समाचार

आलुको उत्पादनोपरान्त प्रविधि र भण्डारण


परिचयः- आलुबालीबाट प्रशस्त फाईदा लिनको लागि आलुको उत्पादन बढाएर मात्र पुग्दैन । आलु उत्पादन पश्चात उचित तरिकाले भण्डारण गर्न सकेमा मात्र उत्पादनोपरान्त हुने क्षतिलाइ न्युनिकरणका साथै बढी लाभ लिन सकिन्छ । अन्नबालीको तुलनामा आलु दानामा ८० प्रतिशतसम्म पानी हुने भएकोले धान, मकै, कोदो जसरी लामो समय भण्डारण गर्न सकिदैन ।

सावधानी नअपनाई आलु भण्डारण गरेमा कीरा, मुसा, रोग तथा प्रतिकुल वातावरणको कारण चाँडै नोक्सान हुने गर्दछ । शित भण्डारणमा भण्डारण गर्दा ७–८ महिनाको समयमा ८–१० % सम्म नोक्सानी हुन जान्छ । साधारण अवस्थामा लामो समयसम्म भण्डारण गर्दा तौलमा ३०–४० % सम्म नोक्सानी हुने हुँदा बढी घाटा हुन जान्छ । भण्डारण  गरिने आलुलाई बढी नोक्सानी हुनबाट जोगाउन आलु खनीसकेपछि उचित प्रविधिको आवश्यकता पर्दछ । भण्डारण आलुलाई बढी क्षती हुनबाट जोगाउन आलु खेती गरिने अवस्था देखि नै निम्न कुराहरुमा बिशेष होशियारी अपनाउनु पर्दछ ।

 

१) जातीय छनौट :- जातीय गुणले आलुको भण्डारण तथा प्रशोधनमा फरक पार्ने हुँदा, लामो समयसम्म भण्डारण गर्न सकिने र प्रशोधनका लागि उपयुक्त ठहरिएका जातको मात्र छनौट गर्नु पर्दछ ।

२) मलखादको प्रयोग :- बढी मात्रामा नाइट्रोजन मलको प्रयोग गर्दा आलु छिप्पिने समय बढ्न जाने, बढी मात्रामा पानीको जम्मा हुने, सुख्खा पदार्थ तथा सापेक्षिक आर्दता कम हुने हुँदा आलु लामो समयसम्म भण्डारण गर्न नसकिने हुन्छ । फस्फोरस मलले भण्डारणमा खासै असर गरेको नपाईएता पनि यसको उपयुक्त मात्राको प्रयोगले उत्पादनमा बृद्धि हुन्छ । कम तथा बढी पोटास मलको प्रयोगले भण्डारण तथा प्रशोधनमा बढी असर गरेको पाईएको छ ।

राष्ट्रिय आलुबाली बिकास कार्यक्रम, खुमलटारमा वि.. २०७८ गरिएको एक अनुसन्धानका अनुसार लामो समयसम्म भण्डारण र बढी उत्पादनको लागी प्रति हेक्टर २० टन गाबेरमल,१५० के.जी. नाइट्रोजन, १०० के.जी. फस्फोरस र ६० के.जी पोटास राख्न उपयुक्त देखिएको पाइएको थियो ।

३) सिंचाई :- आलुबालीबाट प्रशस्त उत्पादन लिनको लागि सिंचाईको अति महत्वपूर्ण भूमिका हुन्छ । खासगरि आलुको तान्द्रा बन्ने, दाना लाग्ने र दानाको विकास हुने समयमा सिंचाइको बढी महत्व हुन्छ । आलुलाई सिंचाई दिँदा एकै समयमा बढी पानी दिनु भन्दा पटक पटक गरी धेरै पटक सिंचाई दिनुपर्दछ । चाहिने भन्दा बढी मात्रामा पानी दिएमा उत्पादन तथा भण्डारणमा बढी असर पर्दछ ।

४) खेती प्रविधि :-

·        लामो समय सम्म भण्डारण र प्रशोधन गरिने आलु राम्ररी छिप्पिए पछि मात्र खन्नुपर्दछ ।

·        बढी क्षति हुनबाट जोगाउन आलु खन्नु भन्दा १०–१५ दिन अगाडी बोट उखेल्नु पर्दछ ।

·        आलु खन्नुभन्दा १५ दिन अगाडी सिंचाई रोक्नुपर्दछ

·      आलु खनीसकेपछि लामो समयसम्म खेतबारीमा खुल्ला राख्दा पुतलीको आक्रमण हुने, दानामा हरियोपना देखापर्ने, दानाको भित्री भाग कालो हुने सम्भावना हुने हुँदा बिशेष होशियारी अपनाउनु पर्दछ ।

५) रोग :- विभिन्न किसिमका ढुसी, ब्याक्टेरिया र पुतली किराद्धारा ग्रसित २–४ दाना मात्र आलु भएमा पनि त्यसबाट भण्डारण गरिएका आलुलाइ सखाप पार्ने हुँदा त्यस्ता आलु राम्ररी केलाएर मात्र भण्डारण गर्नुपर्दछ ।

आलु खनिसकेपछि गरिने कार्यहरुः-

१) क्यूरिङ्ग (सुकाउने) :-आलु खनीसकेपछि बढी हानि हुनबाट जोगाउन भण्डारण पूर्व आलुलाई क्यूरिङ्ग (सुकाउने) गर्नुपर्दछ । भण्डारण गर्ने आलुलाई १५ दिनसम्म राम्ररी वायु संचार हुने चिसो छायाँमा पातलो गरि फिँजाएर राख्नुपर्दछ । यसबाट आलुको बोक्रा छिप्पिन र घाउचोट लागेको ठाउँमा बोक्रा जम्न मद्दत गर्दछ । क्यूरिङ्ग गरेको आलु लामो समयसम्म भण्डारण गर्न सकिन्छ ।

२) ग्रेडिङ्ग गर्ने :- आलु खनिसकेपछि विभिन्न साईज वा आकारमा छुट्टाउनुपर्दछ । बीउ आलु, खायन आलु तथा औद्योगिक प्रयोजनका लागि प्रयोग हुने आलु भण्डारण तथा वितरण गर्नुपूर्व विभिन्न आकारमा छुट्टाउनुपर्दछ ।

साधारणतया आलुको तौल, लम्बाई र आकारको आधारमा छुट्टाउने गरिन्छ । नेपालमा विभिन्न ग्रेडको निश्चित मापदण्ड तोकिएको छैन तर बजारमा ४ ग्रेडका आलु पाईन्छन् ठूला, मझौला, साना र मट्यांग्रा । खास गरि बीउको लागि २०–४० ग्राम र खायन तथा औद्योगिक प्रयोगका लागि ठूला आलु प्रयोग गरिन्छ ।

ग्रेडिङ्गको लागि टिनको पातामा प्वाल पारिएका वा मोटोतारले बुनेका विभिन्न साईजका चाल्नीहरु प्रयोग गर्न सकिन्छ । नेपालमा ग्रेडिङ्ग कृषक स्वयं वा व्यापारिले अन्दाजको भरमा गर्ने गर्दछन् । क्यूरिङ्ग गरिसकेपछि ग्रेडीङ्ग उपयुक्त हुन्छ ।

३) सर्टिङ (विभिन्न खाले आलु छुट्टाउने) :-

सर्टिङ भनेको विभिन्न गुणस्तरका आलुलाई छुट्टाउने तथा आलुसँगै भएका नचाहिँदा बस्तु तथा पदार्थलाई छुट्टाउनु हो । यस कार्यमा कुहिएका, काटीएका, रोगकिराबाट ग्रस्त, हरिया आलु, खोक्रो मुटुभएका, लहरेआलुका साथै आलुसँग मिसिएका ढुङ्गा, माटो, पात पतिगंरलाई छुट्टाउने तथा हटाउने गरिन्छ । खोक्रो आलुलाई छुट्टाउन नुन पानीको प्रयोग पनि गर्न सकिन्छ ।

४) प्याकिङ्गः-  

खासगरि आलुलाई ५० के.जी. जुटको बोरा वा छिद्र छिद्र भएको नाइलन डोरीको बोरामा प्याकिङ्ग गरि भण्डारण वा शित भण्डारणमा राखिन्छ वा एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गरिन्छ । हाल नेपालमा आलु प्लाष्टिकको बोरामा राखी भण्डारणमा राख्ने गरिन्छ तर यो तरिकाबाट भण्डारण गर्दा बोरामा हावा खेल्न नपाउने हुँदा बढी नोक्सानी हुन जान्छ ।

आलु भण्डारणका उद्देश्यहरुः-

आलु भण्डारण गर्नुको मूख्य उद्देश्य आलुको गुण र परिमाण दुवैको संरक्षण गर्नु हो । खाने आलुको भण्डारण गर्नुको उद्देश्य आलुलाई चाउरीएर, टुसाएर अथवा कुहेर सडेर तौल घट्न नदिने, रोगबाट रक्षा गर्ने, पाक्ने गुण तथा स्वादमा ह्रास आउन नदिने र लामो अवधिसम्म उपभोग योग्य बनाई राख्ने हो । त्यस्तै बीउ आलु भण्डारण गर्नुको उद्देश्य बीउ आलुलाई स्वस्थ राख्ने, उम्रने शक्ति कायम राख्ने, रोगबाट बचाउनु हो ।

आलु भण्डारणका तरिकाहरु :-

क) परम्परागत तरिका :-

१) भकारीमा आलु भण्डारण :-

उच्च पहाडी क्षेत्र (२४०० मिटर भन्दा माथी) ५–६ महिना सम्म भकारीमा आलु राखी भण्डारण गरिन्छ । आलु राख्ने भकारी बढी जालीदार भएमा, त्यसको गोलाई धेरै ठूलो नभएमा, धुवाँ तथा आगोको तातो नआउने ठाउँमा भकारी राखिएमा आलुमा टुसा नआउने र चाउरीने समस्या कम हुन्छ । यस क्षेत्रमा आलु भदौ-असोज देखि चैत्र-बैशाख सम्म भण्डारण गरिन्छ । साना भकारी र हावा खेल्ने भएमा २००० मिटर सम्म अध्याँरोमा खायन आलु भण्डारण गरिन्छ तर बीउ आलु उज्यालोमा राख्नु पर्दछ ।

२) बारीमा भण्डारण गर्ने तरिका :-उच्च पहाडी क्षेत्रमा आलु खन्ने समय साउन–भदौ भएतापनि केही कृषकहरुले समयमा नै आलु नखनि कार्तिक देखि पुस सम्म आलु खन्ने गर्दछन् ।

फिलिपिन्समा गरिएको एक परिक्षण नतिजा अनुसार उच्चपहाडमा साउनको सट्टा मंसीरमा आलुखन्दा २५.३% उत्पादन घटेको पाइएको छ तर साउनमा खनी मंसीरसम्म भण्डारण गर्दा जम्मा १२–१५% मात्र नोक्सान हुने पाइएको छ । यसरी बारीमै भण्डारण गर्दा दानाको बाहिरी गुणस्तरमा कमी आउने र बीउको गुणस्तर पनि त्यती राम्रो नहुन सक्छ ।

३) खाल्टोमा आलु भण्डारण :-

उच्च पहाडी क्षेत्र जहाँ पानी कम पर्दछ त्यस्तो ठाउँमा जमिनमुनी खाल्टोमा पनि आलु भण्डारण गर्ने गरिन्छ । यसरी आलु भण्डारण गर्दा सर्वप्रथम आवश्यक अनुसारका खाल्टा खनी ओभानो पारेपछि खाल्टोमा खर, पातपतिंगर ओछ्याई त्यसमाथि आलु राखी पुन माटोले पुरिन्छ । खाल्टोमा पानी पस्न नदिन आवश्यक व्यवस्था मिलाईन्छ । यसरी भण्डारण गरिएको आलु तापक्रम बढ्नु अघि फाल्गुण–चैत्रमा नै निकालिन्छ ।

४) थुप्रोमा आलु भण्डारण :-


यो पनि उच्च पहाडी र कम पानी पर्ने क्षेत्रमा आलु भण्डारण गरिने सबैभन्दा सस्तो र सजिलो तरिका हो । जहाँ तापक्रम ५–१० डीग्री सेन्टिग्रेड हुन्छ त्यस्तो ठाउँमा आलुलाई १.५–३ मिटर उचाईको थुप्रो बनाई त्यसमाथी छ्वाली र माटो वा प्लाष्टिकले छोपी भण्डारण गर्नुपर्दछ । हावा संचारको लागि पाईप राखी भण्डारण गर्दा भण्डारणमा कम नोक्सानी हुन्छ ।

ख) मधुरो प्रकाशको सिद्धान्तमा आधारित बीउ आलु भण्डारण

चिसो तापक्रमको बदलामा मधुरो प्रकाश पर्ने गरी नचाहिँदो रुपमा बढ्ने टुसाहरुलाई नियन्त्रण गरी बीउ आलुलाई भण्डारण गर्ने तरिका मधुरो प्रकाशको सिद्धान्त हो ।

रष्टिक स्टोर वा मधुरो प्रकाशमा आलु भण्डारण गर्दा अध्याँरोमा भण्डारण गरेको भन्दा बढी उत्पादन हुने कुरा प्रमाणित भइसकेको छ । मधुरो प्रकाशमा आलु भण्डारण गर्दा दुइ मुलभूत कुरालाई ध्यानदिनुपर्दछ ।

१) प्रकाश : यस सिद्धान्त अनुसार आलु भण्डारण गर्दा प्रकाशको मुख्य भूमिका हुन्छ । बीउ आलु भण्डारण गर्ने ठाउँमा प्रशस्त उज्यालो तर घाम नपर्ने व्यवस्था हुनुपर्दछ । प्रकाशले बीउमा लामा, मसिना र सेता टुसा आउन नदिई छोटो, मोटो र बलियो तथा जातिय गुण अनुसारको रंग भएको टुसा आउन मद्दत गर्दछ । जसको कारण आलु चाउरी परेर हुने नोक्सानी कम हुन्छ ।

२) हावाको सञ्चार : मधुरो प्रकाशमा आलु भण्डारण गर्दा हावाको सञ्चार हुने व्यवस्था मिलाउनु पर्दछ । भण्डारण तापक्रमलाई बढ्न नदिन चिसो तथा ताजा हावाको सञ्चार हुन भेन्टीलेसनको व्यवस्था मिलाउनुपर्दछ ।

रष्टिक स्टोरमा आलु भण्डारण

उज्यालो र हावाको सञ्चार हुने गरी बीउ आलु भडारण गर्न स्थानीय सामाग्रीहरुबाट बनाईको बीउ आलु भण्डारण घरलाई नै रष्टिक स्टोर भनिन्छ । साधारणतया भण्डारण घरभित्र तख्ता जमिनबाट कम्तीमा पनि १ फिट उचाई र करीब २० सेन्टिमिटर (से.मी.) को फरकमा आवश्यक संख्यामा तख्ताहरु बनाईन्छ । तख्ताहरु बनाउँदा फ्ल्याक टम्म मिल्ने गरी नराखी बीचमा १–२ से.मी. खाली ठाउँ छोड्नुपर्दछ । रष्टिक स्टोर बनाउँदा घाम भित्र नपस्ने गरी मोहडा गराउनु पर्दछ । भण्डारणमा राखिने फल्याकहरु बढीमा ५–६ से.मी. मात्र चौडाईका प्रयोग गर्नुपर्दछ । तख्तामा आलु राख्दा बढीमा तिन तहसम्म खप्टीने गरी राख्नुपर्दछ । १.२ मिटर लम्बाई र ७० से.मी. चौडाई भएको प्याकमा करीब २० किलो आलु राख्न सकिन्छ । रष्टिक स्टोर खर वा अन्य बढी तातो नहुने सामाग्रीले छाउने र चारैतिरबाट प्रशस्त हावा खेल्नको लागि जालीको बार बनाउनु पर्दछ । रष्टिक स्टोर खासगरी १००० मिटर देखि २३०० मिटरसम्मको ठाउँमा बनाउन उपयुक्त देखिन्छ ।

ग) शित भण्डारण:-

लामो समयसम्म र गर्मि ठाउँमा आलुलाई शित भण्डारण भित्र भण्डारण गर्नु पर्दछ । यो भण्डार घर बाहिरी वातावरणको प्रमाव नपर्ने गरी निर्माण गरिएको हुन्छ र आन्तरिक वातावरणलाई चिसो पार्ने यन्त्रद्धारा नियन्त्रण गरिएको हुन्छ । प्रति मे.ट. आलु भण्डारणको लागि ८०–१०० किलो क्यालोरी प्रतिघण्टा चिसो पार्न सक्ने क्षमता भएको यन्त्रको आवश्यकता हुन्छ । यस्तो भण्डारण भित्र तापक्रम २–४० से.मी. र सापेक्षिक आद्र्रता ८०–९०% कायम गरिएको हुन्छ ।

यो तापक्रममा आलुको श्वास प्रश्वास क्रिया झण्डै बन्द भएको हुन्छ र रोग पनि फैलन सक्दैन । शित भण्डारणमा भित्र राखिएका आलुमा चिनीको मात्रा बढी हुने हुँदा खायन तथा प्रशोधनका लागि उपयुक्त हुँदैनन् । शित भण्डारणमा राखिएको आलु निकालेर लैजानु अघि आलुलाई खुला ठाउँमा २ दिनसम्म फिँजाएर सुकाए पछि मात्र लैजानु पर्छ र रोप्नु भन्दा २०–३० पहिले कोठामा फिँजाई टुसा आएपछि मात्र रोप्नुपर्दछ ।

भण्डारण गर्ने स्थानभित्र आलु राख्ने तरिका:

आलुलाई थुप्रो पारेर, भकारी, तख्ता, टोकरी तथा बोरामा गरी भण्डारणको तरिका र ठाउँको हावापानी अनुसार भण्डारण गर्न सकिन्छ । साधारण किसिमले आलु थुपारी भण्डारण गर्दा लेकाली क्षेत्रमा आलुको थुप्रोको चौडाई २—२.६५ मिटर र उचाई त्यस्को आधा राख्नुपर्दछ । न्यानो ठाउँमा थुप्रोको चौडाई १ मिटर भन्दा कम र लम्बाई आवस्यकता अनुसार गर्न सकिन्छ । आलुको थुप्रो जमिनबाट ५० से.मी. माथी काठको टाडी माथि बनाउनु पर्छ र थुप्रो माथी १०० से.मी. खाली ठाउँ हुनुपर्दछ ।

बोरामा राखी भण्डारण गर्दा बोराको चाङ धेरै अग्लो हुनु हुँदैन र दुई–दुई बोराको चाङ पछि वायु संचारको लागी बाटो छोड्नुपर्दछ ।

अन्त्यमा, आलु व्यवसाय सफल हुनको लागि भण्डारण महत्वपूर्ण पक्ष हो । नेपालमा आलु खेती प्रवद्र्धनको लागि व्यावसायिक आलुखेती गर्ने कृषक, व्यापारी, उपभोक्ता तथा कृषि प्राविधिकहरु सबैलाई आलु भण्डारण प्रविधिबारे जानकारी हुन जरुरी छ ।

(लेखक श्रेष्ठ त्रिभुवन विश्वविद्यालय , कृषि र पशु विज्ञान अध्ययन संस्थान, किर्तिपुर, काठमाडौंमा एम.एस्. सी. एजी (वागवानी) मा अध्ययनरत हुनुहुन्छ ।)

 

03 Comments

Leave a comment