
काठमाडौं, जेठ ३१ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसहितको संयुक्त अनुगमन टोलीमार्फत सिंहदरबारस्थित जी एण्ड वी क्याफे ग्रुप (सेन्ट्रल क्यान्टिन) मा शुक्रबार स्थलगत निरीक्षण तथा अनुगमन गरी आवश्यक कारबाही गरेको छ।
विभागका अनुसार अनुगमनका क्रममा क्यान्टिनको सरसफाइ अवस्था सामान्य रहेको तथा फ्राइङ तेलको TPM (Total Polar Materials) परीक्षण गर्दा १६.५ प्रतिशत नतिजा प्राप्त भएकाले प्रयोग भइरहेको तेल मापदण्डअनुकूल रहेको पाइएको थियो। तर निरीक्षणका क्रममा खाद्य पदार्थको भण्डारण व्यवस्थामा गम्भीर कमजोरी फेला परेको छ।
अनुगमन टोलीले क्यान्टिनमा स्पष्ट रूपमा घुन (कीरा) लागेको १७ किलोग्राम चना दाल, ओसिएको ११ किलोग्राम बदाम तथा केही भाग फुटेका १४ वटा अण्डा फेला पारेको जनाएको छ। यस्ता गुणस्तरहीन तथा उपभोगका लागि अनुपयुक्त खाद्य पदार्थ प्रयोगका लागि भण्डारण गरी राखिएको पाइएपछि तत्काल नष्ट गरिएको छ।
विभागले खाद्य स्वच्छताका मापदण्ड पूर्ण रूपमा पालना गर्न तथा खाद्य सुरक्षामा विशेष ध्यान दिन व्यवसायलाई निर्देशन दिएको छ।
गुणस्तरहीन खाद्य पदार्थ भण्डारण गरी उपभोक्ताको स्वास्थ्यमा जोखिम उत्पन्न गर्न सक्ने अवस्था सिर्जना गरेको भन्दै उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२)(क) विपरीतको कसुरमा सोही ऐनको दफा ३८(ङ) बमोजिम दफा ३९(१)(ख) अनुसार रु २ लाख १ हजार जरिवाना गरिएको विभागले जनाएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताको स्वास्थ्य संरक्षण तथा सुरक्षित खाद्य उपभोग सुनिश्चित गर्न नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ।
