logoबिहिबार, १७ बैशाख २०८३

चितवनमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन हुने

Author
Loading...
समाचार

0

Shares

चितवनमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन हुने

चितवन, चैत २१। चितवनमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन हुने भएको छ। चैत २३ गतेदेखि २७ गतेसम्म कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनमा सम्मेलन आयोजना गर्न लागिएको हो।


सम्मेलनको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विज्ञ, अनुसन्धानकर्ता, मौरीपालक तथा नीति निर्माताहरूलाई एकै थलोमा ल्याई मौरीपालन, परागसेचन, मौरीजन्य उत्पादन तथा जीविकोपार्जनसँग सम्बन्धित विषयहरूमा ज्ञान आदान–प्रदान गर्नु रहेको कृषि संकायका डीन प्रा.डा. अर्जुन कुमार श्रेष्ठले जानकारी दिनुभयो। साथै, मौरीपालनसम्बन्धी नीति, योजना, चुनौती तथा अवसरहरूको समीक्षा गर्दै दिगो कृषि प्रणालीमा मौरीको योगदानलाई उजागर गर्नु पनि कार्यक्रमको प्रमुख लक्ष्य रहेको उहाँले बताउनुभयो।

कार्यक्रमका अन्य उद्देश्यहरूमा मौरीपालनसम्बन्धी नीति तथा शुद्धतासम्बन्धी विषयहरूको समीक्षा, परागसेचन सेवाको महत्वबारे सचेतना अभिवृद्धि, मौरी स्वास्थ्य तथा रोग व्यवस्थापनका उपायहरूको खोज, तथा मौरीजन्य उत्पादनहरूको मूल्य अभिवृद्धि र बजार विस्तारका सम्भावनाहरूको पहिचान समावेश छन्।


नेपालमा मौरीपालन कृषि, वातावरणीय सन्तुलन तथा ग्रामीण जीविकोपार्जनसँग गहिरो रूपमा जोडिएको महत्वपूर्ण क्षेत्र हो। मौरीले उत्पादन गर्ने मह, प्रोपोलिस, परागकण, रोयल जेली तथा मौरीविषजस्ता उत्पादनहरूले मात्र होइन, बाली उत्पादनमा आवश्यक पर्ने परागसेचन सेवामार्फत कृषि उत्पादन वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। यसै सन्दर्भमा मौरीपालनको आधुनिक अभ्यास, अनुसन्धान तथा अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय मौरी सम्मेलन आयोजना गर्न लागिएको हो।


विश्वविद्यालयको कृषि संकायको अगुवाइमा सञ्चालन हुने सम्मेलनमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा नेपाल मौरीपालक महासंघ को सह–आयोजना रहनेछ। साथै, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्था, अनुसन्धान संस्थान तथा विकास साझेदारहरूको पनि समन्वय रहनेछ।


सम्मेलनमा विश्वका २० भन्दा बढी देशहरूबाट ६० भन्दा बढी अन्तर्राष्ट्रिय सहभागीहरू सहित कुल २५० जना सहभागी हुने आयोजकको दावी छ। साथै, करिब ४०–५० अनुसन्धानकर्ता तथा विज्ञहरूले विभिन्न विषयमा आफ्ना अनुसन्धान तथा अनुभव प्रस्तुत गर्नेछन्।


सम्मेलनअन्तर्गत विभिन्न प्राविधिक सत्र, कार्यपत्र प्रस्तुति, पोस्टर प्रस्तुति तथा छलफल कार्यक्रमहरू सञ्चालन गरिनेछन्। प्रत्येक विषयमा प्रमुख वक्ता, आमन्त्रित वक्ता तथा अनुसन्धानकर्ताहरूले प्रस्तुति दिनेछन्। साथै, पोस्टर सत्रमार्फत थप अनुसन्धानहरू पनि प्रस्तुत गरिनेछन्।


सम्मेलनमा मौरीपालन तथा परागसेचनसँग सम्बन्धित चार प्रमुख विषयहरूमा केन्द्रित छलफल हुनेछ। एपिथेरापी तथा मौरीजन्य उत्पादन अन्तर्गत मौरीजन्य उत्पादनहरूको औषधीय गुण, अनुसन्धान, गुणस्तर नियन्त्रण तथा अन्तर्राष्ट्रिय व्यापारका पक्षहरू समेटिनेछन्।


परागसेचन तथा मौरी वनस्पति स्रोत अन्तर्गत परागसेचन सेवाको महत्व, मौरीका वनस्पति स्रोत, जलवायु परिवर्तनको प्रभाव तथा जैविक विविधता संरक्षणका विषयमा छलफल गरिनेछ।


मौरी जीवविज्ञान तथा मौरी स्वास्थ्य अन्तर्गत मौरीको जीवविज्ञान, व्यवहार, रोग तथा कीट व्यवस्थापन, मौरी स्वास्थ्य संरक्षण तथा नयाँ प्रविधिको प्रयोगबारे चर्चा गरिनेछ।


मौरीपालन, जीविकोपार्जन तथा अर्थतन्त्र अन्तर्गत मौरीपालनको सामाजिक–आर्थिक महत्व, बजार प्रणाली, उद्यमशीलता, महिला तथा युवा सहभागिता तथा नीति–संरचनासम्बन्धी विषयहरू समेटिनेछन्।


सम्मेलनसँगै एपिएक्स्पो तथा प्रदर्शनी आयोजना गरिनेछ, जसमा मौरीपालनसँग सम्बन्धित उपकरण, प्रविधि, मह तथा अन्य उत्पादनहरूको प्रदर्शन गरिनेछ। यसले अनुसन्धानकर्ता, व्यवसायी, किसान तथा उद्योगीबीच सहकार्य तथा व्यापारिक अवसर सिर्जना गर्ने विश्वास गरिएको छ।


सम्मेलनमा सहभागीहरूका लागि मह चखाउने कार्यक्रम (हनी बार) पनि सञ्चालन गरिनेछ, जसमा विभिन्न प्रकारका मह चाखेर तिनको स्वाद, गुणस्तर तथा विशेषता बुझ्न सकिनेछ। यसले स्थानीय मौरीपालकका उत्पादन प्रवर्द्धनमा सहयोग पुर्‍याउने आयोजकको विश्वास छ।


सम्मेलनपछि सहभागीहरूका लागि मौरीपालन केन्द्र, अनुसन्धान फार्म तथा चितवनका पर्यटकीय क्षेत्रहरूको अवलोकन भ्रमणको व्यवस्था समेत रहेको छ ।


सम्मेलनबाट मौरीपालन तथा परागसेचन क्षेत्रमा नवीन ज्ञान तथा प्रविधिको प्रवर्द्धन हुने, अन्तर्राष्ट्रिय सहकार्य विस्तार हुने तथा नेपाललाई मौरीपालन अनुसन्धान र अभ्यासको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने  विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. पुष्कर पालले बताउनुभयो। साथै, यसले किसान, उद्यमी तथा नीति निर्माताहरूलाई दिगो कृषि प्रणालीमा मौरीको भूमिकाबारे थप स्पष्ट दृष्टिकोण प्रदान गर्ने उहाँको भनाइ छ।

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave