
काठमाडौ, चैत १८ । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकासमन्त्री गिता चौधरीले दुई वटा उत्पादन भौगोलिक संकेत (जीआई) को लागि स्वामित्व र संरक्षण गर्ने निर्णय गर्नुभएको छ ।
कानून आउना साथ नेपालका दुई वटा उत्पादन ठुलो अलैंची र सुन्तलालाई जीआईको लागि स्वामित्व र संरक्षण गर्ने निर्णय गर्नु भएको हो । भौगोलिक विविधताका कारण नेपालका विभिन्न क्षेत्रहरूका अलैंची र सुन्तला गुणस्तर र स्वाद भएकाले जीआई मार्फत अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको विश्वासनीयता र पहिचान स्थापित गर्न आजको निर्णय गरिएको मन्त्री चौधरीले बताउनुभयो। कृषि मन्त्रालयमा मन्त्री चौधरीको पहिलो निर्णय हो।
सुन्तला नेपालको राष्ट्रिय फल हुनुका साथै पर्याप्त उत्पादन, भौगोलिक आधारमा फरक स्वाद र गुणस्तर र बजारमा स्थापित पहिचानका कारण छनौटमा परेको हो। त्यस्तै, ठुलो अलैंची उच्च गुणस्तरको निर्यातमुखी बाली भएको, विश्व निर्यातमा नेपालको करिब ६८ प्रतिशत हिस्सा रहेको र अन्तर्राष्ट्रिय बजारमा अलग पहिचान बनाएको कारण प्राथमिकतामा परेको हो।
मन्त्रालयले ठुलो अलैंची र सुन्तलालाई पाइलट जीआई उत्पादनका रूपमा छनौट गरी आवश्यक प्राविधिक र कानुनी प्रक्रिया अघि बढाएको छ। जीआईले उत्पादनलाई यसको उत्पत्तिसँग जोडेर विशेष पहिचान दिने मात्र नभई परम्परागत ज्ञान र सांस्कृतिक सम्पदाको संरक्षणमा पनि योगदान पु¥याउने मन्त्री चौधरीले बताउनुभयो। यसका साथै, जीआई ब्रान्डिङमार्फत अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्य सुनिश्चित भई स्थानीय कृषकहरूको आम्दानी वृद्धि हुनेछ ।
नेपालमा बाणिज्य नीतीले बौद्धिक सम्पतिको लागि व्यवस्था भएपनि जीआईको लागि हाल कानुनी आधार नभएकोले उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयबाट जीआई सम्वन्धि कानूनको मस्यौदा तयार गरी संसदमा पेश गर्ने तयारी छ । सो कानुन आउनसाथ अलैंची र सुन्तलालाई जीआईको लागि स्वामित्व र संरक्षण गरिने छ।
