समाचार

लम्पी स्किन रोगले साढे ३३ अर्बको नोक्सानी

काठमाडौँ — पशुमा देखिएको लम्पी स्किन रोगबाट साढे ३ महिनामै ३३ अर्ब ५१ करोड नोक्सानी भएको एक तथ्यांकले देखाएको छ । नेपाल पशु चिकित्सा परिषद्ले गरेको अध्ययनअनुसार रोग लागेका ६ लाख ८२ हजार ८० पशुबाट उक्त नोक्सानी देखिएको हो ।

‘नेपालमा ७४ लाख १३ हजार १ सय ९७ गाई र ५१ लाख ३२ हजार ९ सय ३१ भैंसी छन् । वैज्ञानिक तथ्यका आधारमा अनुमानित २० प्रतिशत पशुमा रोग सर्ने दर, मृत्युदर ३.८ प्रतिशत र एउटा पशुबाट न्यूनतम ४९ हजार १ सय ३५ रुपैयाँ नोक्सान हुने देखिन्छ,’ परिषद्का निमित्त रजिस्ट्रार मनोजकुमार शाहीले भने, ‘संक्रमित पशु र मरेको पशुको हिसाब गर्दा ३३ अर्ब ५१ करोड ४० लाख नोक्सानी भएको देखिन्छ ।’ ०७९ चैतमा कोशीमा सुरु भएको प्रकोप मनाङबाहेक ७६ जिल्लामा फैलिएको पशुसेवा व्भिागको तथ्यांक छ । ती जिल्लाका ६ लाख ८२ हजार ८० पशुमा फैलिएको रोगबाट २५ हजार ४ सय ८ पशु मरेका छन् । ४ लाख ९ हजार १ सय ७५ पशु निको भएका पनि छन् । २ लाख ४७ हजार ४ सय ९७ पशु सक्रिय संक्रमित छन् । करिब ४ लाख पशु निको भए पनि तिनको उत्पादकत्व घटेको परिषद्ले जनाएको छ । संक्रमित पशुबाट ४८ दिनसम्म उत्पादन आउँदैन । गाई तुहिने सम्भावना हुन्छ, बाली लगाउन पाइन्न । राँगा/गोरुमा पनि बाँझोपनको सम्भावना रहन्छ ।

विश्व पशु स्वास्थ्य संगठनका अनुसार यो रोग देखिएको ठाउँमा पशुमा रोग फैलिने दर १० देखि २० र मृत्युदर १ देखि ५ प्रतिशत पुग्छ । तर भारतलगायत केही मुलुकमा फैलिने दर उच्च देखिएको छ । भारतमा २४.२, बंगलादेशमा ३४ र इथियोपियामा ३६ प्रतिशतसम्म रोग फैलिएको परिषद्ले बताएको छ । ‘रोगले भारतमा १२.४, बंगलादेशमा ३.२ र इथियोपियामा ४.५ प्रतिशत मृत्युदर देखिएको छ । एकै खोरमा रहेका ८२.३ प्रतिशत पशुमा रोग फैलिने र त्यसमा २४.३ प्रतिशत मर्ने गरेको अध्ययनले देखाउँछ,’ परिषद्का प्रवक्तासमेत रहेका शाहीले भने, ‘भारतमा एउटा गाई बिरामी हुँदा ९४ हजार ८ सय ३९ र भैंसीबाट ४३ हजार ३ सय २९ रुपैयाँको आर्थिक क्षति भएको छ । बंगलादेशमा प्रतिगाईभैंसी १२ हजार ३ सय २३ र इथियोपियामा ४२ हजार ९ सय रुपैयाँ आर्थिक क्षति हुने गरेको छ । सोही आधारमा नेपालमा न्यूनतम ४९ हजार १ सय ३५ रुपैयाँ नोक्सान हुने अनुमान गरिएको हो ।

रोगका कारण दूध र मासु उत्पादनमा ह्रास आउने, पशुमा प्रजनन समस्या देखिने (तुहिने, गर्भपतन हुने, बाली नजाने), छाला उत्पादनमा समेत समस्या आउने हुन्छ । निको भएको पशुलाई पूर्ववत् अवस्थामा ल्याउन थप पोषण खर्च बढ्न जान्छ । ‘रोगका कारण करिब ६ महिनासम्म साँढे तथा राँगा प्रजननमा आउन सक्दैनन् । लामो बेतान्तर भई गाईभैंसीको दूध उत्पादनमा ४० देखि ५० प्रतिशतसमेत कमी हुने अनुसन्धानले देखाउँछ,’ परिषद्का प्रवक्तासमेत रहेका शाहीले भने, ‘यही अवस्थामा रोग फैलिए १ खर्ब २६ अर्बको बराबरको आर्थिक नोक्सानी हुने प्रक्षेपण छ । रिपोर्टसहित तत्काल गर्नुपर्ने, मध्यकालीन र दीर्घकालीन व्यवस्थाका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा परामर्शका लागि पेस गरिसकेका छौं ।’

पशु सेवा विभागका पूर्वमहानिर्देशक विमलकुमार निर्मलले पनि लम्पीबाट अर्बौं रुपैयाँको क्षति भएको बताए । लम्पी महामारीकै रूपमा फैलिएकाले गाईभैंसीको अवस्था नाजुक भएको उनको भनाइ छ । ‘रोगको प्रत्यक्ष असर दूध र मासु उत्पादनमा पर्छ । गोरु, राँगाको प्रजनन क्षमतामा पनि पर्छ,’ उनले भने, ‘अहिले अभाव हुने दूध सुक्खा समयमा झन् समस्या हुन्छ ।’ सरकारको कमजोरीका कारण यो रोग मुलुकभर फैलिएको उनको दाबी छ । रोग देखिएलगत्तै यसको नियन्त्रणमा जानुपर्नेमा बेवास्ता गरिएको उनले बताए ।

लम्पी रोग पहिलो पटक ०७७ असारमा मोरङको सुन्दरहरैंचा नगरपालिकाको गाईमा देखिएको पशु सेवा विभागले जनाएको छ । रोग देखिएका सुरुका दुई वर्षमा १६ जिल्लाका २९ पालिकामा फैलियो । दुई वर्षमा ३ हजार ३ सय १ पशु संक्रमित भई १३ वटा पशु मरे । त्यसपछि ०७९ चैतमा फेरि देखियो । कोशीबाट सुरु भएको प्रकोप ७६ जिल्लामा पुगेको छ । रोगबाट कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशीका मध्यपहाडी तथा पहाडी क्षेत्रमा रहेका पशु बढी प्रभावित भएको विभागका सूचना अधिकारी चन्द्र ढकालले बताए । सुदूरपश्चिममा २ लाख ७ सय ९८ संक्रमितमध्ये १० हजार ९ सय ३९ पशु मरेको उनको भनाइ छ । कर्णालीमा १ लाख ८९ हजार १५ संक्रमित पशुमध्ये ६ हजार ७ सय ४१ पशु मरेको विभागले जनाएको छ । लुम्बिनीमा ७४ हजार २ सय ८९ संक्रमित पशुमध्ये २ हजार ७ सय ८० मरेका छन् । गण्डकीमा २७ हजार १५ संक्रमितमध्ये ५ सय १५, वाग्मतीमा ३१ हजार ३ सय ४३ संक्रमितमध्ये ८ सय ६६ पशु मरेको विभागले बताएको छ ।

कोशीमा १ लाख ५४ हजार ५ सय ३२ संक्रमित पशुमध्ये ३ हजार ४ सय ६४ र मधेशमा ५ हजार ८८ संक्रमितमध्ये १ सय १ मरेको विभागले जनाएको छ । रोगविरुद्ध लगाउने खोप हालसम्म ७ लाख ३७ हजार डोज आएको ढकालको भनाइ छ । सबै प्रदेशका विभिन्न जिल्लामा १ लाख ७२ हजार १२८ पशुमा खोप लगाइसकिएको छ । आगामी आर्थिक वर्ष ०८०/८१ का लागि प्रत्येक पालिकामा महामारी नियन्त्रण गर्न संघीय ससर्त अनुदानअन्तर्गत १ लाखका दरले रकम विनियोजन गरिएको छ । साथै १ सय ६१ पालिकामा भेटेरिनरी डाक्टर र सबै पालिकामा प्राविधिक व्यवस्थापनका लागि बजेट व्यवस्था गरिएको बताइएको छ ।

के हो लम्पी स्किन ?

लम्पी स्किन गाईभैंसीमा भाइरसका कारण लाग्ने महामारी रोग हो । यो रोग लागे पशुमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घट्ने, छालामा गोलो गिर्खा/गाँठा देखिने, र्‍याल, सिँगान बग्ने, चिप्रा/कचेरा लाग्ने, खुट्टा/जोर्नी सुन्निने जस्ता लक्षण देखिन्छन् । यसले मुख्यतया बाछाबाछी, जोत्ने गोरु, उन्नत जातका बढी दूध दिने दुधालु र गर्भिणी गाईभैंसीलाई असर गर्छ ।



कान्तिपुरबाट

03 Comments

Leave a comment