घारगोलामा रोग तथा किराको प्रकोप, गर्मी र वर्षा याममा उपयुक्त वातावरणको अभावको कारण मौरीहरू गृहत्याग गर्न अग्रसर हुन्छन् । गृहत्यागको समय बिहान १० बजेदेखि ३ बजेसम्म हुन सक्छ । गृहत्याग दुई प्रकारका हुन्छन्, जसमा योजनाबद्ध र आपतकालीन पर्दछन् ।

योजनाबद्ध गृहत्यागको तयारीमा लागेका मौरीहरूले रानुलाई करिब १५ दिन अगाडि देखि नै फुल नपार्ने वातावरण सृजना गर्दै जान्छन् । गोलामा फुल, लार्भा, प्युपा कम देखिनुपुष्परस र पराग सञ्चित नहुनु, प्रवेशद्वारमा मौरीको आवतजावत कम हुँदै जानु जस्ता लक्षण देखिनुका साथै गृहत्याग हुने समयमा धेरै सङ्ख्यामा मौरीहरू घारवरिपरि ठूलो आवाजमा घुमिरहेका हुन्छन् र ठूलो आवाज निकाल्दै द्रुत गतिले आकासिएर भाग्छन् । गृहत्याग गरिसकेको घारलाई निरीक्षण गर्दा चाकाहरू रित्तै हुन्छन् तर आकस्मिक गृहत्याग गरेकोमा केही बच्चाहरू र थोरै मह भेटिन्छ । गृहत्याग पनि मेलिफेरा मौरीको तुलनामा सेरेना जातको मौरीमा वढि देखिन्छ । नेपालमा करिब १५ देखि ३० प्रतिशत सेरेना मौरीगोलाले बार्षिक गृहत्याग गर्ने गरेको एक अध्ययनले देखाएको छ।

गृहत्यागको नियन्त्रणका उपायहरुः

·        महप्रवाहको अन्तमा सबै महचाका नकाढ्ने ।

·        छाउरा चाकाहरूमा खानाको अभाव देखिएमा चिनी चास्नी ३ दिनसम्म लगातार खुवाउने ।

·        समयमै रोगहरू पत्ता लगाई औषधी उपचार वा नियन्त्रण गर्ने ।

·        पटकपटक गोला निरीक्षण गरी मौरीलाई बाधा नपुर्याउने ।

·        प्राकृतिक शत्रुहरूबाट मौरीगोलाको रक्षा गर्ने ।

·        मौसम अनुसार मौरीलाई चिसो, गर्मी र चिस्यानबाट बचाउने व्यवस्थापन कार्य गर्ने ।

·        मौरीहरूलाई बाधा हुने जस्तैः धुवाँ, यातायातका साधन, मानिस र पशुहरू बढी ओहोरदोहोर, बढी तातो र चिसोले असर पार्ने ठाउँहरूमा घार नराख्ने ।

·        कमजोर गोलालाई छाउरा चाकाले आधार दिने र लुटलडाइँ हुनबाट जोगाउने ।

·        प्रत्येक वर्ष गुणस्तरीय रानु बदल्ने ।

·        गृहत्याग भई उडेमा पानी वा धुलो फ्याँकी मौरीलाई नजिकै बसाउन प्रयास गर्ने ।

लेखक सुजन अंगाई मौरीपालन विकास केन्द्रचितवनमा कार्यालय प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ ।

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave