logoबिहिबार, १७ बैशाख २०८३

लुम्बिनीमा गहन पुनरुत्थानशील कृषिसम्बन्धी सम्मेलन हुँदै

Author
Loading...
समाचार

0

Shares

लुम्बिनीमा गहन पुनरुत्थानशील कृषिसम्बन्धी सम्मेलन हुँदै

लुम्बिनी, चैत २३ लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनीमा आजदेखि चैत २५ गतेसम्म गहन पुनरुत्थानशील कृषिसम्बन्धी क्षेत्रीय सम्मेलन आयोजना हुँदैछ।

 

सम्मेलनमा नेपाल, भारत र भुटानबाट करिब १२० जना अनुसन्धानकर्ताहरू सहभागी हुनेछन्। सम्मेलन लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक), डब्लुडब्लुएन (WWN) र डब्लुडब्लुएफ (WWF) नेपालको संयुक्त आयोजनामा तथा रकफेलर फाउन्डेसनको आर्थिक सहयोगमा आयोजना गरिएको हो।

 

यस सम्मेलनको मुख्य उद्देश्य कृषिप्रणालीमा रूपान्तरणकारी परिवर्तनबारे प्राज्ञिक विमर्श गर्नु रहेको जीन बैंकका प्रमुख डा. बालकृष्ण जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार सम्मेलनमा स्वदेशी ज्ञान, कृषि–पर्यावरणीय दृष्टिकोण र पुनरुत्थानात्मक अभ्यासहरूको एकीकरणमार्फत दिगो, पुनरुत्थानशील र प्रकृतिमैत्री कृषिप्रणालीको विकाससम्बन्धी विषयलाई विशेष प्राथमिकता दिइएको छ।

 

सम्मेलनले गहन पुनरुत्थानशील कृषि तथा स्वदेशी आध्यात्मिक कृषिसम्बन्धी वैज्ञानिक अनुसन्धानमार्फत ज्ञानको विनिमयका लागि प्रभावकारी मञ्च प्रदान गर्दै नेपाल, भारत र भुटानका सरोकारवालाबीच क्षेत्रीय सहकार्य सुदृढ गर्न मद्दत पुर्‍याउने आयोजकको दाबी छ। यससँगै नीतिगत प्रगतिमा समेत जोड दिइनेछ।

 

जीन बैंकका प्राविधिक अधिकृत तथा परियोजना विज्ञ प्रदीप थापाले स्थानीय तथा रैथाने कृषि आनुवंशिक स्रोतहरूको संरक्षण र समुदायको सामर्थ्य अभिवृद्धिका लागि कार्यान्वयनयोग्य रणनीतिहरू विकास गरिने बताउनुभयो। साथै, जलवायु अनुकूलित खाद्य प्रणालीका लागि पर्या–आध्यात्मिक परम्पराहरूलाई नवप्रवर्तनशील मार्गका रूपमा प्रस्तुत गरिने उहाँको भनाइ छ।

सम्मेलनले संस्कृति, धार्मिक मूल्य, कृषि तथा वन जैविक विविधता, परम्परा, आध्यात्मिकता तथा ज्योतिष, पानी तथा नवीकरणीय ऊर्जा, वायु तथा वातावरण, भूमि र सामाजिक प्रणाली गरी परस्पर अन्तरसम्बन्धित दस घटकहरूलाई समेट्ने रूपरेखालाई अंगीकार गरेको छ। यसले कृषि केवल खाद्य उत्पादन प्रणाली मात्र नभई स्वास्थ्य, पोषण, जैविक विविधता, वातावरण, संस्कृति तथा जीविकोपार्जनमा निर्णायक भूमिका खेल्ने व्यापक प्रणाली हो भन्ने सन्देश दिन्छ।

 

किसान, अनुसन्धानकर्ता, नीतिनिर्माता, शिक्षाविद्, विकास साझेदार तथा निजी क्षेत्रका प्रतिनिधिहरूले यही रूपरेखामा केन्द्रित भएर कृषि क्षेत्रमा रूपान्तरणकारी परिवर्तन (प्याराडाइम सिफ्ट) को आवश्यकता बारे गहन छलफल गर्नेछन्।

 

सम्मेलनमा आधुनिक कृषि प्रणालीले उत्पादन वृद्धि गराए पनि यसले माटोको क्षय, जैविक विविधताको ह्रास, पारिस्थितिक असन्तुलन तथा परम्परागत ज्ञान प्रणालीहरूको क्षरण निम्त्याएको विषयमा प्रमुख बहस हुने आयोजकको भनाइ छ।

 

कार्यक्रममा गहन पुनरुत्थानशील कृषि दिगोपनभन्दा परको अवधारणा भएकोमा जोड दिँदै माटो, पानी, हावा र जैविक विविधताको पुनर्स्थापनामा केन्द्रित भई सहनशील कृषि तथा सामाजिक प्रणालीहरूको पुनर्निर्माणका उपायहरू खोजिनेछ। साथै, जलवायु अनुकूल तथा पोषण संवेदनशील कृषिको आधारका रूपमा कृषि जैविक विविधताको महत्त्वलाई विशेष रूपमा पहिचान गरिनेछ।

 

कार्यक्रममा मुख्य मन्तव्य, आमन्त्रित कार्यपत्र, प्यानल छलफल, प्रदर्शनी, पोस्टर प्रस्तुति तथा सांस्कृतिक कार्यक्रमहरू समावेश गरिनेछन्। साथै “बुद्ध थाली” सहितका परम्परागत भोजनमार्फत सजग भोजन (माइन्डफुल इटिङ) को प्रवर्द्धन गरिनेछ।

 

यो सम्मेलन रकफेलर फाउन्डेसनको सहयोगमा नेपाल जीन बैंक, WWN WWF द्वारा मुस्ताङ, मनाङ, लुम्बिनी र ललितपुरमा सञ्चालन भइरहेको “नेपालका उच्च हिमाली क्षेत्रमा गहन पुनरुत्थानशील कृषि (REGAGRI)” परियोजनाको एक हिस्सा रहेको परियोजना विज्ञ थापाले जानकारी दिनुभयो।

उक्त परियोजना स्थानीय तथा रैथाने कृषि आनुवंशिक स्रोतहरूको संरक्षण, कृषि–पारिस्थितिक अनुकूलताको सुदृढीकरण, स्वदेशी ज्ञान तथा आध्यात्मिक कृषिको प्रवर्द्धन तथा हिमाली क्षेत्रमा परम्परागत आनुवंशिक स्रोतहरूको सांस्कृतिक तथा पोषणसम्बन्धी मूल्यको अभिलेखीकरणमा केन्द्रित छ।

 

सम्मेलनमा हिमाली क्षेत्रका आनुवंशिक स्रोतहरूको दीर्घकालीन संरक्षण तथा सुरक्षित प्रतिलिपि सुनिश्चित गर्न “हिमालयन जीन बैङ्क” स्थापना गर्ने सम्भावनाबारे पनि छलफल गरिनेछ। “स्थानीयमा जाऔँ, स्थानीयमै काम गरौँ, स्थानीयलाई सम्मान गरौँ र स्थानीयलाई विश्वस्तरमा पुर्‍याऔँ” भन्ने सिद्धान्तलाई आत्मसात गर्दै स्वनिर्भर कृषि प्रणाली सुदृढ गर्ने दिशामा जोड दिइनेछ।

 

सम्मेलनका मूल सन्देशहरूमा कृषि केवल खाद्य उत्पादनमा सीमित नभई पारिस्थितिक प्रणाली र समुदायको दिगोपन सुनिश्चित गर्ने व्यापक प्रणालीका रूपमा पुनःपरिभाषित हुनुपर्ने लगायतका विषयहरू समेटिएका छन्।

 

गहन पुनरुत्थानशील कृषिले क्षतिग्रस्त भू–परिदृश्यको पुनःस्थापनाका लागि रूपान्तरणकारी मार्ग प्रशस्त गर्ने, गतिशील कृषि जैविक विविधता कायम राख्न ‘प्रयोगद्वारा संरक्षण’ अवधारणालाई प्रवर्द्धन गर्ने तथा विदेशी बीजस्रोतको निर्भरता घटाउँदै स्थानीय स्रोतहरूको प्रवर्द्धन अपरिहार्य रहेको सन्देश दिइनेछ। साथै, स्थानीय उत्पादनका लागि बजार पहुँच र मूल्य अभिवृद्धि सुनिश्चित गर्नु कृषि रूपान्तरणको आधार भएकोमा जोड दिइनेछ।

 

सम्मेलनबाट गहन पुनरुत्थानशील कृषिबारे चेतना अभिवृद्धि, क्षेत्रीय सहकार्य सुदृढीकरण, सरोकारवालाहरूको क्षमता विकास, नीतिगत सुझाव, अनुसन्धान प्राथमिकता पहिचान तथा स्थानीय उत्पादनका लागि बजार अवसर विस्तार हुने अपेक्षा गरिएको छ।

 

यससँगै सम्मेलनसम्बद्ध कार्यावली तथा अनुसन्धान आलेखहरूको प्रकाशन गरिनेछ। गहन पुनरुत्थानशील कृषिको प्रसारका लागि नेपाली भाषामा जानकारीमूलक सामग्रीहरू पनि तयार गरिनेछन्।

 

सम्मेलनले वर्तमान तथा भावी पुस्ताका लागि खाद्य, पोषण, स्वास्थ्य, वातावरणीय दिगोपन, सांस्कृतिक अखण्डता र शान्ति सुनिश्चित गर्ने साझा लक्ष्यका साथ सरकार, अनुसन्धान संस्था, विकास साझेदार तथा कृषक समुदायलाई संयुक्त रूपमा अगाडि बढ्न आह्वान गर्दै समापन हुनेछ।

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave