पृष्ठभूमि
पर्यावरणीय कृषिका आवश्यकता, सम्भाव्यता र रूपान्तरण सम्बन्धी मुख्य अभ्यासहरू सम्बन्धी यथेस्ट जानकारी संकलन गरेपछि किसानहरूले आफ्नै फार्ममा आफ्नै अनुभवबाट सिक्न सुरु गर्नुपर्दछ । बालीनाली असफलताको खतरा र जनावरहरूको नोक्सानीलाई कम गर्न, हताश हुनबाट बच्न कृषकहरूले एकै पटक भन्दा पनि क्रमैसँग पर्यावरणीय अभ्यासहरू लागू गर्नुपर्ने हुन्छ । हाल भैरहेको कृषिलाई पर्यावरणीय कृषिमा रूपान्तरण गर्दा असल अभ्यासहरू सिक्दै अनि लागु गर्दै प्राकृतिक तरिकाले खेति गर्दै दिगो बनाउनु आवश्यक छ । यसरी रुपान्तरण गर्दा सबै ठाउँमा र समुदायमा एकै तरिका प्रयोग गरिदैन र यो प्रक्रिया स्थानीय परिस्थिति र किसान वा समुदायको प्रत्याभूतिमा निर्भर गर्दछ । पारिस्थितिक वा पर्यावरणीय खेतीको अवधारणा र अभ्यासहरूको बारेमा किसानले जति धेरै ज्ञान प्राप्त गरि काम गर्दछन, रूपान्तरण प्रक्रिया त्यतिनै सजिलो हुनेछ ।
पर्यावरणीय कृषिमा जाँदा कसरी अगाडी बढ्ने भन्ने बारेमा जानकारी
प्रथमतः पर्यावरणीय खेतीको बारेमा पर्याप्त ज्ञान हासिल गर्नुहोस् । जानकारीको स्रोत इन्टरनेट, टेलिभिजन, रेडियो, भिडियो, पुस्तिका, प्रशिक्षण र अन्य किसानहरू हुन सक्छन् । यसरी जानकारी लिँदा माटोको उर्वरता सुधार गर्ने तरिकाहरू, बोटबिरुवाहरूलाई स्वस्थ राख्ने तरिकाहरू, फार्मको बिविधता बढाउने तरिकाहरू, पशुपालनलाई स्वस्थ राख्ने र पर्यावरणीय उत्पादनहरूलाई कसरी उचित मूल्य दिने र सफल रूपमा अधिक मूल्यमा कसरि बेच्न सकिन्छ भन्ने कुराहरुमा विचार गर्नुपर्ने हुन्छ । त्यसका लागी परिवारसँग विकल्पहरूको बारेमा यथेस्ट छलफल र मूल्यांकन गर्नुहोस् । तपाईको फार्मको वर्तमान अवस्थाको सटिक विश्लेषण गर्नुहोस् । पर्यावरणीय खेतीका असल विधिहरूको सानो क्षेत्रफलमा परीक्षण गर्नुहोस् । सानो जग्गा वा थोरै जनावरमा सफल परीक्षण पछि त्यो असल अभ्यासलाई विस्तार गर्नुपर्ने हुन्छ । तर अभ्यासहरू सुरूमा छनौट गर्दा थोरै विशिष्ट ज्ञान, सिमित श्रम र लगानी प्रयोग भै उच्च प्रभाव दिन सक्ने तरिकालाई महत्व दिनुपर्ने हुन्छ । यसका लागि तल उल्लेखित उदाहरणहरु सिफारिश गरिएको छ ।
१. छापो हाल्ने ः
यो भनेको मृत बोटबिरुवाको सामग्रीले माटोलाई ढाकी झारपात नियन्त्रण गर्ने र वार्षिक बालीनाली लगाउँदा माटोलाई सुरक्षित राख्ने सजिलो तरिका हो । यो अभ्यास धेरैजसो प्रणालीमा लागू गर्न सकिन्छ ।
चित्र : छापोको फाइदाहरु
२. अन्तर बाली:
-दुई वार्षिक बाली सँगसँगै पंक्तिबद्ध उब्जनी गर्नु (जस्तै मकै सँग कोशेबाली वा हरियो मल) लाई अन्तर बाली भनिन्छ ।
-यसवाट उत्पादनलाई विविधता दिन र जमिनबाट अधिकतम लाभ लिन सकिन्छ ।
-अन्तरबालीमा प्रकाश, खाद्य तत्व र पानीका लागि बालीहरू बीच प्रतिस्पर्धा हुनबाट जोगिन विशेष ध्यान दिन आवश्यक छ ।
३. कम्पोस्ट:
-खेतहरूमा कम्पोस्टको प्रयोगले बालीको वृद्धि हुने र उत्पादनमा ठूलो परिवर्तन पार्न सक्छ ।
-कम्पोस्ट उत्पादन सुरु गर्न कृषकहरूलाई पर्याप्त बोटबिरुवा सामग्री र जनावरको मलको आवश्यक हुन्छ ।
-यदि त्यस्ता सामग्रीहरूको अभाव छ भने, सुरुमा छिटो बढ्ने कोशे बालीहरु रोपेर उत्पादन गर्न सुरु गर्नुपर्दछ जसले धेरै बायोमास निर्माण गर्दछ साथै मलको लागि पशुपालन सुरु गर्नुपर्छ ।
- गुणस्तरीय कम्पोष्ट बनाउनको लागि यसको प्रक्रियासँग राम्रोसँग परिचित मान्छे सँग सिक्नु पर्दछ । कम्पोस्ट उत्पादनको लागि ज्ञान र अनुभव र थप श्रम आवश्यक पर्दछ ।
४. हरियो मल: