समाचार

मुसुरो बालीमा लाग्ने प्रमुख रोग, कीरा तथा तीनको व्यवस्थापन

१. परिचय

मुसुरो नेपालमा अत्यन्त लोकप्रिय कोसेबालीको रुपमा रहेको छ । नेपालमा यसको खेती धान अथवा मकैबाली आधारित प्रणालीमा गर्ने प्रचलन छ । कुल कोसेबाली खेती मध्ये यस बालीले मात्र ६२.४८ प्रतिशत क्षेत्रफलमा तथा  उत्पादनमा ६५ प्रतिशतले ओगट्न सफल रहेको छ । सन् २००० को दाँजोमा हालसम्म क्षेत्रफलमा १५ प्रतिशतले तथा उत्पादनमा ६९ प्रतिशतले वृद्धि भएको छ । यस बालीले २१२८७६ हेक्टर क्षेत्रफलमा खेती भई २६२८३५ मे.टन उत्पादन भई उत्पादकत्व १.२३५ कि.ग्रा. रहेको छ (कृ.वि.म, २०१९) । सबैभन्दा महत्वपुर्ण कुरा मुसुरोलाई नम्बर १ निर्यात बालीको रुपमा लिईन्छ । रातो दिउला भएको नेपाली मूसूरो खानमा स्वादिलो, अर्गानिक दाल चाँडै फतक्क पाक्ने, सूपाच्य प्रोटिन तथा प्रशस्त मात्रमा सूक्ष्म पोषकतत्व पाईने भएकोले अन्तराष्टि«य बजारमा यसको माग चर्को रहेको छ । 

मूसूरो खेती नेपालको तराई, भित्री मधेश तथा २००० मी. उचाई सम्मको पहाडमा पनि खेती गर्न सकिन्छ । नेपालको तराई भु:भाग जहाँ ९५ प्रतिशत मुसुरो खेती गरीन्छ र धान पछि मुसुरो छर्ने बेलामा बढी चिस्यान हुनु वा सुख्खा हुनु बाली स्थापनामा समस्याको रुपमा रहेको छ । यसको महत्व निर्यात बालीको अलावा मुसुरोको दाल प्रोटिन (२२ देखि २८ प्रतिशत) तथा विभिन्न खनिज पदार्थहरु आइरन (५० देखि ८१ पिपिएम), जींङ्क (४० देखि ६५ पिपिएम) आदिको घनिभूत श्रोत भएकोले नेपालको मध्यम वर्गीय समाज तथा गरीब कृषकहरुको लागि भरपर्दो श्रोत भएकोले यसको नियमित प्रयोगले रोगको प्रतिरोधितात्मक क्षमता अभिवृद्धिमा समेत सहयोग पूरयाउँछ भने गर्भवति महिला तथा हूर्कदो बालबच्चाहरुको लागि रगत प्रतिस्थापनमा तथा मानसिक विकासमा सहयोग पूरयाउँछ । नेपालमा अझैपनि दुर्इ लाख चालीस हजार हेक्टर जग्गा धान पछि खाली रहेको अवस्थामा मुसुरोबालीको विस्तारण हुने ठुलो अवसर देखिन्छ  । नेपालमा झन्डै ६००,००० घरधूरी कृषकहरु मुसूरो खेतीमा सँलग्न रहेका छन् । यस बालीले हावामा भएको नाइट्रोजन मल माटोमा स्थिरीकरण गर्ने भएकोले माटोको उर्वराशक्तिमा दिगोपन ल्याउन र खेती प्रणालीमा पनि सुधार आउने हुनाले बाली  बिबिधिकरणमा समेत सहयोग पुगेको छ । 

२. प्रमुख कीराहरु: कोसे गबारो (हेलिकोवरपा आर्मिजेरा (Helicoverpa armigera ), लाहि एफिड्स (कालो: एपिस क्रासिभोरा) र एपिस फाबारे थ्रिप्स, लिगस बग्स, सीडकोर्न म्यागोट्स र वायरवार्महरू मुसुरोका प्रमुख कीराहरू हुन् । फूल फुल्नुअघि वा फुल्ने बेलामा गम्भीर सङ्क्रमण भएमा रोगोर वा रोक्सियन (डाइमेथोएट) वा अन्य कीटनाशकहरू जस्तै साइपरमेथ्रिन ०.००४%, डेमेटोन मिथाइल ०.०५% र फेनभ्यालेरेट ०.०१% ले पर्याप्त रुपमा नियन्त्रण गर्न सकिन्छ ।



प्रमुख रोगहरू: स्टेम्फिलियम ब्लाइट र ओइलाउने रोग मुसुरो बालीका दुई प्रमुख रोगहरू हुन्।

३.१ स्टेमफाईलम डढुवा (Stemphylium blight)

ढुसी जातिको स्टेमफाईलम डढुवा पछिल्लो १ दशकमा मुसुरो बालीमा निकै चिन्ताको विषय बनिरहेको छ । स्टेमफाइलम डढुवा एकै पटक व्यवस्थापन गर्न गाह्रो हुने अनुसन्धानको क्रममा पाइएको छ । यो डढुवा स्टेमफाईलम बोट्रिओसम (Stemphylium botryosum) भन्ने ढुसीका कारण लाग्दछ । मुसुरो लगाएको बारीमा स्टेमफाईलम डढुवा नै लागेका हो भन्ने ठोकुवा गर्न गाह्रो हुन्छ । किनकी यसको लक्षण आइलाउने रोग, सेतो कपासे रोगसँग पनि मिल्दोजुल्दो हुने हुँदा प्रयोगशालामै लगेर नमूना जाँच गरेर मात्र पहिचान गर्नुपर्छ ।  सामान्यतया स्टेमफाईलम डढुवा र ओइलाउने रोगको लक्षणमा केही विशेष भिन्नता भने अवस्य छन् । ओइलाउने रोगको लक्षण बोटमा बीउ रोपेको, ३ हप्ता पछि देख्न सकिन्छ भने स्टेमफाईलम डढुवा सुरुको अवस्थामा नभर्इ फूल फूल्न थालेपछि देख्न सकिन्छ । यसको साथै आइलाउने रोगको लक्षण बिरुवाको टुप्पाको पात र्आइलाउन शुरु गरी तलका पातहरु नझरी झोक्राएर तलतिर फर्केजस्तै देखिन्छन् र संक्रमित बोटहरु उखालेर डाठ चिरेरहेर्दा भित्री भाग खैरो हुन्छ ।