मनाङ । नेपालमा सबैभन्दा बढी
माग हुने फलफूलमा स्याउ प्रमुख मानिन्छ । नेपालमा आयात हुने फलफूलमा पनि यो पहिलो नम्बरमा छ । नेपालमा वार्षिक स्याउको माग एक लाख ३० हजार टनभन्दा माथि
छ । स्वदेशी माग उत्पादन भने ५० हजार टनभन्दा पनि कम छ । अर्थात् नेपाल अझै स्याउमा परनिर्भर छ । गत आर्थिक वर्ष ०७९/८० मा सात अर्ब नौ करोडबराबरको ८३ हजार दुई सय ७४ टन र चालू आवको भदौसम्म एक अर्ब ४२ करोडबराबरको १४ हजार ६१ टनबराबर स्याउ आयात भएको छ ।
नेपालका मनाङ, मुस्ताङ, जुम्ला, डोल्पा, मुगु, कालीकोट, हुम्ला, सिन्धुपाल्चोकलगायतका
उच्च पहाडी तथा हिमाली जिल्लाहरूमा व्यावसायिक रूपमा स्याउ खेती बढ्दै आएको देख्दा
नेपाल स्याउमा आत्मनिर्भर हुने सम्भावना भने रहेको भान हुन्छ । सोहीअनुसार सरकारले पनि विभिन्न नीति तथा कार्यक्रमहरू सञ्चालनमा ल्याएको छ । तर, त्यसको कार्यान्वयन पक्ष भने फितलो छ । यद्यपि, पछिल्लो समय केही युवाहरू
स्याउ खेतीमा आकर्षित हुन थालेका छन् । त्यसमा मनाङका युवराज गुरुङ पनि एक हुन् ।
उनले समुद्र सतहदेखि २८ सय मिटरमाथि रहेको मनाङको भार्ताङमा सात सय रोपनी
जग्गामा स्याउ फार्म सञ्चालन गरिरहेका छन् । २० करोड रुपैयाँ लगानीमा ०७२ सालमा तयार भएको उक्त स्याउ फार्म दक्षिण एसियाको सबैभन्दा ठूलो हो । दक्षिण एसियाको दोस्रो ठूलो स्याउ फार्म पनि मनाङकै साब्जेमा रहेको छ,
साब्जे स्याउ फार्म तीन
सय ८० रोपनी जग्गामा फैलिएको छ । दक्षिण एसियामा भारतको जम्मु कस्मिरलगायतका ठाउँमा स्याउ खेती गरिन्छ । त्यहाँ उत्पादन धेरै हुन्छ । तर, एउटा फार्म भने १० रोपनी
हाराहारीको क्षेत्रमा फैलिएको हुन्छ । तर, नेपालमा भने सात
सय रोपनीमा एउटै स्याउ फार्म तयार गरिएको हो ।
गुरुङको परिवारले यसअघि परम्परागत रूपमा स्याउ खेती गर्दै आए पनि व्यावसायिक
थिएन । नेपालमा स्याउको बढ्दो माग र उत्पादनको सम्भाव्यतालाई दृष्टिगत गर्दै उपल्लो मनाङका सात गाउँको सामुदायिक जग्गा भाडामा लिएर गुरुङले उक्त फार्म स्थापना गरेका हुन् । एग्रोमनाङ नामक कम्पनीबाट उक्त फार्म हाउस सञ्चालन गरिएको हो । हिमालयन फ्रेस नामक ब्रान्डबाट उक्त स्याउ काठमाडौं, पोखरालगायतका सहरमा
बिक्री भइरहेको छ । भार्ताङस्थित मस्र्याङ्दी नदीको दुई किनारामा उक्त स्याउ फार्म छ । फार्म हाउसको तल्लो क्षेत्र समुद्रदेखि २८ सय मिटर हाराहारीको उचाइमा छ । उपल्लो क्षेत्र भने समुद्र सतहदेखि तीन हजार मिटरमाथि रहेको छ ।
नया पत्रिकाबाट
03 Comments