समाचार

मौरीपालनः मौरी एक फाइदा अनेक

 बैज्ञानिक अल्बर्ट आइन्स्टाइनको भनाई “If the bee disappeared off the face of the Earth, man would only have four years left to live.” यदि मौरी पृथ्वीबाट लोप भयो भने, मानिसको बाँच्ने समय चार वर्ष मात्र बाँकी हुनेछ भन्ने बाक्यवाट नै मौरीको महत्व कति छ भन्ने थाहा हुन्छ । मौरी, मानव र प्रकृति बीच अनुपम सम्वन्ध रहेको छ । संसारभर २०,००० भन्दा बढी मौरीका प्रजातिहरू छन् । नेपालमा परापूर्व कालदेखि परम्परागत मौरीपालन गरिदै आएको र हालसम्म पनि स्थानीय एपिस सेराना जातको घरपालुवा मौरीलाई प्राकृतिक एवं सांस्कृतिक सम्पदाको रूपमा परम्परागत मुढे घार एवं खोपे घारमा राखी मह उत्पादन गर्ने प्रचलन नेपालको प्रायः सबै क्षेत्रहरूमा यथावत रहेको पाइन्छ ।

नेपालमा धेरै किसिमका मौरीहरू पाइन्छन् । जसमध्ये कठ्यौरी मौरी (एपिस फ्लोरिया), खागे मौरी (एपिस डोरसाटा), भिर मौरी (एपिस लेवोरिओसा), स्थानीय मौरी/सेराना मौरी (एपिस सेराना), युरोपियन मौरी/मेलिफेरा मौरी (एपिस मेलिफेरा) ले मह संकलन गर्छन । एपिस मेलिफेरा अफ्रिकामा उत्पत्ति भयो, त्यसपछि युरोप र एशियामा फैलियो । एपिस मेलिफेरा १९९० को दशकमा नेपालमा भित्रिएपछ नेपालमा व्यवसायिक मौरीपालन सुरु हुन थालेको थियो । एपिस सेराना,  हाम्रो मूल मौरी प्रजाति हो । एपिस सेरानाको व्यापक भौगोलिक फैलावटको कारण उच्च स्तरको आनुवंशिक विविधता छ । एपिस सेरानाका तीन उप-प्रजाति नेपालमा पाइन्छ । एपिस सेराना इन्डिका, एपिस सेराना सेराना र एपिस सेराना हिमालय प्रायः क्रमशः देशको दक्षिणी मैदान, मध्य पहाडको पूर्वी क्षेत्र र पश्चिमी उच्च पहाडी क्षेत्रमा पाइन्छ

प्रकृतिमा पाइने पुष्परस तथा कुट बटुल्न विचरण गर्दै परागसेचनमा समेत सघाउ पुर्याउने मौरीलाई उपयुक्त वातावरण जुटाई आधुनिक तरिकाले पाल्ने र मौरीका विभिन्न उपादेयताहरूको उपयोग गरी लाभ लिने भरपर्दो कार्य मौरीपालन हो । नेपालको भौगोलिक बनोट तथा यसमा भएको प्राकृतिक स्रोतमा मौरीलाई उपयुक्त हुने बोटबिरुवाको बाहुल्यता छ । साथै समय समयमा लाग्ने बालीनाली मौरीचरनको रूपमा अति नै उपयुक्त हुने गर्दछ । वनजङ्गलमा भएका वनस्पतिहरू पनि चरनको रूपमा प्रयोग भई मौरीपालनमा सघाउ पुग्न सक्दछ । नेपालको विद्यमान वन जङ्गल, खेतीप्रणाली र चरन क्षमतालाई समेत हेर्दा लगभग १० लाखसम्म मौरीगोला पालन गर्न सकिने अनुमान गरिएको छ । तर नेपालमा यसको अपार सम्भावनाका हुँदाहुँदै पनि कृषि तथा पशुपंक्षी बिकास मन्त्रालय, काठमाडौको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा २,४८,९९५ मौरीबाट ,१६८ मेट्रिक टन मात्र मह उत्पादन भएको छ भने प्रति घारको औसत उत्पादन २०.७५ मेट्रिक टन रहेको

नेपालमा ग्रामीण क्षेत्रमा परम्परागत रूपमा मौरी पाल्दै आएको अनुभवलाई पनि सँगाली व्यावसायिक रूपमा मौरीपालन गर्न सकिने व्यापक सम्भावना रहेको छ । मौरी एक फाइदा अनेक  भनेको झै मौरीले वातावरणमा पुर्याउने अनेकौ फाइदाहरु छन । मौरीले हाम्रो इकोसिस्टममा महत्त्वपूर्ण भूमिका खेल्छन् र वातावरण तथा मानव समाज दुवैलाई धेरै फाइदाहरू प्रदान गर्छन्

परागसेचन तथा उत्पादनमा वृद्धि: परागसेचन प्रक्रिया नभईकन बालीविरुवामा फल एवं बीउ नलाग्ने हुँदा यस्ता बालीहरुमा परागसेची जीवहरु मार्फत परागकण सेचन गरी बीउको उत्पादन गर्नको लागी परागसेचनको आवश्यकता पर्दछ । परागसेचनको माध्यमद्धारा मात्रात्मक एवं गुणात्मक रुपमा फल एवं बीउको उत्पादन बृद्धि हुन्छ । परागसेचनमा विभिन्न परागसेची जीवहरु मध्ये ७० देखी ८० प्रतिशत कीरा वर्गको भुमिका हुन्छ । त्यसमध्ये मौरीको मात्र योगदान ८०% रहेको छ । जसले गर्दा बालीको उत्पादन तथा उत्पादकत्वमा बृद्धि हुन्छ । धेरै बालीहरू परागसेचनमा निर्भर हुने हुँदा मौरीको सँख्यामा कमी भएमा कृषि उत्पादन तथा उत्पादकत्वमा प्रतिकूल प्रभाव पर्न सक्छ तसर्थ विश्वमा खाद्य उत्पादनमा वृद्धि गर्न र खाद्य सुरक्षाको ग्यारेन्टि गर्न पनि मौरीको अहम् भुमिका रहेको देखिन्छ ।

बोटविरुवाको वंश संरक्षण: मौरीले बोटविरुवामा परागसेचन गर्ने भएकाले बाली तथा बोटविरुवाको वंश संरक्षण कायम गर्छ । मौरीहरू बिभिन्न प्रकारका फूल फुल्ने बिरुवाहरूमा भ्रमण गर्छन् । यो व्यवहारलेजैविविविधता र पारिस्थितिक सन्तुलनलाई प्रवर्द्धन गर्दै, धेरै बिरुवा प्रजातिहरूको परागसेचनमा योगदान पुर्‍याोटविरुवाहरुको वंश संरक्षण गर्दछन

पुष्परस र परागको सदुपयोग गरि मह, कुट आदि उत्पादन:  बिभिन्न फूल फुल्ने वोटविरुवामा खेर जाने पुष्परस र परागलाई मौरीले संकलन गरी मह र कुट बनाउने गर्छ । मह सेवनले शरिरमा शक्ति दिन्छ । दैनिक मह सेवन गर्नाले रक्त अल्पताको जोखिम कम हुने, शारिरीक, मानसिक कार्यबाट थकान महशुस नहुने, शरीर सधै फुर्तिलो रहने र औषधीय गुणहरु समेत हुने हुनाले मह सेवन स्वास्थ्यका दृष्टिकोणले निकै हितकारी छ । मह सेवनले रोग सहन सक्ने क्षमता बृद्धि हुने, बच्चाहरुलाई रुघाखोकी लाग्दा महको प्रयोगका साथै सौन्दर्यताको रुपमा पनि महजन्य पदार्थको प्रयोग भएको पाइन्छ ।

 गरिवमैत्री व्यवसाय तथा रोजगारीको अवसर: भुमिहिन तथा कम भूमी भएका तथा पुँजी कम भएकाहरुले पनि कम लगानीबाटै यो व्यवसाय शुरु गर्न सकिन्छ । कम लगानीमा मह र मौरीजन्य बस्तुहरुको व्यवसाय सँञ्चालन गरी रोजगारीको अवसर श्रृजना गर्न सकिन्छ । मौरीबाट उत्पादित बहुमुल्य वस्तुहरु जस्तै मह, कुट, शाही खुराक, चोप, मौरी बिष, बी-ब्रेड आदि बस्तुहरु कम तौल बढि मुल्य हुने र बाह्य बजारको माग बढी रहेकोले यस्ता बस्तु उत्पादन गरी बाह्य बजारमा समेत निर्यात गर्न सकिनेछ ।

 वातावरण मैत्री तथा मौरी पर्यटनको विकास: मौरीपालन व्यवसायले वातावरणमा कुनै पनि नकारात्मक असर गर्दैन । मौरी असल वातावरणको सूचक हो । मौरीपालनलाई पर्यटन व्यवसाय सँग एकिकृत रुपमा अगाडी बढाउन सकिन्छ ।

 एपिथेरापी संचालनः मौरीका उत्पादनहरू जस्तै मह, प्रोपोलिस, र रोयल जेलीमा औषधीय गुणहरू छन् एपिथेरापी वैकल्पिक औषधिको एक रूप हो, जसमा उपचारात्मक उद्देश्यका लागि मौरीका उत्पादनहरू जस्तै मह, पोलेन, प्रोपोलिस, वि-भेनम, शाही खुराक, मौरीगोलाको वाफ आदि पदार्थहरूको प्रयोग हुन्छ

अतः तराई तथा भित्री मधेशमा मौरीपालन विषेशगरी एपिस मेलिफेरा जातको विकास र विस्तार एवं संरक्षण गर्नका लागि चितवनको भण्डारामा मौरीपालन विकास केन्द्र तथा नेपालका पहाडी क्षेत्रमा एपिस सेरेना जातको विकास र विस्तार एवं संरक्षण गर्नका लागि मौरी विकास केन्द्र, गोदावारी स्थापना भई विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेका छन ।

साथै मौरीपालन व्यवसायलाई दिशानिर्देश गर्नको लागि कृषि नीति २०६१, कृषि व्यवसाय प्रवर्दन नीति २०६८, कृषि जैविक विविधता नीति २०७० का साथै मौरी प्रवर्दन निति २०७३ लगाएत छन । हाल मौरीको बासस्थानको हानि, कीटनाशक विषादीको जोखिम, रोगहरू र जलवायु परिवर्तन जस्ता कारकहरूले विश्वभर मौरीहरूको संख्यामा कमी आएको देखिन्छ । यी खतराहरू पहिचान र सम्बोधन गर्दै मौरीले परागसेचनमा खेल्ने महत्त्वपूर्ण भूमिकाको संरक्षण गरि स्वस्थ्य इकोसिस्टम र कृषि प्रणाली कायम राख्न आवश्यक साथै मौरीपालन व्यवसायलाई व्यवस्थित गरि अन्तराष्ट्रिय बजारसग जोड्न सकिएमा आर्थिक तथा सामाजिक रुपान्तरणमा मौरीपालनले ठुलो योगदान पुर्याउने देखिन्छ ।

लेखक सुजन अंगाई मौरीपालन विकास कार्यक्रम, चितवनमा कार्यालय प्रमुखको रुपमा कार्यारत हुनुहुन्छ ।

03 Comments

Leave a comment