
काठमाडौं, चैत्र ५। नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार नियमित अनुगमनका क्रममा मापदण्ड विपरीत रहेको दुध रोक्का गरेको छ।
विभागका अनुसार सोमबार गरिएको स्थलगत निरीक्षणका क्रममा सिताराम गोकुल मिल्क्स, किर्तिपुर–४, काठमाडौं मा उत्पादित प्रशोधित दुध तोकिएको न्यूनतम गुणस्तर मापदण्डभन्दा कम गुणस्तरको पाइएको हो।
निरीक्षणका क्रममा उद्योगको लगबुकमा दुधमा हुनुपर्ने चिल्लो पदार्थ (फ्याट) ३.०% हुनुपर्नेमा १.४% मात्र रहेको उल्लेख गरिएको थियो। साथै, सोही ब्याच (उत्पादन मिति: २०८२-१२-०२, ब्याच नं. २८६१) को दुध उद्योगकै प्रयोगशालामा परीक्षण गर्दा पनि न्यूनतम मापदण्डभन्दा कम चिल्लो पदार्थ भेटिएको विभागले जनाएको छ।
यस आधारमा विक्री वितरणका लागि कोल्ड स्टोरमा राखिएको ५१९ क्रेट (५०० मिलिलिटरका २० पोका प्रति क्रेट) प्रशोधित दुधलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३३ बमोजिम विक्री वितरण नगर्न निर्देशन दिँदै रोक्का गरिएको छ।
त्यसैगरी, थप अनुसन्धानका लागि उक्त ब्याचको दुधको नमुना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाइएको विभागले जनाएको छ।
विभागकी प्रवक्ता डा. बाल कुमारी शर्माले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यस्ता अनुगमनलाई निरन्तरता दिइने बताउनुभयो। विभागले सबै खाद्य व्यवसायीहरूलाई तोकिएको गुणस्तर मापदण्ड पालना गर्न आग्रह समेत गरेको छ।
