
सूर्यविनायक, भक्तपुर, चैत्र ५ । सोमबार आएको हावाहुरी तथा वर्षाका कारण सूर्यविनायक नगरपालिका वडा नं. ९ र १० का कृषकहरू गम्भीर रूपमा प्रभावित भएका छन्। कृषकहरूले हावाहुरीका कारण टनेल पूर्ण रूपमा क्षत-विक्षत भएको र लाखौँ रुपैयाँ बराबरको नोक्सानी व्यहोर्नु परेको गुनासो गरेका छन्।
सो क्षतिको अवलोकन गर्न माननीय कृषि तथा पशुपन्छी मन्त्री डा. मदन प्रसाद परियार तथा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाको टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा मन्त्री तथा टोलीले व्यवसायिक रूपमा टनेलमा टमाटर तथा अन्य तरकारी खेती गर्दै आएका कृषकहरूसँग प्रत्यक्ष भेटवार्ता गरेका थिए।
कृषकहरूले यसका साथै उत्पादनले उचित मूल्य नपाउने समस्या, बाली बीमा गर्नमा देखिएको जटिलता, मल तथा विषादीको अभाव, किरा तथा रोगको प्रकोप, र जग्गा भाडा नियमन जस्ता विभिन्न चुनौतीहरू पनि मन्त्रीसमक्ष राखेका थिए।
उक्त क्षेत्रका अधिकांश कृषकहरू वैदेशिक रोजगारीबाट फर्किएर कृषिलाई मुख्य पेशा बनाएको पाइएको छ, जसले गर्दा यस्ता प्राकृतिक विपत्तिले उनीहरूको जीविकोपार्जनमा प्रत्यक्ष असर परेको छ।
कृषकहरूले उठाएका समस्याहरूलाई सम्बोधन गर्दै मन्त्री परियारले क्षतिको विस्तृत विवरण संकलन गरी आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाको टोलीलाई बीमा कम्पनीहरूसँग समन्वय गरी कृषि बीमामा देखिएका भुक्तानीसम्बन्धी समस्या र कृषकलाई निरुत्साहित पार्ने गतिविधिहरूको अध्ययन गर्न निर्देशन दिनुभएको छ।
मन्त्रीले कृषि बीमालाई प्रभावकारी बनाउन र कृषकहरूलाई प्रोत्साहित गर्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
